तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुन तस्करी प्रकरणमा सीआईबीले गर्यो इन्टर्पोललाई पत्राचार
पछिल्लो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोललाई सहयोगका लागि पत्राचार गरेको सीआईबी प्रमुखले बीबीसीसँग पुष्टि गरेकी छन्।
पछिल्लो ६० किलो सुन तस्करी प्रकरणमा ‘ठूलै अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने’ अनुमान भइरहँदा सीआईबीले उक्त कदम चालेको हो।
करिब एक महिनाअघि भन्सार छली गरी ल्याइएको सुन बरामद प्रकरणबारे राजस्व अनुसन्धान विभागपछि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।
पछिल्लो तस्करी प्रकरणबारे सूक्ष्म अनुसन्धान भइरहेको भन्दै उसले कुनै सूचना, तथ्य वा प्रमाण भए उपलब्ध गराउन सर्वसाधारणमा अपील समेत गरेको छ।
सूचना वा जानकारीको स्रोतलाई गोप्य राखिने कुरामा सीआईबीले शुक्रवार एउटा विज्ञप्तिमार्फत् आश्वस्त समेत पार्न खोजेको देखिन्छ।
इन्टर्पोलको सहयोग किन आवश्यक?
इन्टर्पोल बेइजिङका दुईवटा सब-ब्यूरो (हङ्गकङ र मकाउ) रहेकोमा सीआईबीले उसमार्फत् हङ्गकङ सब-ब्यूरोबाट सहयोग मागेको हो।
प्रहरीका अनुसार साठी किलो सुन मोटरसाइकलको ब्रेक शूमा हङ्गकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पास भएर बाहिरएको थियो।
उक्त सुन तस्करी प्रकरणमा अन्तर्देशीय साठगाँठ देखिएकोले इन्टर्पोलसँग सहयोग मागिएको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य बताइन्।
“यो सुन तस्करी प्रकरणमा २/३ वटा देश जोडिएको देखियो। हामीले भारतीय अधिकारीहरूसँग पनि समन्वय गरिरहेका छौँ,” बज्राचार्यले बीबीसी न्यूज नेपालीसँग भनिन्।
सीआईबीले भारतको इन्टर्पोल न्याश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) सँग पनि सहयोग मागेको छ।
पटकपटक ठूलो परिमाणमा अवैध सुन बरामद गरेको नेपाल प्रहरीका अधिकारीहरूले मूलतः भारत लग्ने उद्देश्यले सुन तस्करी हुने गरेको बताउँदै आएका छन्।
सुन तस्करी प्रकरणमा हालसम्म विदेशीसहित २३ जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बीबीसी न्यूज नेपालीलाई बताए।
पछिल्लो सुन तस्करी प्रकरणबारे छानबिनका लागि आयोग गठन गर्ने दलहरूबीच सहमति भइसकेको छ।
त्यसअघि आयोग गठन गर्न सत्तारूढ दलहरू सहमत नहुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसद् अवरुद्ध गर्दै आएको थियो।
कस्तो अवस्थामा इन्टर्पोलको सहयोग चाहिन्छ?
आपराधिक घटनाको अनुसन्धानका क्रममा अपराधीबारे अर्को देशबाट कुनै सूचना/जानकारी लिन आवश्यक पर्दा प्रहरीले इन्टर्पोलसँग समन्वय गर्ने गर्छ।
“कुनै पनि आपराधिक घटनाबारे सूचना आदानप्रदानका लागि एकअर्को देशका प्रहरीबीच सहकार्य गर्ने यो एउटा च्यानल हो,” नेपालको इन्टर्पोल न्याश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) प्रमुख अनुपम शमशेर जबराले बीबीसी न्यूज नेपालीसँग भने।
“राजनीतिकसहित दुई/तीनवटा विषयबाहेक अरू अपराधका विषयमा सूचना आदानप्रदान हुन्छ,” उनले थपे।
इन्टर्पोलका अनुसार हाल उक्त सङ्गठनका १९५ देश सदस्यका रूपमा रहेका छन्। सदस्य राष्ट्रमा इन्टर्पोल न्याश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) हुने गर्छ।
आपराधिक विषयमा सूचना आदानप्रदानबाहेक फरार अपराधीको हकमा इन्टर्पोलमार्फत् सूचना जारी गर्ने अभ्यास पनि रहँदै आएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतका अनुसार अपराधको प्रकृति हेरी इन्टर्पोलसँग एकअर्का देशका प्रहरीहरूबीच सूचना आदानप्रदान हुने गर्छ।
साठी किलो सुन तस्करीको नालीबेली
अधिकारीहरूका अनुसार रेडी ट्रेड प्रालिले बाइकको १६० सेट ब्रेक शू आठवटा प्याकेटमा ल्याएको थियो जसको तौल १४५ किलो थियो।
गत असार ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार गोदाममा पुगेको त्यो सामान साउन २ गते भन्सार पास भएर निस्किएको थियो।
लगत्तै राजस्व अनुसन्धान विभागको टोलीले सुनसँगै ट्याक्सीचालक सहित केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।
भन्सार कार्यालयका अधिकारीहरूका अनुसार ३२० थान ब्रेक शूमा सुन लुकाएको पाइएको थियो।
शुरूमा एक क्विन्टल सुन तस्करी भएर आएको भनिए पनि पछि नेपाल राष्ट्र ब्याङ्कले गालेर तौल लिँदा ६० किलो रहेको पाइएको थियो।
राजस्व अनुसन्धान विभागले बरामद गरेर सुन बुझाएको हप्तौँपछि त्यसलाई जोखेर वास्तविक परिणामबारे विवरण सार्वजनिक गरिएको थियो।