मधेसका मतदातामा चुनावी 'उत्साह' कम, 'मौन' मतले नतिजा आकलन 'कठिन'

- Author, विष्णु पोखरेल, विजय गजमेर
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली, सप्तरी
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक साता मात्र बाँकी रहँदा पनि मधेस प्रदेशका कतिपय जिल्लाका मतदाताहरूले "अघिल्ला चुनावहरूमा जस्तो यसपालि आफूहरूमा उत्साह नभएको" बताएका छन्।
यद्यपि त्यस्तो धारणा व्यक्त गर्नेमध्ये अधिकांशले उनीहरूकै भनाइमा मंसिर ४ गते कुन उम्मेदवार र कुन चिह्नमा भोट हाल्ने भन्ने तय गरिसकेका छन्।
कतिपय भने आफूले मत दिने दल र उम्मेदवारबारे खुलेरै कुराकानी पनि गर्न थालेका छन्।
एकजना विश्लेषकका भनाइमा "मतदातामा उत्साह कम देखिएको भन्दा पनि मौन मत बढेकाले परम्परागत रूपमा गरिएजस्तो मत परिणामको आकलन" वास्तविक नहुने सम्भावना बढेको छ।
सडकभन्दा सामाजिक सञ्जालमा चहलपहल
दल तथा उम्मेदवारहरूले निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधिलाई तिव्र बनाएका भए पनि त्यसको प्रतिबिम्ब पहिले जस्तो सडकमा कम देखिएको कैयौँको मत छ।
मधेस प्रदेशको राजधानी जनकपुर रहेको धनुषासहित शनिवार बीबीसी संवाददाताहरू स्थलगत रूपमा पुगेका सिराहा र सप्तरी जिल्लाका विभिन्न स्थानहरूमा चुनावी कार्यक्रम र सभाहरू पातला मात्र देखिएका थिए।
कैयौँका भनाइमा अहिले दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा चुनावको व्यापक प्रचारप्रसार र 'हल्लाखल्ला' गरिरहेका छन्। तर सडकमा त्यसरी प्रचार गरिरहेको देखिँदैन।
यद्यपि मुख्य राजमार्गसहित ग्रामीण सडकहरूमा समेत विभिन्न दलका झण्डा र चुनाव चिह्नहरू टाँगिएका, कोणसभा र घरदैलो एवम् मोटरसाइल र्यालीहरू भइरहेका देखिन्छन्।
मतदाता 'कम उत्साहित'

तस्बिर स्रोत, RSS
यद्यपि "धान पाक्ने मौसम भएकाले धेरै मानिसहरू व्यस्त हुँदा" त्यस्तो भएको हुनसक्ने उनी बताउँछन्।
नेताहरूले पहिले आफूले अघि सारेका एजेन्डाहरू छाड्दै जाँदा जनतामा निराशा छाएकाले पनि उत्साह कम भएको हुनसक्ने उनको भनाइ छ।
तर अहिलेको पुस्ताले "कसले के प्लस र के माइनस गर्यो" भन्ने आधारमा नेतृत्व चयन गर्ने उनको मत छ।
जातीय वा समुदायलाई जुधाएर राजनीति गर्नेहरूलाई मतदाताले रुचाउन छाडेको उनी बताउँछन्।
राजविराज-९ की ललितादेवी यादव नेतादेखि निराश बने पनि मत चाहिँ दिने बताउँछिन्।
उनले भनिन्, " नेताले त बाटो बनाउन र नोकरी नहुनेलाई नोकरी दिनुपर्ने हो। तर त्यस्तो भएको छैन।"
"ठिकै छ यसपालिलाई अलि काम गर्छु भन्नेलाई भोट दिउँ अब काम गरेनन् भने पनि पछि फर्केर त आउनु पर्ला नि! त्यसबेला हाम्रो समय पनि आउँला नि हैन र?"
सोही क्षेत्रका दुखिलाल यादव चाहिँ नेताहरूप्रति आक्रोशित भएका रहेछन्।
उनले भने, "नेताले जनतालाई खेलौना बनाए। जे मन लाग्यो त्यही गरेका छन्। जनताले उनीहरूले जे भने पनि पत्याउनु पर्ने?"
"यहाँ पैसा बाड्न पनि आउँछन् भोटका लागि। तर हाम्रो मनको कुरा हुन्छ नि भोट कसलाई दिने? हामीलाई राजनीतिमा मतलब छैन तर हामीजस्ता किसानलाई मल समेत उपलब्ध गराउन नसक्नेलाई जिताएर पठाएर के हुन्छ?"

सप्तरीको रुपनीस्थित एक निजी विद्यालयका गणित विषयका शिक्षक एवम् राजविराज निवासी किशोरीकुमार साह तथा उनको परिवारलाई यसपटकको चुनावबारै खासै उत्साह छैन।
यसअघि संविधानसभा र संसदीय गरी दुईवटा निर्वाचनमा मतदान गरिसकेका उनी भन्छन्, "यसपालि पहिले भन्दा चहलपहल निकै कम छ।"
उनले बुझेको त्यसको कारणबारे बताउँदै उनले भने, "जनतामा नेताप्रति विश्वास उडेको छ, नेताले मानिसहरूलाई आश्वासन दिन्छन् र कुर्सीमा पुगेपछि त्यसलाई बिर्सन्छन्।"
"आफ्नो स्वार्थका लागि जोसँग पनि मिल्छन्, जे पनि गर्छन् भन्ने जनताले बुझिसके।"
धान भित्र्याउन व्यस्त रहेका उनले शनिवार अपराह्ण बीबीसीसँग भने, "मानिसहरूले भोट त हालिहाल्छन्। हाल्नै पनि पर्यो तर पहिले जस्तो छैन अब आफ्नै मनले हाल्छन्।"
र, उनका भनाइमा अहिले कैयौँ मतदाताले परिवर्तनको अपेक्षा पनि गरेका छन्।
उनीसँगै रहेका उनका ७१ वर्षीय पिता रुदन साहले निराशा व्यक्त गर्दै भने, "फलानो आएर यो दिन्छु भन्छ चिलानो आएर त्यो दिन्छु भन्छ तर भोट पाएपछि फर्केर आउँदैन।"
सप्तरीकै शम्भुनाथ नगरपालिका-१ का ३८ वर्षीय सुवासकुमार साह पूर्व-पश्चिम राजमार्गमा किराना र खाजा पसल चलाउँछन्।
उनका भनाइमा पनि यसपालिको निर्वाचनमा "चलहलपहल कम देखिएको" छ।

विश्लेषक के भन्छन्?
मधेस प्रदेशका विभिन्न स्थानमा कुराकानी गर्दा कतिपय मतदाताहरूमा राजनीतिक दल तथा नेताप्रति "निराशा" र चुनावी उत्साहमा कमी देखियो।
कतिपय विश्लेषक मधेशका मतदातामा एकखाले निराशा देखिए पनि त्यो चुनावका दिन 'मौन विद्रोह'को भावमा अभिव्यक्त हुनसक्ने देख्छन्।
एकजना विश्लेषक सुरेन्द्र लाभले बीबीसीसँग भने, "मतदाताहरू मौन देखिएका छन्। त्यसले गर्दा पनि चहलपहल र उत्साहमा कमी देखिएको हो।"
"विशेषगरी सहरी क्षेत्रमा मतदाताहरूले कसरी मत हाल्लान् भन्ने आकलन पनि गाह्रो भइरहेको छ र त्यो मौन मतले पहिलेको भन्दा नतिजाहरू फरक पार्न सक्छ।"
उनका भनाइमा अहिले मतदाताहरूको मनस्थिति बुझ्न सहज देखिएको छैन।
त्यसको एउटा कारण राजनीति र नेताप्रतिको विस्तृष्णा हुनसक्ने तर मुख्यत: मतदातमा बढेको जागरुकता र सचेतना पनि भएको उनको तर्क छ।








