वायु निकै विषाक्त हुन्छ तर भारतमा प्रदूषणको स्तर कहिल्यै ५०० 'नाघ्दैन'

दिल्लीस्थित इन्डिया गेटनजिकै मास्क लगाएर वायु प्रदूषण नियन्त्रण गर्न माग गर्दै उभिएका युवाहरू

तस्बिर स्रोत, Getty Images

    • Author, निकिता यादव
    • Role, बीबीसी न्यूज दिल्ली

उत्तर भारतका करोडौँ मानिसहरूका निम्ति नोभेम्बर महिनाको हावा नै खरानी मिसिएको जस्तो लाग्छ, आकाश धुम्म हुन्छ अनि बाहिर निस्कनै पनि चुनौतीपूर्ण हुने गर्छ।

धेरैका लागि बिहान उठ्नेबित्तिकै पहिलो काम भनेको वायुको गुणस्तर कस्तो रहेछ भनेर बुझ्नु हुने गर्छ। तर त्यसको परिणाम चाहिँ तपाईँले कुन मनिटर प्रयोग गर्नुहुन्छ भन्नेमा भर पर्छ।

सरकारले अघि सारेका 'सफर' र 'समीर'जस्ता एपहरूमा प्रदूषणको उच्च स्तर ५०० मात्र हुन्छ – भारतको एअर क्वालिटी इन्डेक्स (एक्यूआई)को माथिल्लो बिन्दु। यो सूचकाङ्कले पीएम२.५, पीएम१०, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोक्साइड र ओजोनजस्ता प्रदूषकहरू नापेर एउटा अङ्क दिएको हुन्छ।

तर आईक्यूएअरजस्ता निजी तथा अन्तर्राष्ट्रियम ट्र्याकरहरूले नापेको एक्यूआईको स्तर त्योभन्दा निकै बढी देखिन्छ – धेरै जसो ६०० भन्दा माथि अनि कहिलेकाहीँ त १,००० भन्दा पनि बढी।

यो फरकले हरेक वर्ष मानिसहरूको मनमा प्रश्न उब्जन्छ: कुन आँकडालाई विश्वास गर्ने? अनि किन भारतको आधिकारिक विवरणमा वायु गुणस्तर ५०० विन्दुभन्दा पनि खस्किएको देखाइँदैन?

कुनलाई विश्वास गर्ने?

धुम्म वातावरणमा रेलवेको पटरी क्रस गर्दै एक महिला

तस्बिर स्रोत, Hindustan Times via Getty Images

तस्बिरको क्याप्शन, भारतमा आधिकारिक आँकडामा देखिएभन्दा धेरै वायु प्रदूषण हुने गरेको बताइन्छ

भारतको आधिकारिक वायु गुणस्तर स्केलअनुसार २०० बिन्दुभन्दा माथिको अवस्थामा लामो समय बस्दा श्वासप्रश्वासमा कठिनाइ उत्पन्न हुन्छ।

त्यस्तै ४०० भन्दा माथि अनि ५०० बिन्दुसम्मको स्थितिलाई 'गम्भीर' मानिन्छ र यसले पहिल्यैदेखि बिरामीहरूलाई गम्भीर असर पर्ने अनि स्वस्थ्य मानिसहरूलाई समेत असर पर्ने भनिएको छ।

यो स्केलमा ५०० भन्दा माथिको अवस्था भने उल्लेख छैन – जुन सीमा करिब एक दशकअघि न्याश्नल एअर क्वालिटी इन्डेक्स सुरु गर्दा तोकिएको थियो।

उसो भए यो माथिल्लो सीमा किन तोकियो त?

"सबभन्दा खराब बिन्दुमा पुगिसकिएकाले त्यसभन्दा जति माथि गए पनि त्यसले शरीरमा पार्ने असर उही हुने हो भन्ने ठानियो," सफरका संस्थापक निर्देशक गुफ्रान बेगले भने।

सुरुमा मानिसहरू नआत्तिऊन् भनेर पनि ५०० को उच्च सीमा तोकिएको उनले स्वीकार गरे।

तर यो शैलीका कारण डेटा स्थिर भइदिन्छ। अर्थात् ५०० भन्दा माथि जति पुगे पनि आधिकारिक मनिटरहरूमा देखिँदैन।

"अन्तर्राष्ट्रिय निकाय तथा पोर्टलहरूले त्यस्ता सीमा निर्धारण गरेका हुँदैनन्," बेगले भने। "त्यसैले तिनमा हामी निकै उच्च अङ्कहरू देख्छौँ।"

यसबारे प्रतिक्रियाका लागि बीबीसीले भारतको प्रदूषण नियन्त्रण बोर्डसँग सम्पर्क गरेको छ।

व्याख्यामा पनि फरक

वायु प्रदूषण स्तर नाप्ने यन्त्र
तस्बिरको क्याप्शन, भारतको प्रदूषण स्तरलाई डब्ल्यूचएओ वा अमेरिकी मापदण्डसँग तुलना गर्नु सही नहुने बताइन्छ

कृत्रिम रूपमा थोपरिएको उच्च सीमाबाहेक खतरनाक वायुको व्याख्यामा पनि भिन्नता छन्।

उदाहरणका लागि, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पीएम२.५ – वायुमा रहने २.५ माइक्रोमिटरभन्दा साना कण - को स्तरको हकमा २४ घण्टाको अवधिमा एक घनमिटर वायुमा १५ माइक्रोग्रामभन्दा धेरै परिमाणमा पाइएको खण्डमा खतरनाक मान्छ। तर भारतले त्यो सीमालाई ६० माइक्रोग्राम राखेको छ।

विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय स्तरमा एक्यूआईको कुनै एक सर्वमान्य सूत्र छैन। अमेरिका, चीन र युरोपियन युनियनले प्रदूषणको स्तर नाप्न आआफ्नै मापदण्ड प्रयोग गर्छन्।

"डब्ल्यूएचओले समग्र मापदण्ड दिएको छ र हरेक देशले त्यसमा अनुकूलन गरेर स्थानीय वातावरण र मौसम अनुसारका आफ्ना सूचकाङ्क बनाएका छन्," बेगले भने। अर्थात् भारतको एक्यूआईलाई डब्ल्यूएचओ वा अमेरिकी मापदण्डसँग तुलना गर्नु सही नहुन सक्छ।

अनि नाप्ने यन्त्रहरू पनि फरकफरक छन्।

मास्क लगाएका दुई युवती सडकमा हिँड्दै

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, बाहिर निस्कँदा मास्क लगाउन डाक्टरहरूले सुझाव दिने गर्छन्

भारतको प्रदूषण नियन्त्रण बोर्डले बीटा अटेनुएशन मनिटर (बीएएम) प्रयोग गर्छ। त्यसले वायुमा भएका कणहरूलाई भौतिक रूपमै नाप्छ।

तर आईक्यूएअरजस्ता पोर्टलले सेन्सरमा आधारित मनिटरमा भर गर्ने गरेको भारतको प्रदूषण नियन्त्रण बोर्डका पूर्व अधिकारी एवं वैज्ञानिक अभिजित पाठकले बताए।

सेन्सरमा आधारित मनिटरहरूले वायुमा तैरिरहेका कणलाई लेजर स्क्याटरिङ तथा इलेक्ट्रोमेकानिकल विधि प्रयोग गरेर अनुमान गर्छन्।

"सेन्सर भनेको भिन्नै किसिमको उपकरण हो र हरेक पटक यसलाई क्यालिब्रेट गर्न सकिन्न," पाठकले भने। उनका अनुसार सेन्सरमा आधारित मनिटरलाई भारत सरकारले हालसम्म स्वीकृति दिइसकेको छैन।

समीक्षा जरुरी

उनका अनुसार भारतको वायु गुणस्तरको मापदण्डलाई सन् २००९ यता विस्तृत समीक्षा गरिएको छैन। उनी तथा अन्य वातावरण वैज्ञानिक तथा अभियानकर्मीहरूले पछिल्ला प्रविधिका आधारमा स्केललाई 'रिक्यालिब्रेट' गर्न माग गरिरहेका छन्।

"यदि हामी सेन्सरमा आधारित डेटा समेट्न चाहन्छौँ भने राष्ट्रिय वायु गुणस्तर सूचकाङ्कलाई पनि समीक्षा गर्नु जरुरी छ," उनले भने।

"पछिल्ला अध्ययनहरूले प्रदूषणको स्तर जति माथि पुग्यो स्वास्थ्य समस्याका लक्षण झन्झन् बिग्रँदै जाने देखाएकाले" अब माथिल्लो सीमा हटाउनु पनि महत्त्वपूर्ण भएको बेगले बताए।

अन्त्यमा भारतमा एक्यूआईको सूचकाङ्क ५०० मा पुगेर रोकिन्छ किनभने यहाँको प्रणालीले त्यसलाई त्यही बिन्दुमा रोकिदिन्छ। त्यसको अर्थ वायु प्रदूषण त्यति मात्र छ भन्ने कदापि होइन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।