तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आनी बन्न सहर पसेकी फुन्जो लामाले कसरी बनाइन् सगरमाथामा 'कठिन' कीर्तिमान
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
“ल केटी, यसपालि गज्जब गर्यौ। तिम्रो रेकर्ड अब मैले तोड्ने हो।”
सर्वाधिक छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने महिलाको कीर्तिमान बनाएर आधारशिविर फर्केपछि आफ्नी छोरीलाई फोन गरेकी फुन्जो जाङ्मु लामाले पाएको प्रतिक्रिया हो यो।
एकल आमा फुन्जोका अनुसार आठ कक्षामा अध्ययनरत उनकी छोरी तेन्जिङ “छोरी कम, साथी बढी” हुन्।
त्यसैले आमालाई सहजै साथीलाई जस्तै ‘केटी’ भनेर सम्बोधन गर्छिन्, आमा फुन्जोलाई पनि त्यो सम्बोधन प्रिय लाग्छ। सुन्ने बानी जो परिसकेको छ।
“मेरी छोरी पहिलो व्यक्ति हो जसले मलाई 'तिम्रो रेकर्ड तोड्छु' भनिन्,” काठमाण्डूस्थित बीबीसी न्यूज नेपालीको कार्यालयमा कीर्तिमानी आरोही फुन्जोले हाँस्दै सुनाइन्।
आफ्नो कीर्तिमान आफ्नै छोरीले तोड्छु भन्ने अभिव्यक्ति मात्रै पनि उनका लागि सुखद अनुभव हुँदो हो। उनी त्यस्तै सुनिन्थिन्।
त्यसको केही दिनअघि मात्रै उनले १४ घण्टा ३१ मिनेटमा अर्थात् हालसम्मकै सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने महिलाको विश्व कीर्तिमान बनाएकी हुन्।
‘सबैका आआफ्नै सगरमाथा’
यसअघि सन् २०१८ मा फुन्जोले नै ३९ घण्टा ६ मिनेटमा सगरमाथाको सफल आरोहण गरी महिलातर्फ सबैभन्दा छोटो समयमा सगरमाथा चढ्ने विश्व कीर्तिमान बनाएकी थिइन्।
तर हरेक वर्षजसो केही न केही कीर्तिमान बन्ने र तोडिने सर्वोच्च शिखरमा फुन्जोको त्यो कीर्तिमान तीन वर्षभन्दा धेरै समय टिकेन।
सन् २०२१ मा हङ्कङकी आरोही सङ यिन हङले २५ घण्टा ५० मिनेट लगाएर आरोहण गरी सर्वाधिक कम समयमा सगरमाथा आरोहण गर्ने महिलाको विश्व कीर्तिमान बनाइन्।
फुन्जोले पहिलो विश्व कीर्तिमान बनाएको तीन वर्षमै तोडियो। अनि संयोग कस्तो रह्यो भने उनले फेरि त्यसको तीन वर्षमै अर्को कीर्तिमान बनाइन्।
अनि अर्को संयोग: बौद्ध धर्मावलम्बी फुन्जोले बुद्ध पूर्णिमाकै दिन विश्वको सर्वोच्च हिमालको चुचुरोमा पाइला टेकिन्।
“हामी हिमालवासीहरू हिमाललाई भगवान्को घर मान्छौँ। ठ्याक्कै बुद्ध पूर्णिमाकै दिन आरोहण गर्न पाएकोमा मलाई एकदम खुसी लाग्यो। त्यहाँ मैले विश्व शान्तिको कामना गरेँ,” फुन्जोले सहर्ष सुनाइन्।
सगरमाथाको सफल आरोहण जति गर्विलो सुनिन्छ, पैतालाले पार गर्नुपर्ने त्यो कार्य त्यति नै कठिन हो। तर फुन्जो विम्बमै भए पनि निकै गहन कुरा गर्छिन्।
उनी भन्छिन्, “हामी सबैका आआफ्नै सगरमाथा छन्। तपाईँ [पत्रकार] हरू जुन कुर्सीमा बसेर जसरी काम गर्नुहुन्छ, त्यो पनि आफैँमा सगरमाथा हो। त्यहाँ त म एक घण्टा पनि बस्न सक्दिनँ।”
हिमाल आरोहण जस्तो जोखिमपूर्ण काम गर्दै आएकी फुन्जो ख्यालठट्टा गर्नमा पनि उत्तिकै माहिर छिन्।
उनलाई लाग्छ मान्छेले आफ्नो कामसँगै हाँसोठट्टा पनि गरेर आफूलाई खुसी राख्ने प्रयास गर्नुपर्छ।
“हाम्रो घरमा पनि त्यस्तै हो। हामी धेरै गम्भीर भएर बस्दैनौँ। मान्छे जहाँ पुगे पनि हाँसोठट्टा गरेर आफू वरपरका मानिसलाई सहज महसुस गराउन सक्नुपर्छ,” फुन्जो भन्छिन्।
“म भएपछि बाँकी सबै थर्कमान भएर बस्नुपर्छ जस्तो सोच राख्नु हुँदैन। सबको आआफ्नै बाटो छ, काम छ। तैपनि सँगै बस्दा रमाइलै गर्नुपर्छ जस्तो मलाई लाग्छ।”
व्यक्तिगत जीवन
नेपालको पश्चिमोत्तर जिल्ला गोरखाको चुम उपत्यकामा लामा परिवारमा जन्मिएकी फुन्जोले सगरमाथा आरोहणमा सफलता पाएको देखिए पनि त्यो उचाइ नाप्न सहज थिएन।
उनको जीवनमा पनि आरोहअवरोह कुनै सगरमाथा उक्लँदाको भन्दा कम चुनौतीपूर्ण रहेन।
दुई वर्षकी छँदा आमा संसार छोडेर गइन्। उनको बाल्यकाल स्थानीय सेरोफेरोमा हजुरबुवासँग याक चराउँदै बित्यो।
अभावबीच बाल्यकाल बिताएकी फुन्जोले औपचारिक शिक्षा हासिल गर्न सकिनन्।
हुन त परिवारको अवस्थामा सुधार भएपछि दाजु सोनाम लामाले पढ्नका लागि उनलाई अमेरिका पनि नपठाएका होइनन्। तर नियतिले उनका लागि अरू थोक नै लेखेको रहेछ।
बाल्यकालमा चरम आर्थिक अभाव झेलेकी उनको ध्यान पढ्नुभन्दा पनि पैसा कमाउनेतर्फ मोडियो।
तर पहाडमा जन्मिएकी फुन्जोलाई पथप्रदर्शकका रूपमा पहाडले नै फेरि बोलायो।
गोरखाबाट आनी बन्न काठमाण्डू आएकी उनले अन्ततः आरोही र पथप्रदर्शक बनेर भविष्य अगाडि बढाइन्।
पहाड, नदी, झरना, हरियालीलगायत प्राकृतिक छटासँग रमाउँदै बाल्यकाल बिताएकी फुन्जोलाई कङ्क्रिटको सहर वा विदेशको सुखसयलले के लोभ्याउन सक्थ्यो र?
“गुम्बामा बस्दा त मलाई कस्तो बाँधिएको जस्तो पो महसुस भयो। म त त्यहाँ बस्नै सकिनँ,” आनी बन्न नसक्नुको व्यक्तिगत कारणबारे उनले सुनाइन्।
पथप्रदर्शकदेखि आरोहीसम्म
पछि नेपाली हिमालय र स्विस एल्प्समा समेत उद्धारसम्बन्धी प्रशिक्षण लिएकी फुन्जो नेपालकै प्रथम महिला ‘लङ-लाइन हेलिकोप्टर रेस्क्यूअर’ बनिन्।
खासमा पढ्नका लागि दाइले उनलाई अमेरिका पठाए। तर त्यहाँ गएर उनी पढ्नुको साटो पैसा कमाउने काम गर्न थालिन्।
“पढ्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने कुरा मेरो दिमागमा धेरै भयो,” ती दिन सम्झँदै उनले भनिन्।
चरणचरणमा गरी फुन्जोले काम गर्दै यौवनकालको करिब पाँच वर्ष अमेरिकामा बिताइन्।
तर सधैँ उही काम अनि उही हैसियत देखेर बिस्तारै उनलाई विरक्त लाग्न थाल्यो।
“काममा प्रमोशन हुन्छ नि, त्यो चाहिँ भएन। भरिया भएर त काम गर्दा एउटा समयमा भरियाको लीडर भइन्छ,” अवस्था फेरिनुपर्छ भन्ने धारणा राख्ने फुन्जो भन्छिन्।
यथास्थितिवादविरुद्ध आफूभित्र हुन थालेको उकुसमुकुस र घरको निकै न्यास्रो लाग्ने गरेको उनले एक दिन दाइ सोनामलाई सुनाइन्।
केही गर्न सक्ने उमेरमै रहेकी बहिनीको कुरालाई दाइले स्वाभाविक रूपमै लिए।
“अहिले तिमी युवा छौ। अहिले पैसा कमाउनुभन्दा अनुभव बटुल्नुपर्छ। तिमी जहाँ खुसी हुन्छौ, त्यहीँ बस्नुपर्छ। एकचोटि पाएको जुनीमा मनमा अनेक कुरा खेलाई बस्नु राम्रो होइन,” दाइको कुरा उनी सम्झन्छिन्।
“अमेरिका तिम्रो लागि जहिल्यै खुलै छ। पछि पनि जान सकिहाल्छौ। नेपाल नै आऊ। यहीँ केही गर्न सकिन्छ।”
दाइको कुरा सुनेर उनलाई आफ्नो सोच अनुमोदित भएजस्तै भयो। फुन्जो नेपाल फर्किन् र दाइले खोलिदिएको एउटा ट्रेकिङ एजेन्सीमा काम गर्दै उनी पथप्रदर्शक बनिन्।
नेपालमा ‘लङ-लाइन हेलिकोप्टर रेस्क्यूअर’ को प्रशिक्षण दिने गरेका स्विस प्रशिक्षकहरूलाई भेटेपछि फुन्जोले आफूलाई स्विट्जरल्यान्डमै प्रशिक्षणको व्यवस्था मिलाइदिन आग्रह गरिन्।
“नेपालमा त्यो ट्रेनिङ कहिलेकाहीँ मात्र हुने भएकोले मलाई आत्मविश्वास नै आउँदैन,” उनले भनिन्।
“लङ-लाइन रेस्क्यू मलाई दालभात खाएसरह होओस् भन्ने म चाहन्थेँ। त्यो भएर स्विट्जरल्यान्डमै आएर म अभ्यस्त हुन चाहन्छु, तर मसँग पैसा छैन भनेर भनेँ। पछि उहाँहरूले तीनचार महिनाका लागि स्कलरशिप नै दिनुभयो।”
त्यसबाहेक फुन्जोले स्की पनि सिकिन्। लाङटाङमा आयोजित एउटा प्रतिस्पर्धामा स्वर्ण पदक पनि जितिन्।
'सगरमाथामा दौडेकी होइन'
चुम उपत्यका र मनासलु क्षेत्रबाट सगरमाथाको आरोहण गर्ने उनी ‘प्रथम महिला एवं आमा’ हुन् भने उनले चो यु हिमालको आरोहण अक्सिजनबिनै गरेकी छन्।
“कीर्तिमान बनाउन भनेर मैले अक्सिजनबिना चो युको आरोहण गरेकी होइन, पैसा नभएर त्यसरी आरोहण गरेकी हुँ,” अभावका दिनमा गरेको आरोहण उनी सम्झिन्छिन्।
स्वभावले नै जस लिन नतम्सिने फुन्जोले आफ्नो पछिल्लो विश्व कीर्तिमानबारे पनि धेरै हर्षबढाइँ गरेको देखिन्न।
“मैले छुट्टै मेहनत गरेकी थिइनँ। धेरैले 'यसपालि तिमी सगरमाथामा दौडियौ कि क्या हो' भनिरहनुभएको छ। मैले दौडेर भएको होइन। बिस्तारै र निरन्तर गरेकोले भएको हो,” उनले सुनाइन्।
“तर म रेकर्ड नै बनाउँछु भनेर गएकी थिइनँ। अघिल्लो पटकभन्दा यसपालि निकै व्यवस्थित योजना थियो। सबै कुरा मिल्यो। मेरा गुरुहरू पनि निकै सहयोगी र अनुभवी हुनुहुन्थ्यो,” फुन्जोले थपिन्।
उनी आफ्नो कर्मलाई जस दिनभन्दा आफ्ना गुरु र साथीको सहयोगको प्रशंसा गर्न तम्सिन्छिन्।
यसपालि उनको आरोहण टोलीमा दुईजना अनुभवी शेर्पा पनि थिए : एकजना १७ पटक सगरमाथा आरोहण गरेका र अर्का छ पटक आरोहण गरेका शेर्पा।
तीस घण्टामा आरोहण सकिएला कि भन्ने उनलाई लागेको थियो, तर त्यसको आधा समयभन्दा पनि कम लाग्यो।
फुन्जोले आरोहण गर्ने बेला सगरमाथामा ‘ट्राफिम जाम’ अर्थात् आरोहीहरूको धेरै भिडभाड नहुँदो हो त अझ केही समय छोटिन्थ्यो कि भन्ने कतिपयको जिज्ञासा पनि सुनियो।
“त्यो त हो। किनभने चढ्ने बेला बाल्कोनी भनिने ठाउँमा हामीले एक घण्टा जति कुर्नुपर्यो। हामी ५० जनाको पछाडि थियौँ,” जबाफमा उनले भनिन्।
चुचुरोबाट ओर्लने क्रममा पनि आफ्नो टोलीले आधा घण्टासम्म कुर्नुपरेको उनले सुनाइन्।
तर त्यसलाई फुन्जोले अन्यथा लिइनन्। “सगरमाथा हो, संसारकै मान्छे आउने ठाउँ हो। अलिअलि केही परेन भने सुहाउँदो कुरै भएन नि। तर हाम्रो सबै राम्रो भयो,” हँसिलो मिजासमा कुरा गर्ने उनले आफ्नो धारणा यसरी राखिन्।
अर्को कीर्तिमानबारे के भन्छिन्
यसपछि फेरि 'कुनै कीर्तिमान बनाउने तपाईँको सोच छ कि' भन्ने प्रश्नमा उनी खुलेर हाँसिन्।
“म भविष्यबारे त्यति धेरै सोच्ने मान्छे होइन। अब काम पनि गर्नुपर्यो, म गाइड भएकोले त्यसैलाई अझ कसरी राम्रो बनाउने भन्ने छ। तर पनि केही अवसर आयो भने गर्छु नै।”
आउँदा दिनमा पथप्रदर्शकका रूपमै आफ्ना कामलाई निरन्तरता दिने उनले स्पष्ट पारिन्।
भनिन्छ सगरमाथाको सफल आरोहणका निम्ति धेरै पक्ष अनुकूल हुनुपर्छ। मौसमले साथ दिनुपर्छ; आरोहणका बेला अति भिडभाड हुनुभएन; चुस्त तयारी हुनुपर्छ र आरोहीलाई उसको भाग्यले पनि साथ दिनुपर्छ।
त्यसबारे फुन्जोलाई चाहिँ के लाग्छ? उनी भन्छिन्, “भाग्य पनि हो, तर भाग्यले मात्रै काम गर्दैन। तयारी पनि त्यहीअनुसार हुनुपर्यो।”
उनका अनुसार ती कुराका साथै 'म गर्छु' भन्ने आँट र त्यसका लागि हौसला दिने आफ्ना मान्छेको पनि उत्तिकै जरुरत पर्दोरहेछ।
गर्ने आँट फुन्जोसँगै छ भने आडभरोसा दिनका लागि उनकी साथीजस्ती छोरी र अभिभावकजस्ता दाइ सधैँ दाहिना छन्।
छोरी मामामाइजू (फुन्जोका दाइभाउजू) सँगै बसेर पढ्छिन्, जसका कारण छोरीको बारेमा उनले खासै चिन्ता लिनुपर्दैन। र, उनका लागि यो ठूलै सहयोग हो।
अर्कोतर्फ फुन्जोलाई उनका सपना पछ्याउन छोरी र दाइले निरन्तर हौसला पनि दिँदै आएका छन्।
“मेरो दाइ भन्नुहुन्छ- जे गर्ने हो, उमेर छँदै गर। भोलि गएर तिमीसँग टन्नै पैसा होला, तर उमेर गइसकेपछि के गर्न सक्छौ र,” दाइले दिने हौसलाबारे उनी भन्छिन्।
मामाभन्दा भान्जी (फुन्जोकी छोरी) उमेरमा कम छिन्। तर आमालाई हौसला दिन तेज र परिपक्व छिन्। उनी आमा फुन्जोलाई उनका सपना पूरा गर्न घचघच्याइरहन्छिन्।
“तिमीले मेरो बारेमा धेरै चिन्ता लिनुपर्दैन। बरु १२ कक्षासम्म मलाई पढाइदेऊ। बाँकी पढ्ने/गर्ने कुरा म आफैँ गर्छु,” १२ वर्षीया छोरीले गर्ने कुरा फुन्जोले सुनाइन्।
“ऊ त ठूलो मान्छेजस्तो कुरा गर्छे। उसका कुरा सुन्नुभयो भने तपाईँ छक्क पर्नुहुन्छ।”
एक पटक पाकिस्तान जान लाग्दा छोरीले ठट्यौली पारामा भनेको गम्भीर कुरा फुन्जो सम्झिन्छिन्।
“ऊ आएर मलाई भनी- हेर, तिमी त पाकिस्तान जान लागेकी छौ। [कथम्कदाचित्] तिमीलाई केही भयो अनि फर्केनौ र घरमा आएर हामीसँग कसैले फुन्जोले एक करोड रुपैयाँ तिर्नुपर्ने थियो, तपाईँहरू दिनूस् भनेमा हामीले के गर्ने?”
“त्यो भएर कसलाई कति दिनु छ र कोसँग कति लिनु छ। ती सबै लेखेर मात्र जाऊ,” छोरीको पाका कुरा सुनाउँदै फुन्जोले खित्का छोडिन्।
तर बाह्र वर्षकी छोरीमा यो स्तरको परिपक्वताले फुन्जोलाई पनि निर्भिक भएर आफ्ना सपना पछ्याउन र तिनलाई पूरा गर्न सहज बनाएको छ।
हिमाल चढ्न गइरहने मान्छेको घरमा यतिसम्म चाहिँ सुझबुझ हुनुपर्ने उनको ठम्याइ छ।
“गएपछि फर्केर आइन्छ कि आइन्न, थाहा हुन्न। मैले पनि छोरीलाई भन्ने गरेकी छु 'हिमाल चढ्दाचढ्दै मरेँ भने तिमीहरू नरुनू' किनकि केही नगरी मर्नुभन्दा केही गर्दागर्दै मर्नु राम्रो हो नि,” फुन्जो सगर्व सुनाउँछिन्।
“म संसारलाई देखाउन चाहन्छु मान्छेले प्रयास चाहिँ गर्नुपर्छ, सबै कुरा सम्भव हुन्छ। मलाई लाग्छ आरोहण गर्नु मेरो कर्म नै हो।”
उसो त हिमाल चढ्नु सजिलो काम होइन। तर फुन्जोका अनुसार आफैँले रोजेको काममा मान्छे रमाउन सक्नुपर्छ।
“निश्चित रूपमा हिमाल चढ्नु कठिन काम हो। तर त्यो कठिनाइ, गाह्रो हुने काम मैले आफैँले रोजेको हुँ, त्यस कारण त्यो काम गर्दा म रमाउँछु,” उनी सुनाउँछिन्।
हिमाल चढ्ने मानिसका लागि शारीरिक तन्दुरुस्ती महत्त्वपूर्ण हुन्छ। त्यही भएर पनि होला आरोहणमा नभएका बेला उनी हरेक दिनजसो कम्तीमा दुई घण्टा व्यायाम गर्छिन्।
आफूलाई चुस्तदुरुस्त राख्न त्यसलाई उनी जरुरी पनि ठान्छिन्, “जसरी हाम्रो शरीरलाई खाना चाहिन्छ। त्यसै गरी शरीरलाई पनि व्यायाम चाहिन्छ।”
शेर्पाका नजरमा फुन्जो
फुन्जो जस लिन तम्सिने खालकी नभए पनि उनले हासिल गरेको उपलब्धि उनकै मेहनत र लगावको नतिजा भएको उनले गुरु मानेका टेन्डी शेर्पा भन्छन्।
फुन्जोलाई मार्गदर्शन गरेका र सत्र पटक सगरमाथा आरोहण गरिसकेका टेन्डी फुन्जो पनि कोही शेर्पाभन्दा कम नभएकी बताउँछन्।
कीर्तिमान राख्ने विषय शेर्पा आरोहीको मात्र नभएको उल्लेख गर्दै उनले भने, “जोसँग दृढ इच्छाशक्ति हुन्छ, जसले सपना देख्छ उसैले कीर्तिमान बनाउने हो। फुन्जो हामी शेर्पाजस्तै हुन्।”
यसपालि फुन्जो संलग्न आरोहण टोलीको व्यवस्थापन गरेको ट्याग नेपाल एभरेस्ट एक्पिडिशन प्रालिका प्रबन्ध निर्देशक गोविन्द गुरुङ फुन्जोलाई परिस्थितिलाई राम्रोसँग बुझ्न सक्ने आरोहीको रूपमा चित्रित गर्छन्।
“टोलीको महत्त्व बुझ्ने उनी असल मान्छेका साथै राम्रो पथप्रदर्शक हुन्,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
फुन्जोले बनाएको कीर्तिमान “उनका लागि र सम्पूर्ण नेपालीका लागि एउटा गौरवको विषय” भएको गुरुङ बताउँछन्।
अधिकांश कीर्तिमान शेर्पा आरोहीका नाममा भए पनि गुरुङ भन्छन्, “आरोहणको विषय कुनै जाति विशेषसँग सम्बन्धित नभई मेहनत, दृढतासँग सम्बन्धित हो।”
यो कुरासँग फुन्जो पनि सहमत छिन्। गैरशेर्पा समुदायका भएका कारण आफूले कुनै प्रकारको उल्झन वा काखापाखा भोग्नु नपरेको उनी सुनाउँछिन्।
“हिमालले यो जाति, त्यो जाति, महिला वा पुरुष भनेर चिन्दैन। हिमालका लागि सबै बराबर छन्,” फुन्जो भन्छिन्।
कसैले कीर्तिमान तोडून्
आफ्नो सुरुवाती कीर्तिमानलाई जस्तै पछिल्लो कीर्तिमानलाई पनि कसैले तोडेमा आफू औधी खुसी हुने उनी बताउँछिन्।
तर विगत २१ वर्षदेखि हिमालमा पथप्रदर्शकका रूपमा काम गर्दै आएका टेन्डी शेर्पा फुन्जोको पछिल्लो कीर्तिमान तोड्न असम्भव नभए पनि त्यति सहज नहुने बताउँछन्।
“साढे चौध घण्टामा सगरमाथाको आरोहण गर्नु आफैँमा अद्भुत हो। कीर्तिमान बनाउनका लागि धेरै कुरा मिल्नुपर्छ : स्वस्थ हुनुपर्छ, राम्रो टोली र त्यसको सहयोग हुनुपर्छ। राम्रो मौसम हुनुपर्छ। ट्राफिक राम्रो हुनुपर्छ,” उनी भन्छन्।
“स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै मान्छेले कहिलेकाहीँ विभिन्न कारणले यस्तो कीर्तिमान बनाउन गाह्रो हुन्छ। मलाई लाग्छ १४ घण्टामा सफलतापूर्णक आरोहण गर्न सक्नु ठूलो कुरा हो।”
हुन त टेन्डी शेर्पा र फुन्जो लामा दुवैजना यो कीर्तिमान पनि एक दिन भङ्ग हुने सम्भावनालाई नकार्दैनन्। तर त्यो दिन ढिलोचाँडो कहिले आउला यसै भन्न सकिँदैन।
के थाहा उनकै छोरीले रेकर्ड बनाएपछि फोनमा “तिम्रो रेकर्ड अब मैले तोड्ने हो” भनेजस्तै न उनैले तोड्छिन् कि?
फुन्जोलाई आफ्नो कीर्तिमान छोरीले तोडे पनि, अरू कसैले तोडे पनि त्यो खुसीको दिन हुनेछ।
त्यसैले त उनी मुस्कुराउँदै भन्छिन्, “यदि कोही आउँछ र मेरो कीर्तिमान तोड्छ भने म साँच्चिकै धेरै खुसी हुनेछु।”
आफ्नो कीर्तिमान तोडिँदा कतिपयलाई आफूले पाएको कुरा गुमाएजस्तो हुन सक्छ। तर फुन्जोलाई त्यस्तो लाग्दैन।
“कसैको राम्रो कामलाई त अरूले पछ्याउने हो। मैले त एउटा बाटो खोलिदिएकी हुँ। यदि त्यो बाटोमा कोही हिँड्छ, मैले बनाएको कीर्तिमानलाई तोड्छ भने त्यो खुसीको कुरा हुने भयो नि,” फुन्जोले अगाडि भनिन्।
“बरु मैले गरेको अरूले गर्न चाहेन भने त्यो राम्रो काम थिएन कि भन्ने लाग्ला। त्यो भएर कसैले चाँडोभन्दा चाँडो मेरो रेकर्ड ब्रेक गरे भने म एकदम खुसी हुने छु।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।