एक्वडोरमा जब प्रत्यक्ष प्रसारण भइरहेको बेला टीभी स्टेशनमा बन्दुकधारीहरूले धावा बोले

भिडिओ क्याप्शन सुरु हुँदैछ, चेतावनीः केही दृश्यले तपाईँलाई विचलित पार्न सक्छन्

एक्वडोरमा एउटा स्थानीय टेलिभिजन स्टेशनमा प्रत्यक्ष प्रसारण भइरहेको बेला सशस्त्र व्यक्तिहरूले धावा बोल्दै पत्रकार र कर्मचारीहरूलाई आतङ्कित बनाएका छन्।

ग्वायाकिल सहरस्थित सार्वजनिक टेलिभिजन च्यानल 'टीसी'को प्रत्यक्ष प्रसारण रोक्नुअघि मुख छोपेका र बन्दुक बोकेका आक्रमणकारीहरूले कर्मचारीहरूलाई भुइँमा घोप्टिन लगाएका थिए।

टेलिभिजन च्यानलका सबै कर्मचारीलाई मुक्त गरिएको र १३ जना सन्दिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले केही हातहतियार पनि बरामद गरेको छ।

टिभी स्टेसनमा आक्रमण

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टेलिभिजन स्टेशनमा आक्रमण भएपछि प्रहरीले शङ्कास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ

जेलबाट एक कुख्यात गुन्डानाइके भागेपछि एक्वडोरमा सोमवार ६० दिनका लागि सङ्कटकाल घोषणा गरिएको थियो।

उक्त घटनासँग मङ्गलवार टेलिभिजन स्टेशनमा गरिएको आक्रमणको सम्बन्ध भए नभएको स्पष्ट भइसकेको छैन।

ग्वायाकिल 'लस चोनेरस' गिरोहका नाइके एडोल्फो मासिआस भियामारको गृहनगर हो। उनी फिटो उपनामले बढी चिनिन्छन्।

छिमेकी देश पेरूको सरकारले सीमावर्ती क्षेत्रमा अस्थिरता नफैलियोस् भन्ने उद्देश्यले तत्काल प्रहरी टोली परिचालन गर्न आदेश दिएको छ।

संयुक्त राज्य अमेरिकाले एक्वडोरमा भएको घटनालाई "निर्लज्ज आक्रमण" को सङ्ज्ञा दिँदै राष्ट्रपति ड्यान्येल नोबोआ र एक्वडोर सरकारसँग “समन्वय” गरिरहेको र “सहायता प्रदान गर्न” तयार रहेको जनाएको छ।

टेलिभिजन स्टेशमा प्रहरी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सशस्त्र आक्रमणकारीहरू टेलिभिजन स्टेशनमा छिरेपछि प्रहरीले त्यहाँ घेरा हालेको थियो

लागुपदार्थ तस्करहरूबीच प्रतिद्वन्द्विता

एक्वडोर शीर्ष केरा निर्यातकर्तामध्ये एक हो। उक्त ल्याटिन अमेरिकी देशले तेल, कफी, कोकोआ, श्रिम्प र माछा पनि निर्यात गर्छ।

एक्वडोरमा जेलभित्र र बाहिर हुने हिंसाको कारण देशी र विदेशी लागुऔषध गिरोहहरूबीच हुने द्वन्द्वलाई मानिएको छ। ती गिरोहहरू कोकेन अमेरिका र युरोप पैठारी गर्ने मार्गमा आफ्नो नियन्त्रण कायम गर्न चाहन्छन्।

टेलिभिजन स्टेशनमा मङ्गलवार एक आक्रणकारीले एक व्यक्तिको टाउकोमा बन्दुक ताकेका थिए।

समाचारसंस्था एएफपीका अनुसार एक महिलाले चिच्याउँदै बन्दुक नचलाउन याचना गरेकी थिइन् भने अर्का एक व्यक्ति सम्भवतः दुखेर रोइरहेका थिए।

"उनीहरू हामीलाई मार्न आएका थिए," टीसी टेलिभिजनका एक कर्मचारीले एएफपीलाई ह्वाट्स्यापमा लिखित सन्देश पठाउँदै भने, " हे भगवान्, त्यस्तो नहोस्। ती अपराधीहरू प्रत्यक्ष प्रसारणमै छन्।"

कीटोमा सेनाले मङ्गलवार मेट्रो चल्ने ठाउँमा गस्ती गरेको थियो

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, कीटोमा सेनाले मङ्गलवार मेट्रो चल्ने ठाउँमा गस्ती गरेको थियो

हत्या र अपहरण

सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको भिडिओ सामाजिक सञ्जालमा राख्दै प्रहरीले दोषीहरूलाई "आतङ्ककारी कार्यका लागि दण्डित गरिने" जनाएको छ।

राष्ट्रपति नोबोअले मङ्गलवार अहिले देशमा “आन्तरिक सशस्त्र द्वन्द्व” विद्यमान रहेको बताउँदै उनले “अन्तरदेशीय सङ्गठित अपराध, आतङ्कवादी सङ्गठन र लडाइँ चाहने तत्त्वहरूलाई" मत्थर पार्नका लागि सैन्य कारबाही गर्न सशस्त्र फौज परिचालन गरिएको बताएका छन्।

एक्वडोरमा केही समययता जेलहरूमा दङ्गा भएका छन् र त्यहाँबाट कैदीहरू भागेका छन्। अधिकारीहरूले आपराधिक गिरोहहरूका कारण अन्य हिंसात्मक घटनाहरू पनि भएका छन्। राष्ट्रपतिले ती घटनाबारे प्रतिक्रिया व्यक्त गरेका हुन्।

गुन्डानाइके फिटो जेलबाट भागेपछि हिंसा नियन्त्रण गर्ने प्रयासमा सोमवार सङ्कटकाल घोषणा गर्दै रातभरि कर्फ्यू लगाइएको थियो। सोमवार दङ्गा भएका कम्तीमा छवटा जेलमा सुरक्षा व्यवस्था फेरि कायम गर्ने प्रयासमा अधिकारीहरू छन्।

आपराधिक समूहले गराएको ठानिएका आक्रमणमा परेर ग्वायाकिलमा मङ्गलवार आठ जनाको मृत्यु भयो भने नजिकै रहेको नोबोल सहरमा दुई प्रहरी अधिकारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

दोषी ठहरिएका अर्का एक गुन्डानाइकेसहित मङ्गलवार बिहान झन्डै ४० जना रियोबाम्बा सहरस्थित जेलबाट भागेका थिए।

एक्वडोरमा गस्ती गर्दै सेना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुई महिना देशमा सङ्कटकाल घोषणा गरिएको एक दिनपछि एक्वडोरमा हिंसाका विभिन्न घटनाहरू भएका छन्

'सर्वसाधारण मानिस आत्तिएका छन्'

कम्तीमा सात सुरक्षाकर्मी अपहरणमा परेका थिए र सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा अपहरणमा परेका तीन जना भुइँमा बसिरहेको र उनीहरूलाई बन्दुक ताकिएको देखिन्छ।

तीमध्ये एक जनालाई राष्ट्रपति नोबोअलाई सम्बोधन गरिएको विज्ञप्ति पढ्न दबाव दिएको देखिने एएफपीले जनाएको छ।

"तपाईँले युद्ध घोषणा गर्नुभयो, तपाईँले युद्ध पाउनुहुने छ," ती अधिकारीले विज्ञप्ति पढ्दै भने।

"तपाईँले सङ्कटकाल घोषणा गर्नुभयो। हामी प्रहरी, सर्वसाधारण नागरिक र सैनिकहरूलाई युद्धबाट प्राप्त इनाम घोषणा गर्छौँ।"

रोएटर्स समाचारसंस्थासँग कीटोका बासिन्दाहरूले टीभी स्टेशनमा आक्रमण भएको समाचार फैलिएपछि सहरमा अव्यवस्था रहेको बताएका छन्।

"यहाँ सहरमा धेरै मानिस आत्तिएका छन्," मारिओ युरेनाले भनिन्। "काममा गएका मानिसहरू छिट्टै फर्किएका छन्। मानिसहरू कार्यालयबाट निस्किएका कारण तपाईँ बाटोमा जताततै गाडीको भिड देख्न सक्नुहुन्छ। यहाँ अशान्ति छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।