आहा रारा पोखरा गोल्ड कपमा 'अभागी' त्रिभुवन आर्मी क्लबको ऐतिहासिक उपाधि

त्रिभुवन आर्मी क्लब

तस्बिर स्रोत, RSS

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

पोखरामा फुटबल खेलेर नेपाली सेनाले पहिलोपटक सम्झनलायक इतिहास बनायो।

आहा रारा पोखरा गोल्ड कपमा २०८० सालअघिका २२औँ शृङ्खला सम्ममा चार पटक फाइनलमा पुगे तापनि सेनाको त्रिभुवन आर्मी क्लब उपाधि विमुख हुँदा 'बिर्सनलायक' पीडा खेपिरहेको थियो।

पाँचपटक उपाधि विजेता थ्री स्टार क्लबलाई ३-० ले हराएर शनिवार सेनाले इतिहास बनाएपछि कप्तान भरत खवासले "इतिहास बदलेको" रूपमा अर्थ्याउँछन्।

हुन पनि आहा रारा गोल्ड कप नेपाली फुटबलमा सबै टोलीका लागि एउटा कोशेढुङ्गा मानिन्छ।

गतवर्षको उपाधि जितेको सङ्कटाका सल्यान खड्कीले टोली 'पूर्ण' हुने एउटा मानक पोखराको यस उपाधिलाई मान्छन्।

२०७७ र २०७९ सालमा गरेर दुईपटक उपाधि हात पारेको क्लबका खड्की भन्छन्: "मोफसलमा अरू जुनसुकै प्रतियोगिता जिते पनि आहा रारा गोल्ड कप नजितेसम्म त्यो अपूरो हुन्छ।"

देशभर दर्जनौँ थुप्रै गोल्ड कप हुने गरे तापनि निरन्तरता र सम्पूर्ण नियमहरू पूरा गर्ने प्रतियोगिताको रूपमा आहा राराको छवि छ।

आहा रारा गोल्ड कपको 'उपाधिको स्वाद' बारे थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई सोध्नुपर्छ।

यी दुई टोलीबिचको उपाधि जित्ने दौडमा होडबाजी नै हुने गर्दथ्यो।

यतिसम्मकी पोखरा रङ्गशालामा उपस्थिति हुने दर्शकहरूको लागि पनि तिनीहरूलाई हेर्ने बानीझैँ परिसकेको थियो।

मनाङ मर्स्याङ्दीले सर्वाधिक ६ पटक र यसपटकको उपविजेता थ्री स्टारले पाँचपटक यस उपाधि जितेका छन्।

अन्य क्लबमा जस्तो आर्थिक दबाब नहुने, नियमित चक्रबाट खेलाडीहरू जुटिरहने व्यवस्थित र विभागिय टोली भइकन पनि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई यस क्षणका लागि दुई दशक बढी समय लाग्यो।

अभागी विगत

पोखरा

विसं २०६३ मा त्रिभुवन आर्मी क्लब राष्ट्रिय लीगको उपाधि नजिक पुगिसकेको थियो। उपाधिको लागि उसलाई बराबरी नै काफी थियो।

तर दुर्भाग्य टोली फाइनलमा नेपाल पुलिस क्लबसँग टिक्न सकेन। 

यस्ता कयौँ घटना छन् जहाँ सेनाले ठूल्ठूला उपाधिको नजिक पुगेर पनि च्याम्पियन बन्न सकेको छैन।

विसं २०७७ को शहीद स्मारक ए डिभिजन लिगमा पनि सेनाको घाउ त्यसरी नै बल्झियो।

उक्त प्रतिस्पर्धामा यसपालि प्रतिद्वन्द्वी थियो मच्छिन्द्र क्लब। त्यसबेला समेत सेनालाई बराबरी पर्याप्त थियो भने मच्छिन्द्रले खेल जित्नै पर्थ्यो। 

तर सेनाले यसपटक समेत बराबरीकै लागि समेत चुक्यो। बरु आफ्नै खेलाडी विकास तामाङले आत्मघाती गोल गर्न पुगेपछि टोली हार सहित लिग च्याम्पियन बन्न पाएन।

चरम निराशा टोलीमा छायो।

२०७८ को लीगको कथा पनि उस्तै छ।

टोलीले ५ जित र ८ बराबरी सहित अपराजित भएर उपाधि दौडमा त आयो। तर फेरी पनि मच्छिन्द्र बाधक हुँदा टोली उपविजेतमा नै सीमित हुन पुग्यो।

अब आहा रारा पोखरा गोल्ड कपको कुरा गरौँ।

१० वर्षबिचमा नेपाली सेना चारपटक पोखरा रंगशालामा फाइनल खेल्यो तर चारै पटक हार मात्र उसको भागमा पर्‍यो।

२०६५ र २०६६ सालमा समेत सेना लगातार दुई पटक फाइनल पुगेको थियो। उसलाई थप प्रतिष्ठाको विषय बन्नेगरी दुवै पटक नेपाल प्रहरीले उपाधि खोस्यो।

२०७२ को फाइनलमा सेनाको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लब थियो। त्यसबेला मनाङले उपाधि सङ्ख्या थपिरहँदा सेनाको भागमा हारको ह्याट्रिक परेको थियो।

पछिल्लो समय २०७५ सालमा भने सेना र थ्री स्टार नै फाइनलमा आमने सामने भएका थिए।

त्यति बेलाको कडा टक्कर पेनाल्टी शुटआउटसम्म पुग्यो। तर पनि उपाधि भने थ्री स्टारकै पोल्टामा गयो।

तोडियो जिङक्स

पोखरा

बल्ल बल्ल सेनाले यसपालि फाइनल हारको 'जिङक्स' अर्थात् मनोवैज्ञानिक दबाब तोड्न सफल भएको छ।

थ्री स्टारलाई नै फाइनलमा ३-० गोल अन्तरले पराजित गरेर पुरानो हारको गतिलो जवाफ दिन सकेको क्लबका खेलाडीहरू अनौपचारिक कुराकानीमा बताउँछन्।

रमाइलो तथ्य के छ भने त्यसबेला थ्री स्टारलाई उपाधि दिलाउने प्रशिक्षक मेघराज केसी यसपालि त्रिभुवन आर्मी क्लबका प्रशिक्षकको भूमिकामा थिए।

यो जितले मेघराजले प्रशिक्षकका रूपमा आहा रारा गोल्ड कपमा ह्याट्रिक गरेका छन्।

दुई पटक थ्री स्टारबाट र एक पटक त्रिभुवन आर्मी क्लबको जितमा उनको 'लगन' र 'लक' दुवै जोडिएको छ।

पाँचौँ प्रयासपछि पाएको जितको उन्माद बेग्लै खालको हुने नै भयो।

कप्तान भरत खवासले भने, "टोलीमा यसपालि जित्ने उत्कट चाहना थियो। जीवनमा सधैँ हार हुन्न भन्ने हामीलाई विश्वास थियो। हामीले इतिहास बदल्यौँ।"

पराजित थ्री स्टारको आफनै पीडा

फुटबल

त्यो होलीको दिन थियो।

२०६३ सालको आहा गोल्डकप फाइनलमा थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब भिडिरहेका थिए।

त्यो गजबको फाइनल खेल थियो।

जति खेर खेलाडीले गोल गर्थे त्यसबेला दर्शकहरू गोल गर्ने खेलाडीलाई रङ्ग दलेर खुसी मनाउँथेँ।

अहिलेजस्तो पोखरा रङ्गशालाको विशाल संरचना नबनिसकेको त्यसबेलाको रौनक अर्कै थियो।

त्यसबेला दर्शकहरू मैदानको लाइनमा उभिएका हुन्थे।

होलीको रङ्गमा रङ्गिँदै खेलिएको फाइनलमा थ्री स्टारले मनाङलाई पराजित गर्दै उपाधिको अनुपम स्वाद चाखेको थियो।

त्यस्तो स्वादको बानी परिसकेको थ्री स्टार यसपालि सेनासँग पराजित बन्यो। यस हारसँगै मनाङ मर्स्याङ्दी क्लबले जितेको ६ उपाधिको बराबरी गर्नबाट पनि थ्री स्टार चुक्यो।

त्यतिमात्र होइन, पछिल्ला वर्षहरूमा शहीद स्मारक लिगमा औसत प्रदर्शन गरेर धरमराएको पुरानो छवि सुधार्ने थ्री स्टारको प्रयासमा सेना बाधक बन्न पुग्यो।

थ्री स्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा गरी पाँच पटक उपाधि जितेको छ।

त्यो पीडालाई प्रशिक्षक विक्रम लामाले यसरी पोखे: "यो नयाँ युवा टोली हो। यो हारले अर्को खेल जित्न सिकाउनेछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।