थाइल्यान्डमा गाँजा: खेती र कारोबारमाथिका कानुनी बन्देज हटाइनुका कारण

थाइल्यान्डले १० लाख गाँजाका बोटहरू वितरण गरेको छ
तस्बिरको क्याप्शन, थाइल्यान्डले १० लाख गाँजाका बोटहरू वितरण गरेको छ

यसै महिनादेखि थाइल्यान्डमा गाँजा खेती र त्यसको प्रयोग कानुन सम्मत भएको छ।

यो थाइल्यान्डले लागुपदार्थसम्बन्धी कसूरमा अपनाउँदै आएको कडा नीति विपरीतको कुरा हो।

उसले त्यस्ता कसूरमा लामो जेल अथवा मृत्युदण्डसम्मको सजाय दिँदै आएको थियो।

बीबीसीका दक्षिणपूर्वी एशिया संवाददाता जोनाथन हेडले त्यस्तो नाटकीय परिवर्तन पछाडिको कारण खोतलेका छन्।

त्यो कडा कानुन...

मेरो पत्रकारिता करियरमा २१ वर्षअघि एउटा निकै डरलाग्दो घटना भएको थियो।

हामीलाई पाँच जना कैदीहरूलाई मृत्युदण्ड दिइएको हेर्न र त्यसको छायाङ्कन गर्नका लागि निम्त्याइएको थियो।

त्यसमध्ये चारजना लागुऔषध ओसारपसारको कसुरमा दोषी ठहर भएकाहरू थिए।

हामीलाई ब्याङ्ककको ब्याङ्क्वान जेलका मृत्युदण्ड दिने सैनिकहरूको टोलीले निम्त्याएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गाँजा बहस: प्रतिबन्ध फुकुवा गर्दा अपराध बढ्छ कि आम्दानी

उनीहरूलाई मृत्युदण्ड दिने स्थानतर्फ ल्याइँदै गर्दा साङ्लाले बाँधिएका गोडाबाट आवाज निकाल्दै हिँडेका कैदीहरूको अुहार म कहिल्यै पनि बिर्सन सक्दिन।

यो प्रधानमन्त्री थाक्सिन सिनावतको "लागुऔषध विरुद्ध लडाइँ"को एउटा हिस्सा थियो।

त्यो पछि सयौँ लागुऔषध संदिग्धको 'हत्या' मा परिणत हुन पुग्यो।

थाक्सिनको अभियान लोकप्रिय थियो।

थाईहरू मेटाम्फेटामाइन जस्ता लागुऔषधका कारण आफ्नो समुदायलाई खराब असर परेकोमा चिन्तित थिए र उनीहरू हिंसात्मक धरपकडद्वारा गरिएको घातक मानवअधिकार हनन्‌का घटनालाई बेवास्ता गरिरहेका थिए।

उक्त क्षेत्रका अन्य देशहरूले पनि त्यस्तैखाले दण्ड दिने कुरालाई पछ्याए।

विशेषगरी सन् २०१६ मा पद सम्हालेपछि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले त्यस्तै शैली अपनाए।

सिङ्गापुर र मलेशियाले पनि दशकौँदेखि लागुऔषध ओसारपसारको अभियोगमा मृत्युदण्डको सजाय लागु गरेका छन्।

नयाँ कानुनलाई स्वागत गर्दै आयोजित कार्यक्रम

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नयाँ कानुनलाई स्वागत गर्दै आयोजित कार्यक्रम

पर्यटकलाई पनि कडाइ

दक्षिणपूर्वी एशियामा आउने पर्यटकहरूलाई लामो समयदेखि यदि उनीहरूसँग थोरै मात्र गाँजा भेटिए पनि कडा कारबाही हुने चेतावनी दिइने गरेको छ।

त्यसैले गएका साताहरूमा थाइल्यान्डमा जुन कुरा भइरहेको थियो वास्तवमै विश्वास गर्नै नसकिने खालको कुरा थियो।

क्याफे र स्टलहरूले गाँजा र भाङबाट बनेका सामानहरू खुला रूपमा बिक्री गरिरहेका छन् अथवा गाँजाका फूल भरिएका जारहरू देखाइरहेका छन्।

अहिलेको नयाँ कानुन बनाउन मुख्य भूमिका खेल्ने व्यक्ति जनस्वास्थ्यमन्त्री अनुतिन चाङ्वीरकुन हुन्।

उक्त नयाँ कानुनले थाइल्यान्डलाई सम्भवत: विश्वकै गाँजासम्बन्धी सबैभन्दा उदार कानुन भएको देश बनाएको छ।

त्यहाँ उक्त झारको तरकारीको नमुना लिइरहेको र आम्दानीको नयाँ स्रोत हुने ठानेर किसानहरूले प्रशंसा गरिरहेको देख्न र सुन्न सकिन्छ।

त्यहाँ गाँजा र भाङबाट बनेको पेयतर्फ आँखा लगाएर उन्मुक्त हाँस्दै सरकारले दिने लाखौँ गाँजाका बोटमध्ये एउटा सङ्कलन गर्न लाइनमा बसेका थाई हजुरआमाहरू देखिएका थिए।

थाइल्यान्डमा गाँजासम्बन्धी कानुन निकै उदार बनेको छ।

अहिलेको नयाँ कानुन बनाउन मुख्य भूमिका खेल्ने व्यक्ति जनस्वास्थ्यमन्त्री अनुतिन चाङ्वीरकुन हुन्
तस्बिरको क्याप्शन, अहिलेको नयाँ कानुन बनाउन मुख्य भूमिका खेल्ने व्यक्ति जनस्वास्थ्यमन्त्री अनुतिन चाङ्वीरकुन हुन्

उदाहरणका लागि मानिसहरूले उनीहरूले चाहे जति गाँजा खेती गर्न र खपत गर्न सक्नेछन्। तर त्यसलाई बजारमा बिक्री गर्नका निम्ति केही सीमाहरू तोकिएका छन्।

उद्यमी के भन्छन्?

गाँजासम्बन्धी नियमहरूमा परिवर्तन ल्याउन सरकारलाई सहयोग गरेका एकजना उद्यमी टम क्रुअसपन भन्छन्, "एउटा कुरा के स्पष्ट छ भने अब तपाईँले गाँजा प्रयोग गरेकै कारण थाइल्यान्डमा जेल जानु पर्दैन।"

"अन्य कुराहरूका लागि चाहिँ तपाईँले जेल जानुपर्ने हुनसक्छ जस्तो कि सार्वजनिक स्थलमा धूमपान गर्दा वा खाद्य तथा औषधि नियामक निकायबाट अनुमति नलिइकन गाँजाका उत्पादनहरू गर्दा। तर थाइल्यान्ड पहिलो देश हो जहाँ गाँजा रोपेको वा प्रयोग गरेको आरोपमा जेल जानु पर्दैन।"

रत्तापोन सान्राक पनि अमेरिकामा अध्ययन गर्दै गर्दा गाँजाको औषधीय गुण थाहा पाएपछि त्यसलाई कानुनी बनाउनु पर्ने अभियान चलाउनेमध्येमा पर्छन्।

"यो त हाम्रा लागि सपनाजस्तो हो। हामीले थाइल्यान्डमा यति परसम्म पुग्छौँ भन्ने सोचेकै थिएनौँ," उनी भन्छन्।

उनका हजुरबा हजुरआमा, पिता र माता पनि क्यान्सरबाट बिते। उनी अमेरिकामा नै रहेका बेला उनकी आमालाई क्यान्सर भएको थियो।

त्यसपछि उनी थाइल्यान्ड आए र आमाको दुखाइ कम गराउनका लागि गाँजा र भाङका उत्पादनहरू खोजे तर त्यो गैरकानुनी भएकाले उनले पाउन सकेनन्।

लागुऔषध कानुनहरूलाई उदार बनाउने कुरामा निकै अनुदार जस्तो देखिने सेनाले नेतृत्वदायी भूमिका निभाइरहेको देशमा आएको नाटकीय परिवर्तनले के बताउँछ?

त्यसको केही हिस्सा भनेको राजनीति हो।

गाँजामा राजनीति

उनको पार्टीको स्थापित नीति अनुसार सन् २०१९ को निर्वाचनका बेला गाँजालाई कानुनी बनाउने घोषणा गरे अनुसार जनस्वास्थ्यमन्त्री अनुतिनले त्यसलाई अहिले कार्यान्वयन गर्ने पहल गरेका हुन्।

उनको पार्टीको पकड क्षेत्र पूर्वोत्तरका ग्रामिण भेगका किसान र गरिबहरू हुन्। त्यस क्षेत्रमा कृषकहरू धान र उखुको उत्पादन गर्छन् तर त्यसबाट राम्रो आम्दानी नहुँदा उनीहरूलाई नयाँ नगदे बालीको आवश्यकता छ।

त्यसैले उनले खुशी हुनेहरूको भिडमा यसै महिनाको सुरुवात्‌मा आफूले जे प्रतिबद्धता जनाएको हो त्यो गर्न सफल भएको बताए।

उनले आफ्नो निर्वाचन क्षेत्र बुरिराममा त्यस्तो मन्तव्य दिएका हुन्।

उनी गाँजालाई कानुनी मान्यता दिँदा हुने उपचारात्मक फाइदामा विश्वास गर्छन्।

त्यसबाट गरिब थाईहरूले आफैँले औषधिहरू उत्पादन गर्नसक्ने र उनीहरूले महँगो रासायनिक औषधिहरू किन्नु नपर्ने तर्क गर्छन्।

अर्को कुरा भनेको यो व्यापारको कुरा पनि हो।

क्रुअसपनका अनुमानमा गाँजाको व्यापारले पहिला तीन वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको व्यापार विकास हुनसक्छ।

त्यस्तै गाँजा पर्यटनबाट थप आम्दानी गर्न सकिन्छ। त्यस्ता कुरामा गाँजाका माध्यमबाट गरिने थेपारीका लागि मानिसहरू थाइल्यान्ड आउन सक्छन्।

उनले त्यस्तैखाले उपचारमा केन्द्रित थाइल्यान्डको पहिलो क्लिनिक पनि खोलेका छन्।

थाइल्यान्डका केही ठूला कम्पनीहरूले यसबाट कसरी फाइदा लिन सकिन्छ भनेर हेरिरहेका छन्।

थाइल्यान्डले १० लाख गाँजाका बोटहरू वितरण गरेको छ

पुनर्विचार

गाँजासम्बन्धी नयाँ नियमको तेस्रो पक्ष पनि रहेको छ।

त्यो भनेको लागुऔषध प्रयोगबारे कडाखाले कदमलाई पुनर्विचार गर्ने कुरा सात वर्षअघि नै सुरु गरिएको थियो।

त्यसबेला थाइल्यान्डमा सैन्य सरकार थियो।

उक्त देशका जेलहरू विश्वैकै सबैभन्दा धेरै र कोचाकोच कैदी भएकामा पर्छन्।

त्यसमध्ये तीन चौथाइ कैदीबन्दीहरू लागुऔषध कारोबारमा संलग्न भएको आरोप लागेकाहरू छन्।

त्यसमा कैयौँ कम उमेरका व्यक्तिहरू पनि छन्।

उक्त कुरालाई लिएर थाइल्यान्ड सरकारले अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेको थियो।

सैन्य सरकारका न्यायमन्त्री जेनरल पाइबून कुम्चायाले लागुऔषधविरुद्धको युद्ध असफल भएको भन्दै कम दण्डसहितको व्यवस्था गर्ने घोषणा गरेका थिए।

नयाँ कानुनसँगै गाँजासम्बन्धी आरोप लागेका चार हजारभन्दा बढी मानिसहरू अहिले जेलबाट छुटेका छन्।