विश्वकप जितेपछि भारतका दुई 'दिग्गज ब्याटर'ले सन्न्यास लिए

    • Author, सुरेश मेनन
    • Role, क्रिकेट राइटर

विश्वकप जितेसँगै भारतका दिग्गज खेलाडीहरू विराट कोहली र रोहित शर्माले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

उक्त खेलमा ७६ रन बनाएर कोहली 'म्यान अफ द म्याच' बनेका छन्।

दक्षिण अफ्रिकालाई सात रनले रोमाञ्चक रूपमा हराउँदै रोहित सन् २०११ पछि भारतलाई विश्वकप जिताउने पहिलो कप्तान बनेका छन्।

पछिल्लो १३ वर्षदेखि कुनै पनि विधाको विश्वकप नजितेको भारतले यसपालि रोमााञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जित्यो।

यसअघिका खेलहरूमा अविजित रहेका दुवै टोलीबीच वेस्ट इन्डिजको बार्बेडोसमा फाइनल खेल भएको थियो।

सन् २०११ मा भारतले विश्वकप जित्दै गर्दा त्यो सचिन तेन्दुलकरका निम्ति अन्तिम मौका हो भन्ने सबैलाई थाहा थियो।

विश्वकपका निम्ति छैटौँ प्रयत्न गर्दै गर्दा उनी ३९ वर्षका थिए। त्यतिखेर भारतीय राष्ट्रिय क्रिकेट टिमको अनौपचारिक नारा नै थियो, 'यसपालि सचिनका निम्ति जितौँ।'

कप्तान महेन्द्रसिंह धोनीले जितका निम्ति निर्णायक हुने गरी छक्का प्रहार गरेपछि तेन्दुलकरलाई काँधमा बोक्नेमध्येमा विराट कोहली पनि एक थिए। विराटले स्मरणीय तरिकाले भनेका थिए, "उनले हाम्रो टोलीको ब्याटिङलाई लामो समयसम्म आफ्नो काँधमा बोके, अब उनलाई हाम्रो काँधमा बोक्ने समय आएको छ।"

सचिनका स्वाभाविक उत्तराधिकारी कोहली स्वयं अहिले ३६ वर्ष लाग्दै छन् र उनले शनिवार आफ्नो करिअरको अन्तिम टी२० विश्वकप खेलेका छन्।

अब अर्को टी२० विश्वकप २०२६ मा र ५० ओभरको ओडीआई विश्वकप सन् २०२७ मा आयोजना हुने छन्।

कोहली तेन्दुलकरको तुलनामा अधिक तन्दुरुस्त भए पनि अब उनलाई यही स्तरमा 'ह्वाइट बल' क्रिकेट खेलिरहेको देख्न भने कठिन नै छ।

अनि ३७ वर्षीय कप्तान रोहित शर्माका निम्ति पनि यो अन्तिम विश्वकप भएको छ।

भारतीय टीममा यसपालि "लौ, कोहलीका निम्ति जितौँ" वा "रोहितका निम्ति जितौँ" भन्ने नारा लागेको देखिएको थिएन। तर भित्रभित्रै खेलाडीहरूले त्यसो भनिरहेका भए थाहा हुने कुरा भएन।

बरु यस पटक सायद "राहुल द्रविडका निम्ति जितौँ" भन्ने भावना देखिएको थियो। हाल भारतीय क्रिकेट टिमका प्रशिक्षक रहेका राहुलले सन् २०११ को विश्वकप खेल्न पाएका थिएनन्। राष्ट्रिय क्रिकेट टीमसँग यो उनको अन्तिम सहकार्य हो।

सन्यासपछि रोहित शर्माले के भने

विश्वकप जितेर टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय टोलीका कप्तान रोहित शर्माले समयको एउटा चक्र पूरा भएको बताएका छन्।

आफ्नो सन्यास र भारतीय टोलीको जितको बारेमा भारतीय समाचार संस्था पीटीआईसँग कुरा गर्दै उनले भने, "कसैले भर्खरै मलाई के भने भने मैले सन् २००७ मा भारतबाट खेल्न थाल्दा देशले विश्वकप जितेको थियो। अब म विश्वकप जितेर टी२० अन्तर्राष्ट्रिय खेल छाड्दैछु।"

"म सन् २००७ मा पहिलो पटक भारतबाट खेलेको थिएँ र आयरल्यान्ड गएको थिएँ। त्यहाँ हामीले ५० ओभरको खेल खेल्यौँ। त्यसको लगत्तै हामी टी२० विश्वकप खेल्न दक्षिण अफ्रिका गयौँ। हामीले त्यो पटक पनि जित्यौँ र यसपटक पनि जित्यौँ। यसरी समयको चक्र पूरा भयो।"

सङ्क्रमणमा भारतीय क्रिकेट

टी२० क्रिकेट द्रुत गतिमा युवाहरूको खेल बन्दै गएको छ। यो त्यस्तो युवाको खेल बन्दै छ, जो भविष्यमा आफ्नो आँकडाका बारेमा चिन्ता नगरी अर्को छक्का कताबाट आउँदै छ भन्नेतर्फ केन्द्रित हुन्छन्।

यो धेरै ध्यान नदिइएको तर भारतीय क्रिकेटमा देखिएको एउटा सांस्कृतिक परिवर्तन हो। विगतमा धेरै दिग्गज खेलाडीहरूले सन्दर्भ नै नहुँदा पनि आँकडाहरूबारे अस्वस्थकर चिन्ता व्यक्त गरिरहन्थे।

अस्ट्रेलियाविरुद्ध रोहित शर्माले बनाएको सानदार ९२ रनले नयाँ पुस्तालाई टी२०का निम्ति औसत 'रनरेट'को सट्टा कम बलमा धेरै रन बनाउने 'स्ट्राइक रेट' बढी अर्थपूर्ण हुने देखाएको छ।

तेन्दुलकरले आफ्नो सयौँ अन्तर्राष्ट्रिय शतक बनाउँँदा उनको निकै सराहना गरियो, तर भारतले उक्त खेल हारेको थियो।

विशेष गरी टी२० क्रिकेटको सन्दर्भमा भारतको 'ह्वाइट बल' टीम संक्रमणको चरणमा छ। समूहका १० सदस्य ३० वर्षमाथिका छन् भने तीनजना ३५ माथिका छन्। थप आक्रामक ब्याटरहरू पनि उदाइरहेका छन्।

जिम्बाब्वेमा अर्को महिना हुन लागेको पाँच खेलको टी२० शृङ्खलाका निम्ति शुभमन गिलले भारतीय टीमको नेतृत्व गर्दै छन्।

उक्त शृङ्खलामा यशस्वी जयसवाल, रियान पराग, अभिषेक शर्मा, ध्रुव जुरेल, नीतीश कुमार र रवि विष्णोईजस्ता २५ वर्षमुनिका अनि त्योभन्दा थोरै बढी उमेरका रिङ्कु सिंहजस्ता खेलाडीहरू सामेल हुँदै छन्, जसले भारतीय क्रिकेटको भविष्य देखाउँछ।

वेस्ट इन्डिज गएको हालको टीममा ३५ वर्षमाथिका खेलाडीहरूमा रवीन्द्र जडेजा पनि सामेल छन्। टी२०का शीर्ष ब्याटर सूर्यकुमार यादव ३४ वर्ष लाग्दैछन्।

उमेरले धेरै अर्थ राख्दैन, फर्म तथा तन्दुरुस्ती निर्णायक हुनुपर्छ। तथापि टी२० एउटा कठिन ढाँचा हो। खेलाडीको अनुभव उसैको प्रतिकूल भइदिन सक्छ। हिजोको मान्यता अबउप्रान्त लागू हुँदैन, बरु रणनीति र चाल द्रुत गतिमा परिवर्तन भइराख्छन्।

पहिलेको अवस्था कस्तो थियो

कोहली र शर्माले सुरूमा खेल्न थाल्दा टी२० अहिलेको भन्दा एकदमै भिन्न थियो।

सूर्यकुमार यादव र (विश्वकै सात नम्बर) यशस्वी जयसवालसँग ताल मिलाउन सक्षम हुनु भनेको उनीहरूको अनुकूलन क्षमताको प्रमाण हो।

खेलअघि नै यी दुवैले वा एकले यो विश्वकपपछि सन्न्यास लिन सक्ने सम्भावना रहेको बताइएको थियो।

भारतले जितेको खण्डमा उनीहरूका निम्ति त्यसपछि अझ ठूलो उपाधि जित्न बाँकी केही रहने छैन र जितपछि उनीहरू किनारा लाग्न सक्ने छन् भन्ने विश्लेषण गरिएको थियो।

गत वर्ष भारत ५० ओभरको विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदा देश निराशामा डुबेको थियो। खेलाडीहरूलाई पनि मनमा निकै पीडा भएको थियो। तर यसपालि जितेर फर्कदा भारतमा उल्लास छाएको छ।

गत वर्ष सबैभन्दा धेरै पीडा त कोहली र शर्मालाई नै पर्‍यो। उनीहरूकै राम्रो प्रदर्शनका कारण भारत फाइनलसम्म अपराजित रह्यो। तर फाइनलमा उनीहरूको 'जादु' चलेन।

न उनीहरू सचिन तेन्दुलकरजस्तो साथीहरूको काँधमा बोकिन पाए। यस्तो मौका अब कहिल्यै नआउन सक्छ भन्ने टीमका हरेकलाई थाहा थियो।

त्यसैले यो टी२० विश्वकपमा एक किसिमको मुक्ति खोजिएको थियो। जुनसुकै ढाँचाको क्रिकेट किन नहोस्, उपाधिबिना कुनै पनि खेलाडीको करिअर अधुरै मानिन्छ। सन्न्यासयात्राको सुरूवातका निम्ति पनि जित नै सुखद बिन्दु बन्न पुगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।