'फरएभर केमिकल्स': ठूलो वातावरणीय सङ्कट ल्याउने यी हानीकारक रसायन के हुन्?

एकजना पुरुष हरियो वाटरप्रूफ ज्याकेट लगाएर र झोला बोकेर परिरहेको पानीमा उभिएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पीएफएएस - अथवा 'फरएभर केमिकल्स' - कैयौँ अरू वस्तु सँगसँगै हामीले लगाउने वाटरप्रूफ लुगाहरूमा पनि हुन सक्छन्
    • Author, अमीर अहमद
    • Role, बीबीसी विश्व सेवा

आधुनिक भान्छामा खाना पकाउन प्रयोग हुने 'ननस्टिक फ्राइङ प्यान', खाना बोक्ने बट्टादेखि पानीले नभिज्ने वाटरप्रूफ लुगा र स्मार्ट घडीसम्म हामीले दैनिक प्रयोग गर्ने यी केही उत्पादनहरू हुन् जसमा पीएफएएस अथवा 'फरएभर केमिकल्स' (धेरै लामो समय टिक्ने रासायनिक पदार्थ) हुन्छन्।

टिकाउपनका लागि कुनै बेला असाध्यै महत्त्व दिइएका यस्ता मानव निर्मित रासायनिक पदार्थबाट प्राकृतिक वातावरण र हाम्रो स्वास्थ्यमा हुने खतराका बारे अहिले चिन्ता बढिरहेको छ।

सिड्नी विश्वविद्यालयका चिकित्सा एवं स्वास्थ्य सङ्कायमा वरिष्ठ अनुसन्धान फेलो डा. निकोलस चार्टर्सले यसलाई हाम्रो पुस्ताको "सबभन्दा ठूलो मानवीय तथा पर्यावरणीय सङ्कट" भनेका छन्।

यी रासायनिक पदार्थले हाम्रो हावा, पानी र माटो प्रदूषित बनाउका छन् र यिनलाई मानवमा क्यान्सर र प्रजनन सम्बन्धी कुरासँग पनि जोडेर हेर्ने गरिएको छ।

यी पदार्थले गर्ने सम्भावित हानिबारे बुझ्दै जाँदा पीएफएएसलाई प्रतिबन्ध लगाउनुपर्ने माग संसारभर बढ्दै गइरहेको छ। सरकारहरूले के गरिरहेका छन् र दैनिक जीवनमा यस्ता पदार्थ प्रयोग गर्नबाट कसरी बच्न सकिन्छ?

हामी तिनलाई किन 'फरएभर केमिकल्स' भन्छौँ

लाइन मिलाएर राखिएका पानीका निला बिर्का भएका बोतल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फरएभर केमिकल्स प्लास्टिक बोतल र भाँडाहरूमा पनि पाउन सकिन्छ

पीएफएएस अथवा 'पर एन्ड पोलीफ्लोरोअल्काइल सबस्ट्यान्सेस' भनेको १० हजार किसिमका सिन्थेटिक रासायनिक पदार्थ हुन्। पानी, दाग तथा गर्मीप्रति प्रतिरोधी हुने वा खिया लागेर क्षय नहुने भएकाले पीएफएएस प्रयोग गर्ने गरिन्छ।

यी प्राकृतिक रूपमा नष्ट नहुने भएकाले यिनलाई 'फरएभर केमिकल्स' भनेर चिनिन्छ। सन् १९३८ मा टेफ्लोन भनिने पदार्थको अन्वेषण भए सँगै यी अस्तित्वमा आएका हुन्। टेफ्लोन धेरैजसो भाँडाहरूका सतहलाई पकाएको खानेकुरा नटाँस्सिने 'ननस्टिक' बनाउन प्रयोग गर्ने गरिन्छ।

डा. चार्टर्स भन्छन्, " दशकौँ वा सयौँ वर्ष लगाएर मात्र ती टुक्रिन थाल्छन्।"

बढ्दो प्रमाणहरूले देखाए अनुसार यी रासायनिक पदार्थहरू संसारभरका प्लास्टिकका भाँडामा र बोतलहरूमा पाइन्छन्। यी पर्यावरणमा घुलित हुन सक्छन् र कृषि पदार्थ तथा खाने पानीमा घुलित हुन सक्छन् । यी पदार्थ धुलोका कणमा पनि पाइन्छन्।

यिनलाई हावा वा पानीले यता उता पुर्‍याउन सक्ने भएकाले यिनको लामो समयसम्म प्रदूषण गर्ने चरित्र अझ बढी हानिकारक प्रतीत हुन्छन्।

गत वर्ष अस्ट्रेलियाका न्यू साउथ वेल्स विश्वविद्यालयका अनुसन्धानकर्ताले संसारभरका स्रोतमा पीएफएएस मापनको विश्लेषण गरेका थिए। त्यसमा सरकारी रिपोर्ट, डेटाबेसहरू र समकक्षीहरूबाट समीक्षा गरिएको लेखहरू पनि हेरिएको थियो। त्यसमा २० वर्षको समयमा ४५ हजार भन्दा बढी डेटा हेरिएको थियो।

उनीहरूको निष्कर्ष छ, "विश्वभरको भूमिगत पानीको ठूलो अंशमा पीएफएएसको मात्रा अन्तर्राष्ट्रिय सुझाव तथा नियमनको मापदण्डभन्दा बढी पाइएको छ र भविष्यमा पीएफएएसले पर्यावरणमा पार्ने समस्या वा चाप अहिलेसम्म निकै कम आँकिएको छ।"

हामीले अहिले मात्रै त्यसबारे किन थाहा पाइरहेका छौँ ?

रोबर्ट बिलट तीनवटा माइक्रोफोनपछाडि उभिइरहेका छन्। उनका कपाल फुलेका छन् । उनले रातो र सेतो धर्कावाला टाइ, सेतो शर्ट र कालो कोट लगाएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, न्यायाधिवक्ता रोबर्ट बिलट डार्क वाटर फिल्मका लागि वास्तविक जीवनका प्रेरक व्यक्ति थिए उनको लामो करिअरमा उनले ठूल्ठूला अमेरिकी कम्पनीमा प्रयोग भएको पीएफएएसको खुलासा गर्ने गरेका थिए

सन् १९७० को दशकदेखि पीएफएएसमध्ये केही सास लिँदा या निल्दा तिनको सम्भाव्य विषाक्तताबारे अहिले जागरूकता बढेको छ। तर पीएफएएसका मुख्य उत्पादकहरूमाथि उनीहरूले विज्ञान र नियमनलाई प्रभावित पार्ने कोसिस गरेको तथा हानी देखाउने किसिमका अनुसन्धानलाई दबाएको लगायतका आरोप लाग्ने गरेको छ।

सन् २०१९ को फिल्म डार्क वाटर्सले यो मुद्दालाई आम मानिसकहाँ पुर्‍याइदिएको छ। यो फिल्ममा डूपोन्ट नामको रासायनिक पदार्थ उत्पादक सङ्घ र ओहायोका एक सहरका बासिन्दाहरूको वास्तविक जीवनमा आधारित कानुनी लडाइँ देखाइएको छ।

इङ्गल्यान्डमा पनि गत वर्ष बेन्थम नर्थ योर्कशरका बासिन्दाले 'अङ्गस फायर' नामको कम्पनीविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरे। स्थानीय कम्पनी अङ्गस फायरले आगो निभाउने वस्तु उत्पादन गर्छ।

उनीहरूले फोममा भएको पीएफएएस माटो र जमिनमुनिको पानीमा चुहिएर घुलित भएको र स्थानीय बासिन्दाको स्वास्थ्यमा सम्भावित खतरा पुर्‍याएको भन्ने दाबी गरेका छन्। अहिले उनीहरूको शरीरबाट रगत निकालेर जाँच्ने कार्य भइरहेको छ।

सन् २०२४को सुरुतिर छापिएको एक रिपोर्टमा ३००० जनसङ्ख्या भएको बेन्थममा यूके भरिमा नै सबभन्दा धेरै पीएफएएसहरू पाइएको भन्ने उल्लेख छ।

क्लीनर बेन्थम क्याम्पेन ग्रुपका अध्यक्ष तथा बेन्थमका बासिन्दा म्याट यङले भने, "त्यसले मेरो स्वास्थ्यमा असर पुर्‍यायो कि पु‍र्‍याएन भन्ने बारे म असाध्यै चिन्तित छु।"

अङ्गस फायरले पीएफएएस भएका वस्तु उत्पादन गर्न रोकेको र विगतमा कुनै प्रदूषण भएको रहेछ भने पत्ता लगाउन नियामकसँग सहकार्य गरिरहेको बताएको छ।

खतरा के के हुन्?

क्यामेरापट्टि आफ्नो ढाड फर्काएर भिडमा उभिएकी एक महिलाले बोकेको एक सङ्केतमा "स्टप पीएफएएस" भनेर लेखिएको छ। कालो कपाल लगाएकी उनले नीलो लुगा लगाएकी छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष पूर्वी फ्रान्सको ओलिन्स क्षेत्रमा प्रदर्शनकारीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पीएफएएसको प्रयोगको विरोध गर्न जम्मा भएका थिए

'फरएभर केमिकल' हरूलाई मिर्गौला, प्रोस्टेट र टेस्टिकुलर क्यान्सरसँग जोडेर हेर्ने गरिन्छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार तिनलाई उच्च कोलेस्टेरोल, कलेजोको रोग, मिर्गौलाको रोग र बच्चाहरूमा विकाससम्बन्धी विषयसँग पनि जोडेर हेर्ने गरिएको छ।

'ड्रीङ्किङ वाटर इन्सपेक्टोरेट इन इङ्गल्यान्ड एन्ड वेल्स' ले 'परफ्लोरोअक्टेन सल्फोनिक एसिड' (पीएफओएस) र 'परफ्लोरोअक्ट्यानिक एसिड' (पीएफओए) जस्ता पीएफएएसले "कुनै निश्चित मात्रा पुगे पछि" स्वास्थ्य समस्या गराउने बताएको छ।

परिणामस्वरूप विश्वका विभिन्न ठाउँमा यीमध्ये केही वस्तुको प्रयोगमा रोक तथा नियमन अन्तर्गत पारिएको छ।

सन् २०१०-२०१५ मा अमेरिकाका आठ प्रमुख रसायन उत्पादकले उनीहरूका उत्पादन र उत्सर्जनमा पीएफओए र ती सम्बन्धी रसायन प्रयोग गर्न बन्द गर्न सहमत बनेका थिए।

तर वैज्ञानिकहरू भन्छन् - पीएफएएसहरूको विशाल सङ्ख्याका कारण सबभन्दा विषालु उपसमूह र तिनको मानव स्वास्थ्य तथा पर्यावरणीय खतरा पत्ता लगाउन आवश्यक छ।

एउटा पैदल यात्रु हिँड्ने पुल वरिपरिको हरियाली र बगिरहेको नदीको आकाशबाट खिचिएको फोटो। पुलमाथि एक मानिस उभिएर तल पानी हेरिरहेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पीएफएएस सफा गर्न अरबौँ डलर लाग्ने बताइन्छ

यदि पीएफएएसमाथि प्रतिबन्ध लगाइयो नै भने पनि कडा नियम नभएका मुलुकहरूमा लगेर उत्पादन गर्न सकिने विकल्प बाँकी रहेको कोही बताउँछन्। र विज्ञहरूको विश्वास छ तीमध्ये केही उत्पादन ईयू वा अमेरिकी बजारमा निर्यात गर्न सकिने अवस्था रहने छ।

कैयौँ अरूले चाहिँ सबै खाले पीएफएएसमा पूर्ण प्रतिबन्ध भए मात्र काम गर्ने ठान्छन्।

पीएफएएस हाम्रो पानी र माटोलाई प्रदूषित नपार्ने गरी कसरी सुरक्षित रूपमा नष्ट पार्ने भन्ने अर्को ठूलो समस्या हो।

फरएभर लबीइङ प्रोजेक्टले गरेको एक अनुसन्धान अनुसार ब्रिटेनमा पीएफएएस सम्बन्धित प्रदूषण सफा गर्न प्रति वर्ष १३.३ अर्ब डलर लाग्ने अनुमान गरिएको छ। यसमा १६ देशका १८ विज्ञ तथा ४६ जना पत्रकार मिलेर विभिन्न मुलुकको अनुसन्धान गरेका हुन्।

स्टकहोम विश्वविद्यालयमा इन्भाइरनमेन्टल केमिस्ट्रीका प्रोफेसर इयान कजिन्सले बीबीसीलाई गत वर्ष भनेका थिए, "परम्परागत पीएफएएसमा प्रभावकारी उपचार प्रविधि उपलब्ध छन्"।

"सिद्धान्तत: तपाईँले असाध्यै प्रदूषित क्षेत्रलाई सफा गर्न सक्नुहुन्छ यदि तपाईँलाई संसारभर रहेको सबै पैसा प्राप्त छ भने। तर त्यो पैसा कहाँबाट आउँछ? हामीलाई कम खर्च लाग्ने र कम ऊर्जा लाग्ने प्रविधि आवश्यक छ।"

के 'फरएभर केमिकल'लाई बेवास्ता गर्न सकिन्छ?

फ्राइङ प्यानमा पकाइएको अण्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टेफ्लनको अन्वेषणसँगै पीएफएएसको प्रयोग हुन थालेको भन्न सकिन्छ यो पोलीटेट्राफ्लोरोइथाइलीन सबैजसो नन स्टिक भाँँडा कुँडामा प्रयोग हुने गरेको छ

फरएभर केमिकल प्रयोग नगरौँ भन्दा पनि निकै मुस्किल हुन्छ।

पीएफएएसहरू तिनको चिल्लोले नबिगार्ने प्रकृति र उच्च तापक्रम सहन सक्ने प्रकृतिका कारण खानेकुराको प्याकेजिङमा धेरै प्रयोग भएको पाइन्छ। त्यसैगरी खानेकुरा बेक गर्ने भाँडा र घरबाहिर लगाउने लुगामा पनि पाइन्छ।

ती घरमा सरसफाइ गर्ने उत्पादनहरूमा, छालामा लगाइने क्रीमहरूमा वा दाँतमा प्रयोग गरिने फ्लसहरूमा पनि पाइन सक्छन् ती चिजले छालामा प्रत्यक्ष छुने भएकाले चिन्ताको विषय भएको वैज्ञानिकहरू बताउँछन्।

त्यसो भए कसरी मानिसहरू फरएभर केमिकल प्रयोग गर्नबाट बच्न सक्छन् ?

  • नन स्टीक भाँडालाई प्रीहीट अर्थात् खानेकुरा भन्दा अगाडि देखि नतताउनू
  • केही सामान ल्याउनु छ भने आफ्नै भाँडा ल्याउनू
  • सोफा र कार्पेटहरूमा दाग नबस्ने कोटिङहरू लगाउनबाट बच्नुहोस्
  • पानी फिल्टर गरेर प्रयोग गर्नुहोस्
  • लेबलहरू हेर्नुहोस् र इको वा नन टक्सिक लेखिएका लेबल प्रयोग गर्नुहोस्

डा. चार्टर्स भन्छन्, "हामीले यस्ता विकल्प रोज्न सक्छौँ जसबाट हामी आफ्नो पर्यावरणमा प्लास्टिक जस्ता वस्तुको कम प्रयोग गरेर जोखिम कम गर्न सकौँ।"

"हामी टेफ्लन लगाएका भाँडा प्रयोग गर्दैनौँ हामी स्टीलका भाँडा प्रयोग गर्छौँ," उनले भने।

विश्व स्वास्थ्य सङ्गठनले अति आवश्यक बाहेक अन्य पीएफएएस प्रयोग रोक्न भनेको छ तर चेतावनी पनि जारी गरेको छ कि पीएफएएसबाट पानी वितरणमा हुने खतरालाई अरू खतरासँग दाँज्न जरुरी छ जस्तो कि खाने पानी पर्याप्त मात्रामा नहुँदा उत्पन्न हुने खतरा।

कस्ता खाले नियम लगाइएका छन्?

सन् २००९ देखि पीएफएएसको प्रयोग स्टकहोम कन्भेन्सन अन पर्सिस्टेन्ट अर्गानिक पोल्युटेन्ट सन्धिमार्फत् अन्तर्राष्ट्रिय रूपमा नियमन गरिएको छ तर अमेरिकालगायत औद्योगिक मुलुकहरूले यसलाई हस्ताक्षर गर्न ढिलो गर्ने गरेका छन्।

सन् २०१८ मा युरोपेली खाद्य सुरक्षा निकाय युरोपियन फूड सेफ्टी अथोरिटीले पीएफओएएस र पीएफओएसको विषाक्तताको प्रमाणको पुन मूल्याङ्कन गरेर सुरक्षित सीमालाई निकै कम गरिदिएको थियो। सन् २०२३ मा डेनमार्क, जर्मनी, द नेदरल्यान्ड्स र नर्वे तथा स्विडेनका अधिकारीहरूले युरोपियन युनियनभित्र पीएफएएसहरूमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका थिए।

यदि कुनै कार्य गरिएन भने ४४ लाख टन पीएफएएसहरू आगामी ३० वर्षमा पर्यावरणमा थपिनेछन् भन्ने अनुमान ती अधिकारीहरूले गरेका थिए।

थप रिपोर्टिङ भिक्टोरिया लीन्डेराबाट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।