स्कूले विद्यार्थीहरूलाई छापामार लडाकु समूहमा भर्ती गर्न कोलम्बियामा टिकटक प्रयोग

तस्बिर स्रोत, Getty
- Author, र्याशेल क्रिगिअर र लाउरा गार्सिआ
- Role, बीबीसी मोनिटरिङ र बीबीसी मुन्डो
कोलम्बियाको विद्रोही समूह 'फार्क'सँग मतभेद राख्ने असन्तुष्ट लडाकुहरूले टिकटक भिडिओमार्फत् युवाहरूलाई आफूतिर आकर्षित गराएर आफ्ना समूहमा भर्ती गर्ने प्रयास गरिरहेका छन्।
ती समूहले सरकार र फार्कबीच सन् २०१६ मा भएको शान्ति सम्झौता स्वीकार गरिसकेका छैनन्। बीबीसीले ती छापामार समूहको 'भर्ती'मा देखिएको वृद्धिबारे अनुसन्धान गरेको छ।
लोरेना (नाम परिवर्तित) पेसाले शिक्षिका हुन्। तीस वर्षकी लोरेना दक्षिण कोलम्बियास्थित काउकाको ग्रामीण भेगमा एउटा विद्यालयमा पढाउँछिन्।
कक्षाकोठामा छिर्दा उनी प्राय: विद्यार्थीहरूलाई फोनबाट भिडिओ बनाइरहेको, कालोपाटीमा विघटित छापामार समूह फार्कका सङ्केतचिह्नहरू कोरिराखेको वा क्रान्तिकारी सङ्गीतमा नाचिराखेको देख्छिन्।
"एक दुई जनाले त्यसो गर्न थाल्छन् अनि कक्षामा त्यो अनुकरण गर्ने विषय बनिदिन्छ," लोरेना भन्छिन्।
उनी सुरक्षाका कारण आफ्नो परिचय खुलाउन चाहन्नन्। उनी छापामार समूहको पक्षमा भएका यस्ता गतिविधिहरू निकै सामान्य बनेको बताउँछिन्।
"पहिले यस्तो गतिविधि लुकीछिपी हुन्थ्यो, तर अहिले निकै सामान्य बनेको छ," बीबीसीसँग 'जूम'मार्फत् भएको कुराकानीमा उनले भनिन्।
"दु:खका साथ भन्नुपर्छ, सुरुमा एक दुई विद्यार्थीले मात्रै टिकटकमा यस्तो भिडिओहरू देखेका हुन्छन् अनि त्यो व्यापक भइदिन्छ।"
उनका अनुसार त्यसपछि ती विद्यार्थीहरू अकस्मात् हराउँछन् र पछि छापामार पोसाकमा हतियार भिरेर टिकटकमा देखा पर्छन्।

काउकाका बालबालिका र वयस्कहरु फार्कसँगै हुर्किएका हुन्। सन् १९६४ मा गठन भएयता यो वामपन्थी सशस्त्र समूहको यहाँ बलियो उपस्थिति रह्यो।
कुनै बेला उक्त समूहमा २०,००० सदस्य थिए। सन् २०१६ मा सरकारसँग भएको शान्ति सम्झौतासँगै फार्क भङ्ग भयो।
तर केही लडाकुका समूहहरूले उक्त शान्ति सम्झौताप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले अझै हतियार बिसाएका छैनन्। तिनैमध्येका केही बलिया समूहहरू काउका क्षेत्रमा सक्रिय छन्।
ती समूहहरू इस्तादो मायोर सेन्ट्रल (ईएमसी) भनिने सङ्गठनको छातामुनि छन्।
अधिकारीहरूले ती समूहमा ३,००० भन्दा धेरै सदस्य रहेको ठानेका छन्।
वर्तमान वामपन्थी सरकारका राष्ट्रपति गुस्ताभो पेट्रोले ती समूहसँग वार्ता गर्ने प्रयास गरेका छन्। तर प्रयास विफल हुँदै आएको छ।
अधिकारीहरूका अनुसार त्यस्ता समूहले लागुपदार्थ ओसारपसार तथा ग्रामीण भूभागका जमिन कब्जा गरेर खर्च जुटाउँछन्।
कोलम्बियाका विद्रोही समूहमा बालबालिका भर्ती गर्ने चलन दशकौँदेखि चल्दै आएको छ। अहिले सामाजिक सञ्जालका कारण यो समस्या नियन्त्रण गर्ने कार्यमा जटिलता थपिएको विज्ञ तथा अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
कोलम्बियाली लोकपालको कार्यालयका एक अधिकारी रिकार्डो एरिअस मेकिअसले बीबीसीलाई बताएअनुसार सन् २०२३ मा कम्तीमा १८४ किशोरकिशोरी छापामार समूहमा भर्ती भए। यो वर्ष जुन महिनासम्ममा मात्रै १५९ जना भर्ती भइसकेका छन्। ती सबै जना १८ वर्षमुनिका छन् र काउका क्षेत्रका मात्रै १२४ जना छन्।
"यी त अभिलेखमा परेका घटना हुन्। धेरैजसोको त अभिलेख नै हुँदैन," उनी भन्छन्।
लोरेना विगत नौ वर्षदेखि ग्रामीण र विपन्न समुदायमा पढाउँदै आएकी छन्। उनले गत वर्ष आफ्नै विद्यालयबाट १५ जना विद्यार्थी पढाइ छाडेर छापामार समूहमा सामेल भएको बताइन्।
"असाध्यै पीडा र निराश हुन्छ... निकै असहाय महसुस हुन्छ," भुइँतिर हेर्दै उनले भनिन्।
लोरेनाका अनुसार कोभिड महामारीपछि छापामारहरूले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रम ह्वात्तै बढ्यो। उनीहरूले टिकटकको व्यापक प्रयोग गरे।
अहिले अधिकांश विद्यार्थीहरूसँग स्मार्टफोन हुन्छ र उनीहरू सजिलै इन्टरनेट चलाउन सक्छन्। "उनीहरू जतिबेलै पनि फोनमा हुन्छन्, हामी रोक्न सक्दैनौँ," उनले भनिन्।
चार साताको अवधिमा बीबीसीको अनुसन्धानमा छापामार हरूले आफ्नो जीवनशैली प्रदर्शन गर्दै अरूलाई पनि आफ्ना समूहमा संलग्न हुन प्रोत्साहित गर्ने सामग्री पोस्ट गरेका ५० वटा टिकटक अकाउन्ट फेला परे।
तर छापामारहरू सशस्त्र समूहमा संलग्न हुँदा कस्ताकस्ता जोखिम हुन्छन् भनेर खुलाउँदैनन्।
ईएमसीसम्बद्ध लडाकुहरूले राखेको भिडिओमा एक वा अर्को जुनसुकै समूहमा भए पनि भर्ती हुन उक्साउने भाषाको प्रयोग गरिएको छ। भिडिओतल मानिसहरूले प्रतिक्रिया लेख्दै भर्ती हुने प्रक्रियाबारे पटकपटक चासो व्यक्त गरेको पाइयो।
'वीरगतिप्राप्त' नेताहरूको गुणगान गरिएको पार्श्वसङ्गीत भएको भिडिओमा किशोरकिशोरीहरूलाई हतियार बोकेर कोका खेती गरिएको ठाउँनजिकै उभिएको देखिन्छ।
केही टिकटक खातामा समूहको नाम स्पष्टसँग उल्लेख भएको देखिन्छ। तर धेरै समूहले 'सामुराई'को इमोजी अङ्कित कोलम्बियाली झण्डाको प्रयोग गर्दै फार्कतिर सङ्केत गरेका छन्।

एप्रिलमा कोलम्बियाका रक्षामन्त्री इभान भेलस्क्वेजले ईएमसीका टिकटक भिडिओले उत्पन्न गरेको खतराबारे सतर्क गराएका थिए।
"कम उमेरका बालबालिकालाई आकर्षित गर्न देशका विभिन्न क्षेत्रमा यस्ता भर्तीसम्बन्धी गतिविधि सञ्चालित छन्," उनले भने ।
खोज पत्रकारिता गर्ने कोलम्बियाको एउटा वेबसाइट ‘ला सिला भासिया'मा कार्यरत पत्रकार सेन्टिआगो रोड्रिग्वेजका अनुसार ईएमसीले विगतमा आफ्ना वक्तव्यहरू पत्रकारहरूसमक्ष पुर्याउन ह्वाट्स्याप तथा फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्थ्यो।
तर हाल तिनका सामग्रीहरू टिकटकबाट प्रसारित हुन्छन् र कलिलो उमेरका बालबालिकामाझ पुग्छन्।
खोज पत्रकारितासम्बन्धी सञ्चारसंस्था 'इन्साइट क्राइम'मा कार्यरत कोलम्बियाविज्ञ सर्गियो सेफोनका अनुसार ईएमसीका लडाकुहरूका भिडिओहरू सोझै विपन्न समुदायका बालबालिकामाझ पुगिरहेका छन्। त्यस्ता भिडिओमा ‘पैसा, केटी वा मोटरसाइकल - जे चाह्यो त्यही पाइने’ आशा देखाइएको छ।
बीबीसीले पहिचान गरेका त्यस्ता सामग्री पोस्ट गर्ने कतिपय अकाउन्टहरू पछि टिकटकद्वारा प्रतिबन्धित भएका छन्। तर नयाँ सामग्री भने आउन छाडेका छैनन्।
बीबीसीले यसबारे प्रतिक्रियाका लागि लिखित अनुरोध गरेकोमा टिकटकका तर्फबाट कुनै उत्तर प्राप्त भएन। तर टिकटकको 'कम्युनिटी गाइडलाइन्स'मा भनिएको छ "दैनिक लाखौँ सामग्रीलाई व्यवस्थापन गर्नु निकै जटिल काम हो, त्यसका लागि एउटा विश्वसनीय प्रक्रिया विकसित गर्नु महत्त्वपूर्ण हुन्छ।"
'कम्युनिटी गाइडलाइन्स'ले टिकटकमा के गर्नु हुन्छ, के गर्नु हुँदैन, कस्ता सामग्री राख्नु हुन्छ र कस्ता राख्नु हुँदैन भनी मार्गनिर्देशन गर्छ।

कोलम्बियाका अधिकारीहरूलाई पनि छापामार समूहको सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्न सजिलो छैन।
कोलम्बियाली लोकपालको कार्यालयले यो समस्या हेर्न एउटा नयाँ समिति गठन गरेको छ। उक्त समितिले भर्खरै थालेको एरिअसले बताए।
ईएमसी आफैँले पनि आफ्ना सदस्यहरूलाई टिकटकमा बढाइचढाइ प्रस्तुत हुन रोक्न खोजिरहेको उक्त सङ्गठनका काउकास्थित एक सदस्य सेबास्टिअन मार्टिनेजले बताए। उनी समूहको वार्ता टोलीका सदस्य हुन्। तर वार्ता अहिले अवरुद्ध छ।
"सामाजिक सञ्जालमार्फत् भर्ती गर्ने फार्कको कुनै अभियान छैन," बीबीसीले 'जूम'मार्फत् गरेको अर्न्तवार्तामा उनले भने।
"केही घटनाहरू कहिलेकाहीँ हाम्रो नियन्त्रणबाहिर जान्छन्। यसले सुरक्षा चुनौती निम्त्याउन सक्छ। हामी यसलाई नियन्त्रण गर्न खोजिरहेका छौंँ।"
कोका, अफिम र गाँजा उत्पादनमा लगाइने करजस्ता अवैध कारोबारबाट ईएमसीले आर्थिक व्यवस्थापन गर्ने गरेको स्वीकार्दै उनले अब आफूहरू वैध कृषितर्फ प्रवेश गर्न लागेको दाबी गरे।
उनले उक्त विद्रोही सङ्गठनले १५ वर्ष उमेर समूहका बालबालिकालाई भर्ती गरेको थियो भन्ने पनि स्वीकार गरे। सरकारी अधिकारीहरू भने त्यस उमेरका बालबालिकामा निर्णय गर्न सक्ने क्षमताको अभाव हुने भएकाले त्यसलाई जबर्जस्ती गरिएको कार्य मान्छन्।
यो सबैका बीच लोरेना भने आफ्ना विद्यार्थीहरुलाई छापामार जीवनको खतराबाट जोगाउन सङ्घर्ष गरिरहेकी छन्।
उनीसहितका शिक्षकहरूको समूहले सामाजिक सञ्जालका अकाउन्टहरूलाई निगरानी गर्न एउटा सञ्जाल तयार पार्नुका साथै जोखिम महसुस गर्ने विद्यार्थीसमक्ष पुग्न आपत्कालीन 'च्याट'को स्थापना गरेको छ।
"हामी उनीहरूलाई सबै कुरा दिन सक्दैनौँ। हामी आफ्नो डर दबाउँदै लड्छौँ। कसैको जीवनको कायाकल्प भएको देखेर, उनीहरूले फर्केर आएर आफूले स्नातक तह पूरा गरेको वा व्यवसाय थालेको कुरा सुनाएको सुनेर हामीलाई लड्ने प्रेरणा प्राप्त हुन्छ।"
थप रिपोर्टिङ जोनाथन ग्रिफिन , बीबीसी ट्रेन्डिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




