रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित, रवि लामिछानेबारे के भने

मुकुल ढकाल

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई सात दिनका लागि निलम्बन गर्ने "सर्वसम्मत निर्णय" गरिएको जनाएको छ।

उनलाई "पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले" निलम्बन गरिएको रास्वपाले जनाएको हो।

बुधवार मध्यरातपछि १ बजे पार्टी सहप्रवक्ता मनीष झाले सामाजिक सञ्जाल 'एक्स'मा सार्वजिनक गरेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णयसम्बन्धी विवरणमा उक्त निर्णय भएको उल्लेख छ।

त्यसमा भनिएको छ, "केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकोले निजलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगले तत्काल गरेको सिफारिस (प.सं. ०८०।८१, च.नं. ११३) बमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय गरियो।"

"साथै निजले गर्नुभएको पार्टी अनुशासन विपरीतका गतिविधिका सम्बन्धमा प्रतिवेदनसहित यथोचित कारबाहीको सिफारिस केन्द्रीय समितिमा पेस गर्ने निर्देशन केन्द्रीय अनुशासन आयोगलाई दिने समेत निर्णय गरियो।"

उनलाई निलम्बन गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्री र कार्यवाहक प्रवक्ता पनि तोकेको त्यसमा उल्लेख छ।

उक्त विवरणका अनुसार सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनीष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ।

रास्वपा बैठक

केन्द्रीय समितिमा छलफल

झाले सार्वजनिक गरेको विवरणअनुसार बुधवार बसेको केन्द्रीय समितिको बैठको मुख्य विषयवस्तु नै पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल रहेको थियो।

महामन्त्री ढकालले बैठकको सुरुमै उक्त बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राखेका थिए।

त्यसमा आफ्नो मन्जुरी रहेको भन्दै सभापति रवि लामिछानेले बैठकमा उपस्थित सदस्यहरूको मत बुझ्न चाहेको त्यसमा उल्लेख छ।

"सो अवसरमा उपस्थित सम्पूर्ण सदस्यहरूले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्नु भएकाले सिङ्गो बैठकले प्रत्क्षय प्रसारण नगर्ने निर्णय गरेको छ," त्यसमा भनिएको छ।

प्रत्यक्ष प्रसारणको माग पूरा नभएपछि ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको भन्दै मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका थिए।

त्यसपछि सहमहामन्त्री बुर्लाकोटीले महामन्त्रीको समीक्षा प्रतिवेदन वाचन गरेको झाले जनाएका छन्।

झाद्वारा सार्वजनिक विवरणमा भनिएको छ, "बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएता पनि पार्टी सभापतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न पुन: प्रस्ताव गर्नुभयो।"

"तदनुरूप महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो।"

उक्त विवरणमा भनिएको छ, "बैठकमा सबैले महामन्त्रीको समीक्षा प्रतिवेदन तथा पार्टी सञ्चालनका विविध पक्षहरूमा प्रश्नसहित आआफ्नो अभिमत राख्नुभएको थियो।"

"उक्त अभिमतमा महामन्त्रीको प्रतिक्रिया माग भएकोमा उहाँले जबाफ तथा प्रतिक्रिया नदिई अमर्यादित, अशोभनीय तथा अनुशासनहीन ढङ्गले बैठकबाट बाहिरिनुभएकोप्रति केन्द्रीय समिति खेद प्रकट गर्दछ।"

निलम्बनको निर्णयअघि बैठकमा पार्टीको अनुशासन आयोगका प्रमुखलाई पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाइएको थियो।

उनीसँग परामर्श गरेर ढकाललाई निलम्बन गर्ने निर्णय गरिएको झाले जनाएका छन्।

यसैबीच पार्टी उपसभापति डोलप्रसाद अर्यालले निलम्बनका सम्बन्धमा पार्टीको केन्द्रीय अनुशासन आयोगलाई बोधार्थ दिँदै पठाएको पत्र पनि सार्वजनिक भएको छ।

त्यसमा पनि उनलाई "पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले" निलम्बन गरिएको उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टी

तस्बिर स्रोत, RSP

मुकुल ढकाल के भन्छन्?

बैठकबाट निस्किएपछि महामन्त्री ढकालले सञ्चारकर्मीहरूसँग कुराकानी गरेका थिए।

त्यस क्रममा उनले सभापति रवि लामिछानेको आलोचना गर्नुका साथै आफूलाई नियोजित रूपमा बैठकमा "दुर्व्यवहार गरिएको" दाबी गरे।

बैठक 'लाइभ' नगर्नका लागि पनि नियोजित रूपमा केन्द्रीय सदस्यहरूको मत लिने काम गरिएको उनको आरोप छ।

उनले अन्य दलको उदाहरण दिँदै ती दलभित्र पनि पार्टी नेताविरुद्ध मत भएको र रास्वमा पनि रहेको भन्दै सभापति नै सही भन्ने नहुने बताए।

मुकुल ढकाल

तस्बिर स्रोत, Facebook/Mukul Dhakal

उनले भने, "रवि लामिछानेले पनि प्रचण्ड, ओली र देउवाजस्तै प्रवृत्ति देखाउनुहुन्छ भने रवि प्रवृत्तिको विरोध पनि गर्नैपर्छ। त्यो गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्च्याउन गरेको हुँ। मैले नेताबाट राजनेता बनाउन गरेको हो।"

"त्यसको अनुभूति उहाँले गर्न सक्नुभएन। मेरो साथ र सहयोगलाई आत्मसात् गर्न सक्नुभएन।"

उनले सरकारमा गएपछि पार्टीप्रति जनताको लगाव कम भएको कुरालाई स्वीकार गरेर अघि बढ्नुपर्नेमा "मन्त्रीहरूले आफ्नो अक्षमताको भारी महामन्त्रीको रूपमा आफूलाई बोकाउन खोजेको" आरोप पनि लगाए।

सञ्चारकर्मीसँग बोल्दै उनले सभापति लामिछानेप्रति तिखो टिप्पणी पनि गरेका थिए।

ढकालले भने, "गोरखा मिडियाको प्रबन्ध निर्देशक र रास्वपाको महामन्त्री उस्तै पद हो। एउटै मानक हो। उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जीबी राई दोषी, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषी महामन्त्री भन्ने आयो।"

"जब पत्रकार हुनुहुन्थ्यो, नेता दोषी। जब नेता हुनुहुन्छ, पत्रकार दोषी। जब प्रतिपक्षमा हुनुहुन्थ्यो, सत्तापक्ष दोषी। जब सत्तापक्ष हुनुहुन्छ, प्रतिपक्ष दोषी?"

उनले आफूले झूटो नबोलेको भन्दै त्यसको जाँच गराउन पनि माग गरेका छन्।

त्यस्तै पार्टीको अवस्था बिग्रिँदै गएको भन्दै त्यसका लागि शक्तिमा भएकाहरू जिम्मेवार रहेको र आफ्नो बराबरको जिम्मेवारी लिन आफू पनि तयार रहेको बताए।

उनले रवि लामिछानेको शैलीले देश नबन्ने भन्दै उनले गृहमन्त्रीका रूपमा गरेका कामप्रति पनि असन्तुष्टि व्यक्त गर्दै विभिन्न आरोपहरू लगाएका छन्।

ढकालले भने, "… नेपाल सरकारका दुई आईजीपी सशस्त्र र नेपाल प्रहरीको, गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ। उहाँहरूसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुपर्‍यो।"

"एक दिनका लागि एआईजी बढुवा गर्दा आईजीलाई दोष थोपर्नुभएको छ। डीएसपी, एसपी साराको बढुवामा 'डमी आईजी'को रूपमा परिचालन गरेर सबै आफूले गर्नुभएको छ।"

ढकालले रवि लामिछानेको आलोचना गरेका छन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, ढकालले रवि लामिछानेको आलोचना गरेका छन्

"बाहिर आईजीलाई दोष दिनुभएको छ। आज पनि महामन्त्रीलाई दोषारोपण गरेर आफ्नो अक्षमता ढाकछोप गर्न खोज्नुभयो, त्यो आपत्तिजनक छ। उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भने जस्तो भयो।"

ढकालले बताएअनुसार बैठकमा सभापति लामिछाने र उपसभापतिहरू डोलप्रसाद अर्याल अनि स्वर्णिम वाग्लेले उनलाई "आजबाट महामन्त्री मान्दैनौँ" भनेका थिए।

उनले आफूलाई पार्टीको चिन्ता लागेको पनि बताएका छन्।

ढकालले भने, "एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्‍यो, त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दै छ। कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ? मलाई पार्टीको चिन्ता छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।