तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सके आफूलाई 'जेल हाल्न' मन्त्री सुदन किरातीलाई चुनौती, राजीनामाको माग किन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा परेका छन्।
एउटा धार्मिक समूहको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले इसाई धर्म र संविधानको चर्चा गर्दै बोलेको कुरालाई इङ्गित गरेर सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले आफूलाई “जेल हाल्न" चुनौती दिएका छन्।
मन्त्री किरातीको नेपालमा “क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी” भएको र संविधान नमान्नेहरू “देशद्रोही” भएको भनेको भन्दै उनीहरूलाई "जेल हाल्नुपर्ने" अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनको सम्बोधनको पूरा अंश बीबीसीले सुनेको छ।
मन्त्री किरातीलाई बीबीसी न्यूज नेपालीले सम्पर्क गर्ने प्रयास गरेको थियो। तर उनीसँग सम्पर्क हुन सकेन।
मन्त्री सुदन किराँतीले के भनेका थिए?
मन्त्री किरातीले इसाई धर्मावलम्बीहरूको एउटा कार्यक्रममा बुधवार बोलेको भिडिओको अंश विभिन्न अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राखेका छन्।
मन्त्री किरातीले आफ्नो भाषणको सुरुमा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश भएको कुरा देशको संविधानमै रहेको जनाएका छन्।
उनले "नेपालको रङ्गीबिरङ्गी फूलबारीमा इसाई धर्मावलम्बीहरू पनि एक रहेको" उल्लेख गर्दै नेपालको लोकतन्त्रमा “नडराउन” उनीहरूलाई आश्वस्त तुल्याए।
आफू उक्त फूलबारीको माली भएको र राज्य अभिभावक रहेको मन्त्री किरातीको भनाइ थियो। उनले धर्मनिरपेक्ष व्यवस्थामा राज्यको धर्म नहुने तर सबै धर्मलाई धार्मिक स्वतन्त्रता हुने बताए।
उनले नेपालमा एक धर्म मानेर अर्को धर्ममाथि दमन गर्ने ठूला अधिकारीहरू पनि रहेको भन्दै भने, “ती सब मुर्दाबाद।”
उनले नेपालमा १० वटा धर्म मान्ने मानिसहरू रहेको जनगणनाको तथ्याङ्क प्रस्तुत गर्दै राज्यका आँखामा ती सबै धर्म समान भएको बताएका छन्।
“नेपालमा [झन्डै] तीन करोड जनसङ्ख्यामा आज लाखौँ क्रिश्चियन भइसकेका छन्। त्यो संविधानको अधिकारलाई प्रयोग गर्दै संवैधानिक अधिकारलाई मान्दै भएका हुन्,” मन्त्री किरातीले भनेका छन्।
“क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हो। संविधान नमान्ने देशद्रोही हुन्।”
मन्त्री किरातीले त्यसो भनिरहँदा कार्यक्रममा सहभागीहरूले उनको समर्थन गर्दै ताली बजाएको सुनिन्छ। आफ्नो अभिव्यक्तिको समर्थनमा भएको देखेर एक छिन रोकिँदै मन्त्री किराती आफ्नो भाषण अघि बढाउँछन्।
“यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो।”
विद्रोह र प्रचण्डको प्रसङ्ग
उनको अभिव्यक्तिको यो छोटो अंश सामाजिक सञ्जालमा भाइरल बनेको छ। त्यसकै आधारमा केही मानिसले आफू क्रिश्चियन नभएको भन्दै जेल हाल्न चुनौती दिइरहेका छन्।
मन्त्री किरातीले विश्वमा धार्मिक जनसङ्ख्याबारे तथ्याङ्क समेत पेस गर्दै विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या क्रिश्चियन धर्मावलम्बीकै रहेको बताएका छन्।
“संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने?”
केही हाँस्दै उनी अगाडि भन्छन्, “इसाई धर्मका प्रवर्तक जीजस क्राइस्ट महान् नेता पनि थिए। त्यही पनि विद्रोही नेता। त्यो देशको राज्यको शासन नमान्दा मृत्युदण्ड दिएको हो नि त विद्रोही होइन?”
उनले आफू र आफ्नो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि इसाई धर्मका प्रवर्तकको सम्मान गर्ने दाबी गरे।
“म पनि विद्रोहबाटै आएको हुनाले म चाहिँ उहाँको धेरै सम्मान गर्छु। र मैले मात्रै होइन यो चाहिँ प्रधानमन्त्रीले पनि गर्नुहुन्छ। अहिलेको प्रधानमन्त्रीले,” किरातीले भनेका छन्।
“किन भने हामी फूलको बाटो हिँडेर आएको होइनौँ। यही राज्य व्यवस्थालाई अन्त्य गरेर प्रजातान्त्रिक समाजवादी राष्ट्र निर्माण गर्नका लागि हामीले विद्रोह गरेकै हौँ।”
मन्त्रीको राजीनामा माग
मन्त्री किरातीको अभिव्यक्तिबारे प्रश्न उठाउँदै भूतपूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
“संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्,” लामिछानेले लेखेका छन्।
नेपालमा हिन्दू राज्यको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष तथा भूतपूर्व उपप्रधानमन्त्री कमल थापाले किरातीलाई पदबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका छन्।
“’क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम (प्रचण्ड) को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस्,” थापाले लेखेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले किरातीको अभिव्यक्तिलाई लिएर माओवादी पार्टीमाथि नै प्रश्न गरेका छन्।
“संस्कृतिमन्त्री किरातीले कत्रो जेल बनाउलान् त अब? उनले थुन्नैपर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दू, बौद्ध, मुस्लिम आदि) करिब ९८% रहेछ। माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो। धर्म व्यक्तिगत स्वतन्त्रता हो। तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान,” बास्कोटाले लेखेका छन्।
कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफूहरूलाई जेल हाल्न मन्त्री किरातीलाई चुनौती दिएका छन्।
प्रधानमन्त्रीका स्वकीय सचिव सन्तु दराईले यसबारे प्रधानमन्त्रीले मन्त्री किरातीसँग कुनै सोधपुछ नगरेको बताए।
“अहिलेसम्म उहाँले बोलाएर सोध्नुभएको छैन” दराईले बीबीसी न्यूज नेपालीसँग बिहीवार बिहान भने।
मन्त्री सुदन किराँती के भन्छन्?
मन्त्री किरातीले आफ्नो अभिव्यक्तिबारे बिहीवार फेसबुकमा स्पष्टीकरण दिएका छन्।
उनले बहसको लागि सबैलाई धन्यवाद भन्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न आह्वान गरेका छन्।
"भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने। फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ।"
"...अन्त्यमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो," किरातीले लेखेका छन्।
नेपालका प्रमुख धर्म कुनकुन हुन्?
नेपालमा कुल १० वटा धर्म मान्ने मानिस रहेको आधिकारिक तथ्याङ्क छ। तीमध्ये सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ।
सन् २०२१ को नोभेम्बर २५ तारिखसम्मको विवरण समेटिएको तथ्याङ्कअनुसार नेपालमा अहिले ८१.१९ प्रतिशत हिन्दूको जनसङ्ख्या छ।
जनगणनाको प्रतिवेदनले नेपालको दोस्रो प्रमुख धर्मसहित चार धर्मावलम्बीको जनसङ्ख्या क्रमश: घट्दै गइरहेको देखाएको छ।
त्यस्तै दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको सङ्ख्या ८.२१ प्रतिशत, तेस्रो स्थानमा रहेको इस्लामको ५.०९ प्रतिशत र चौथो स्थानमा रहेको किराँतको ३.१७ प्रतिशत जनसङ्ख्या छ।
त्यस्तै इसाईहरूको जनसङ्ख्या १.७६ प्रतिशत तथा प्राकृत धर्म मान्नेहरूको सङ्ख्या ०.३५ प्रतिशत रहेको जनगणनाले देखाएको छ।
नेपालमा बोन धर्म मान्नेहरू ०.२३ प्रतिशत र जैन तथा सिख धर्मावलम्बीहरू ०.०१ प्रतिशत छन्। जनगणनाले नेपालमा बहाई धर्मका अनुयायीको कुल सङ्ख्या ५३७ भएको देखाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।