प्राचीन इजिप्टप्रति समर्पित विशाल सङ्ग्रहालयमा टूटन्कामनको चिहानमा फेला परेका हजारौँ वस्तु

    • Author, काइने पिएरी

गाजाका विशाल पिरामिडहरूको मुन्तिर निर्मित अनि लामो समयदेखि प्रतीक्षा गरिएको विशाल सङ्ग्रहालय 'ग्र्यान्ड इजिप्शन म्यूजिअम' अन्तत: खुल्न लागेको छ।

झन्डै १२० एकर (०.५ वर्गकिलोमिटर) क्षेत्रमा फैलिएको यो सङ्ग्रहालय फ्रान्सको लूभ्र सङ्ग्रहालयभन्दा दुई गुना ठूलो ठाउँमा फैलिएको छ। यहाँ ७०,००० देखि एक लाख वटासम्म विभिन्न कलावस्तु राखिने छ। तिनमा किशोर सम्राट टूटन्कामनको समाधिस्थलमा फेला परेका तर यसअघि नदेखिएका वस्तुहरू पनि हुने छन्।

सन् २००२ मा घोषणा गरिएको र सन् २०१२ मा खुल्ने भनिएको उक्त सङ्ग्रहालयको निर्माण लागत, राजनीतिक अस्थिरता, कोभिड महामारी तथा क्षेत्रीय तनावजस्ता कारणले बारम्बार ढिलो हुन पुग्यो।

उक्त बृहत् परियोजनाको लागत करिब १.२ अर्ब डलर हो। त्यसको ठूलो हिस्सा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले ऋणका रूपमा उपलब्य गराएको छ।

रहस्य र ज्ञानको भूमि

'संसारलाई इजिप्टको उपहार' भनेर प्रधानमन्त्री मोस्तफा मद्बुलीले भनेको उक्त सङ्ग्रहालयले इजिप्शन संस्कृतिको प्रमुखता तथा प्रभाव देखाउने छ र त्यहाँको अर्थतन्त्रलाई उकास्ने छ।

"प्राचीन इजिप्ट भन्नेबित्तिकै सबै जनालाई आकर्षित गर्छ," कायरो विश्वविद्यालयकी प्राध्यापक सलिमा इक्रमले भनिन्। "ग्रीक, रोमन तथा फोनेशियाली सबैले इजिप्टलाई रहस्य र ज्ञानको भूमिका रूपमा हेर्थे।"

समकालीन इजिप्टवासीहरूलाई उनीहरूको प्राचीन सम्पदासँग जोड्न मद्दत पुग्ने आशा सङ्ग्रहालयको छ।

"यसले राष्ट्रिय गौरव बढाउने छ," प्राध्यापक इक्रमले भनिन्, "जसले प्राचीन इजिप्टलाई मानिसको दैनिक जीवनसँग र प्रत्येक इजिप्टवासीको मनमा राष्ट्रवादी भावनालाई जोड्ने छ।"

सन् २०२५ को नोभेम्बर १ शनिवारका निम्ति तय गरिएको सङ्ग्रहालयको उद्घाटन समारोहमा जर्मन राष्ट्रपति फ्र्याङ्क-वाल्टर स्टाइन्मायर र बेल्जमका राजा फिलिपे सहभागी हुने छन्। उक्त दिन सार्वजनिक बिदा दिइएको छ।

उक्त समारोह टिकटकमा प्रत्यक्ष प्रसारण हुने छ। अनि विभिन्न ठाउँका मुख्य चोकहरूमा ठूलो पर्दामा देखाइने छ।

टूटन्कामनको घरफिर्ती

सन् १९२२ मा प्राचीन इजिप्टबारे विज्ञता भएका इतिहासकार हवार्ड कार्टरले टूटन्कामनको बिर्सिएको समाधिस्थल उत्खनन गरेपश्चात् ती सम्राटबारे धेरैको ध्यानाकर्षण भयो।

विश्वभरिका सहरहरूमा प्रदर्शन भएको दशकौँपश्चात् उनको सुनौलो मुखुन्डो अनि उनको समाधिमा उनीसँगै गाडिएका ५,००० वटा वस्तुहरू सङ्ग्रहालयमा देखाउन राखिने छ। तीमध्ये कैयौँ वस्तु यसअघि सार्वजनिक रूप प्रदर्शनमा राखिएको थिएन।

"टूटन्कामनको समाधिमा गाडिएका सबै कलावस्तु एकैठाउँमा प्रदर्शन हुँदा त्यो गजब हुने छ," प्राध्यापक इक्रमले भनिन्।

"मलाई लाग्छ भविष्यमा घुम्न आउने अधिकांश टोलीहरू टूटन्कामनको ग्यालरीमा केन्द्रित हुने छन् - अनि सङ्ग्रहालयका बाँकी वस्तु चाहिँ खाँटी उत्सुकहरूले मजाले हेर्ने छन्," म्यान्चेस्टर म्यूजिअमको इजिप्ट र सुडान क्यूरेटर डा क्याम्प्बेल प्राइसले भने। उनले जीईएमको भ्रमण गरेका छन्।

"मुख्य ग्यालरीहरू उत्तिकै अद्भुत छन् र हरेक वस्तुलाई यथोचित स्थान दिइएको छ। म निकै सन्तुष्ट भएँ। मलाई त्यसले भावुक बनायो।"

सम्राट टूटन्कामनको खजानासँगै त्यहाँ अन्य कैयौँ उल्लेखनीय कलावस्तु पनि हुने छन्। तीमध्ये ३,२०० वर्ष पुरानो रामसीस महान्‌को विशाल मूर्ति पनि पर्छ। उक्त मूर्तिले आगन्तुकहरूलाई सङ्ग्रहालयको मुख्य हलमा स्वागत गर्ने ।

उक्त मूर्ति तथा अन्य ७,००० वर्षसम्म पुराना वस्तुहरूको आआफ्नै ओजिलो इतिहास छ।

रामसीस महान्‌को विशाल मूर्ति गत ५१ वर्षसम्म कायरोको मुख्य ट्रेन स्टेशनमा प्रतिस्थापति थियो। त्यसलाई जीईएममा स्थानान्तरण गर्नुअघि सहर डुलाइएको थियो।

साथै सङ्ग्रहालयमा राजा खुफुको सौर्य डुङ्गा - ४,६०० वर्ष पुरानो उक्त फुनररी भेसल संसारको सबभन्दा प्राचीन र राम्ररी संरक्षित पानीजहाजमा पर्छ - का लागि छुट्टै विशेष कक्ष छ।

इजिप्टको सम्पदा

तर जाही हवासका निम्ति सङ्ग्रहालयको उद्घाटन केवल प्राचीन वस्तुहरूको प्रदर्शन मात्र होइन। फरासिला तथा साहसिक पुरातत्त्वविद्का रूपमा परिचित हवास यसलाई इजिप्टको प्राचीन सम्पदामा इजिप्टवासीहरूकै दाबी पुनर्स्थापित हुने तथा उसको सौम्य शक्तिको प्रदर्शन हुने पनि ठान्छन्।

"हाम्रा स्मारकहरूका वैज्ञानिक हामी आफैँ हुने अब समय आएको छ," उनले भने। "भ्याली अफ किङ्समा ६४ वटा समाधि फेला परे। तर तीमध्ये एउटा पनि इजिप्टेलीले उत्खनन गरेका थिएनन्।"

इजिप्टमा भएका अधिकांश खोज उत्खनन - टूटन्कामनको समाधिसहित - विदेशी पुरातत्त्वविद्हरूले गरेको हवासले औँल्याए। लामो समयदेखि हवासले त्यहाँको सम्पदाको अध्ययन तथा संरक्षणका कार्यमा इजिप्टवासीहरू नै अग्रणी भूमिकामा हुनुपर्छ भन्दै आएका छन्। त्यसलाई नै उनले आफ्नो जीवनको अभियान बनाएका छन्।

लक्जरका पुरातत्त्व महानिर्देशक डा अब्देल्गफर वाग्दी नयाँ सङ्ग्रहालय त्यसै दिशातर्फको एक कदम ठान्छन्।

"सन् २००२ यता इजिप्टभित्र प्राचीन इजिप्टको अध्ययन नयाँ र उत्साहजनक चरणमा प्रवेश गरेको छ," उनले भने। "स्वामित्वको अनुभूति बढ्दो छ अनि कैयौँ महत्त्वपूर्ण उत्खनन तथा सम्पदा परियोजनाहरू इजिप्टकै विज्ञहरूले अगुवाइ गरिरहेका छन्।"

नयाँ सङ्ग्रहालयलाई सबै इजिप्टवासीहरूका निम्ति साझा थलोको रूपमा परिकल्पना गरिए तापनि त्यसको प्रवेश शुल्कले धेरैलाई बाहिरै राख्ने छ। इजिप्टवासीका निम्ति प्रवेश शुल्क प्रतिवयस्क २०० इजिप्शन पाउन्ड वा ४ स्टर्लिङ पाउन्ड राखिएको छ। विदेशीहरूलाई राखिएको १,२०० इजिप्शन पाउन्ड वा २५ डलरभन्दा त्यो निकै थोरै हो तापनि कैयौँ स्थानीय परिवारका निम्ति त्यो निकै महँगो हो।

"तपाईँले मृतहरूलाई मात्र ध्यान दिएर हुँदैन। बाँचिरहेकाहरूको पनि हेरविचार गर्नुपर्छ," प्राध्यापक इक्रमले भनिन्। "यो सबैको निम्ति हो। तर प्रवेश शुल्क कतिपयको लागि अलि बढी छ।"

पुरातत्त्वको नयाँ युग

हवासका निम्ति ग्र्यान्ड इजिप्शन म्यूजिअमको उद्घाटन केवल इजिप्टको इतिहास संरक्षणसँग मात्र नभई खोजको केन्द्रका रूपमा उसको भविष्यसँग पनि जोडिएको छ।

ठूलाठूला ग्यालरीका अतिरिक्त यो सङ्ग्रहालयमा यस क्षेत्रकै अत्याधुनिक संरक्षण केन्द्र तथा अनुसन्धान प्रयोगशाला रहने छन् जहाँ इजिप्टका तथा अन्तर्राष्ट्रिय टोलीहरूले अध्ययन, पुनर्स्थापना तथा अन्य नयाँ खोजका लागि आगामी कैयौँ दशकसम्म निरन्तर काम गर्ने छन्।

"हाल म लक्जरको भ्याली अफ किङ्समा उत्खनन गरिरहेको छु। म सकरामा उत्खनन गरिरहेको छु," हवासले भने। "हामीले हालसम्म हाम्रा केवल ३०% स्मारकमात्र उत्खनन गर्न सकेका छौँ – अझै ७०% त बालुवामुनि नै छन्।"

सङ्ग्रहालयले उसका ठूला हलहरू सर्वसाधारणका निम्ति खोले पनि इजिप्टका महत्तम खजानाहरू अझै त्यहाँको मरुभूमिमुनि पुरिएका छन् - पुरातत्त्वमा उसको नयाँ युग बल्ल सुरु भएको छ।

थप रिपोर्टिङ् बीबीसी न्यूज अरेबिकबाट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।