नेपाली कांग्रेसमा सभापतिका लागि देउवाले 'मैदान छाड्दा' देखिने चुनावी रौनक

    • Author, शरद केसी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

नेपाली कांग्रेस पार्टीमा बलियो पकड रहेका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा मैदान खालि गरिदिने भएपछि उक्त दलको आगामी महाधिवेशन विगतभन्दा रोचक हुने आकलन गरिएको छ।

नेताहरूले सार्वजनिक सञ्चारमाध्यमहरूमा बोल्दै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।

पूर्वमहामन्त्री विमलेन्द्र निधिले एकताको महाधिवेशन बनाउन सर्वसम्मत रूपमा सभापति चयन गर्नुपर्ने बताउँदै अन्यथा आफू पनि उम्मेदवार बन्ने बताएका छन्।

त्यस्तै अघिल्लो महाधिवेशनमा सभापतिको प्रत्याशी रहेका युवा नेता कल्याण गुरुङले प्यानलनै बनाएर उम्मेदवारी दिने घोषणा गरेका छन्।

तर एक बलियो दाबेदार ठानिएका महामन्त्री गगन थापाले गरेको उम्मेदवारी घोषणासँगै पार्टीमा एक खालको तरङ्ग उत्पन्न भएको देखिन्छ।

अघिल्लो महाधिवेशनमा उनी महामन्त्रीको उम्मेदवार भएको समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले यसअघि नै आफू सभापतिको प्रत्याशी हुने भनिसकेकाले पनि थापाको घोषणाले तरङ्ग निम्त्याएको बताइन्छ।

देउवाले छोड्दा मैदानमा देखिने चुनावी रौनक

कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका अनुसार देउवाले सभापतिमा चुनाव नलड्ने बताएका छन्।

अन्य दलमा जस्तै कांग्रेसमा पनि विधान संशोधन गरेर सभापतिको उम्मेदवार बन्ने विकल्प देउवासामु रहेको उनको भनाइ छ।

"तर उहाँले विधानको विद्यमान व्यवस्थालाई ख्याल गर्दै सदाशयता देखाउँदै लड्दैन भन्नु भएको छ, हुने नहुने अन्योलबीच महाधिवेशनको मिति घोषणा भएको छ, आकाङ्क्षाहरू प्रकट हुँदै जालान्," नेता जोशीले भने, "जेन जी विद्रोहपश्चात् परिस्थिति भने धेरैनै फेरिएको छ।"

पार्टीभित्र बलियो पकड रहेका देउवाले मैदान छाडिदिएपछि प्रतिस्पर्धा र समीकरण झन् रोचक हुने ठानिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि उम्मेदवार बन्ने सम्भावना बलियो रहेको उनी निकट एकजना नेताले बीबीसीलाई बताए।

तर उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदा असन्तुष्ट रहेको भनिएका कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि सहितका नेताहरूले पनि आफ्नो पक्षबाट उम्मेदवारी दिने ठानिएको छ।

त्यसैले सभापति देउवालाई साथ दिँदै आएका नेताहरूबीचबाट साझा उम्मेदवार बन्ने सम्भावना कमजोर देखिएको बताइन्छ।

अघिल्लो महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला थिए। थापा कोइराला खेमाबाटै महामन्त्री बनेका हुन्। पछि उनी देउवालाई हटाउन घोषित रूपमै लागेका थिए।

अहिले कतिपय देउवा खेमाका नेताहरू पनि कोइराला र थापालाई साथ दिन पुग्ने सम्भावना रहेको जानकारहरू बताउँछन्।

त्यसैले कोइराला-थापा समूहभित्रको विभाजनले पनि महाधिवेशनप्रति चासो बढाउने ठानिएको छ। त्यो विभाजनबाट लाभ लिन सकिने देउवा पक्षका नेताहरूको बुझाइ रहेको पनि बताइन्छ।

कोइराला-थापा आमनेसामने हुन नदिने विकल्प के हो?

तर अघिल्लो महाधिवेशनमा एउटै समूहबाट चुनाव लडेकाहरूलाई खासगरी कोइराला र थापालाई एकजुट राख्ने प्रयास पनि जारी रहेको नेताहरूको भनाइ छ।

सहमहामन्त्री जीवन परियार भन्छन्, "हामी शेखर कोइरालाको समूहबाट चुनाव लडेकाहरूबीच छलफल गरेर साझा धारणा बनाएर जान सकिने धेरै सम्भावनाहरू छन्, त्यसको निम्ति हाम्रो प्रयत्न रहन्छ।"

कोइराला खेमामा रहेका एक नेता हुन् अर्जुन नरसिंह केसी। परिवर्तित स्थितिमा व्यक्ति मात्र नभई बिचारमा पनि आमूल परिवर्तन गरेर जानुपर्ने खाँचो रहेको बताउँदै उनले उक्त परिवर्तन पक्षधरहरूबीच एकताको निम्ति प्रयास गरिरहेको जानकारी दिए।

"एक व्यक्ति एक पदको अवधारणा लागू नभएकाले लोकतन्त्र दलतन्त्रमा परिणत भयो, दलतन्त्र नेतातन्त्रमा, नेतातन्त्र गिरोहतन्त्र र गिरोहको वरिपरि बिचौलियाले राज गरे, त्यसबाट उन्मुक्तिको निम्ति वैचारिक पुनर्जागरण अहिलेको आवश्यकता हो," नेता केसीले भने, "त्यसैले सभापति पनि संसदीय दलको नेता अथवा प्रधानमन्त्री बन्दा स्थापित भएको नेतातन्त्रलाई चिर्न पनि एक व्यक्ति एक पदको अवधारणा हाम्रो विचार समूहभित्रका साथीहरूले बुझिदिउन्।"

अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई आगामी प्रधानमन्त्रीको रूपमा अघि बढाउने विचार व्यक्त गरेका छन्। के नेता केसी पनि कोइरालालाई सभापति र थापालाई प्रधानमन्त्री बन्ने गरी सहमति गर्न आग्रह गर्छन्?

"मैले देखेको विकल्पको रूपमा पहिले पनि उहाँहरू दुई जनालाई जुन छाने पनि हुन्छ, चिट्ठा हाले पनि हामीलाई आपत्ति छैन भनेको हुँ," उनले भने, "अहिलेनै म भन्ने स्थितिमा छैन, परिस्थिति हेर्दै जाऊँ।"

कोइरालालाई छाड्न थापा तयार होलान्?

महाधिवेशनको मिति घोषणा भए पनि निर्धारित समयमै त्यो सम्पन्न हुनेमा कतिपय नेताहरू आशङ्कामुक्त रहेको पाइँदैनन्।

त्यसमा पनि क्रियाशील सदस्यता वितरण पहिलेको तुलनामा खुकुलो पारिएको भनिएकाले महाधिवेशन प्रतिनिधि छनोटपछि विभिन्न खेमाका नेताहरूबीच ध्रुवीकरण थप तीव्र हुने ठानिएको छ।

तर अहिलेदेखि नै समीकरण बनाउने र समर्थन जुटाउने प्रयास चलिरहेको देखिन्छ। अघिल्लो महाधिवेशनमा पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला र सुजाता कोइराला आफ्ना दाजु डा. शेखर कोइरालालाई साथ नदिई देउवाको पक्षमा उभिएका थिए।

डा. शशाङ्क कोइराला निकट नेता दीपक गिरिका अनुसार आउँदो महाधिवेशनमा डा. शशाङ्कले डा. शेखरलाई सघाउने निश्चित रहेको बताए। "यसपटक कोइराला परिवार एक ठाउँमा उभिन्छ," उनले भने।

कोइराला निकट मानिने नेविसङ्घका पूर्वअध्यक्ष रञ्जित कर्ण लगायतका कांग्रेस नेताहरूले बुधवार देउवासँग भेटघाट गरेको विषयलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

त्यसैले सभापतिका आकाङ्क्षीहरू आफ्नो समर्थन बलियो देखाएर सभापति देउवाको साथ लिन प्रयासरत रहेको पनि बताइन्छ।

विशेष महाधिवेशनको माग गर्नेहरूबीचमा पनि कोही कोइराला र कोही थापाको पक्षमा खुलेको देखिन्छ। कतिपयले कित्ता खुलाएका छैनन्।

तर विगतको समूहलाई एक ढिक्का राख्न थापा संसदीय दलको नेता बन्ने सर्तमा डा. शेखर कोइरालालाई सभापति छाड्न तयार होलान्?

उनी निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भन्छन्, "सार्वजनिक रूपमा एकखालको प्रतिबद्धता जनाइसकेकाले आफ्नो घोषणाबाट सायदै फिर्ता हुनुहोला जस्तो लाग्छ।"

महाधिवेशनमा दोस्रो चरणको दाऊ कस्तो?

कतिपय नेताहरूले देउवानै नलड्ने भएपछि तीन-चारजना सभापतिका प्रत्याशी हुने र निर्वाचन दोस्रो चरणमा जाने आकलन गरेको पाइन्छ।

कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाएमा पहिलो र दोस्रोबीच प्रतिस्पर्धा हुने कांग्रेस विधानको व्यवस्था छ।

त्यसैले एकथरीले सकेसम्म पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत ल्याउने प्रयास गर्ने देखिन्छ।

त्यसो नभए पहिलो-दोस्रो हुने प्रयास गर्न सक्छन्। किन कि दोस्रो चरणको मतदानमा समीकरण फेरबदल हुने गरेको पाइन्छ।

"दोस्रो चरणको चुनावमा जान नसक्नेहरूले स्वाभाविक रूपमा निर्णायक बन्न चाहने छन्," एकजना नेताले भने, "तर पहिलो वा दोस्रो हुनेमध्ये जसले बाँकी मत तान्न सक्छ, उसले जित्ने सम्भावना रहन्छ, देउवा नलड्दा कुनै पनि समूह पूर्ण रूपमा एक ढिक्का नरहने भएकाले महाधिवेशन थप अनिश्चित र रोचक हुनसक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।