अफगानिस्तानको अफिम खेतीले सौर्य ऊर्जाबारे हामीलाई के सिकाउन सक्छ

- Author, जस्टिन रोलाट
- Role, प्रमुख वातावरण संवाददाता
सौर्य ऊर्जाले रूपान्तरण ल्याउन सक्ने कुरामा यदि तपाईँलाई कुनै शङ्का छ भने यो सामग्री पढ्नुहोस्।
कठिन वातावरणमा पनि सौर्य ऊर्जाले आफ्नो औचित्य पुष्टि गरेको विषयमा यो सामग्री केन्द्रित छ।
मैले कुरा गर्न लागेको बजार सम्भवतः यो ग्रहकै पुँजीवादको सबैभन्दा विशुद्ध उदाहरण होला।
यसमा कुनै सहुलियत दिइँदैन। कसैले जलवायु परिवर्तन अथवा अरू कुनै नैतिक विषयबारे सोचिरहेका छैनन्।
यो साना उद्यमीहरूले मुनाफा गर्न गरिरहेका प्रयासबारे हो।
अफगानिस्ताका अफिम उत्पादक किसानहरूले सिँचाइका लागि सौर्य ऊर्जा प्रयोग गर्न थालेको र त्यसले विश्वमा हेरोइनको आपूर्तिमा ल्याएको वृद्धि बारेको यो कथा हो।
हेलमन्ड उपत्यकामा अफिम लगाइएका खेत माथिको आकाशमा उडिरहेको एउटा सैनिक हेलिकप्टरबाट मैले पहिलो सोलर प्यानल देखेँ।
तपाईँले हेलमन्ड प्रान्तबारे सुन्नुभएको होला। यो अफगानिस्तानको सबैभन्दा खतरनाक प्रान्त हो।
अफिम उत्पादनको दृष्टिकोणले पनि हेलमन्ड प्रान्त यो ग्रहकै एकदमै उत्पादक क्षेत्रको रूपमा रहेको छ।
अधिकांश अफिम हेरोइनको रूपमा प्रशोधन गरिन्छ जुन त्यहाँको ठूलोमध्येको लागुऔषध हो।

अवैध लागुऔषध उत्पादनको विषय हेर्ने राष्ट्रसङ्घीय निकाय यूएनओडीसीका अनुसार अफगानिस्तानमा उत्पादन हुने अफिममध्ये करिब ८० प्रतिशत हेलमन्डसहितका दक्षिण-पश्चिमी प्रान्तबाट आउँछ।
यो भनेको विश्वभरि गरिने आपूर्तिको दुई तिहाइ हो।
हुन त सन् २०१६ मै कतिपय अफिम खेतमा केही सङ्ख्यामा सोलर प्यानल देखिएका थिए।
तर अहिले आएर हेरोइन उत्पादनमा निकै वृद्धि भएको छ।
एउटा अध्ययनले विगत पाँच वर्षमा अफगानिस्तानका अफिम उत्पादक किसानहरूले सौर्य ऊर्जा व्यापक रूपमा प्रयोग गर्न थालेपछि विश्वमा अफिम उत्पादनमा वृद्धि भएको देखाएको छ।
भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा देखिएअनुसार दक्षिण-पश्चिमी अफगानिस्तानमा लगभग सबै किसानले सिँचाइका लागि डिजेलबाट चल्ने पम्पको सट्टा सोलर प्यानलको प्रयोग गरिरहेका छन्।
पछिल्लो समय अफगानिस्तानमा अफिम उत्पादन गर्ने क्षेत्र दुई गुनाले बढेको पनि पाइएको छ।
अफिम उत्पादक किसानहरूले सौर्य ऊर्जा प्रयोग गर्न थालेकोबारे पहिलो रिपोर्ट सन् २०१३ मा आएको थियो।
त्यसको अर्को वर्ष हेलमन्डको राजधानी लश्कर गाहमा व्यापारीहरूले सोलर प्यानल राख्न थाले।

त्यसयता त्यसमा अनपेक्षित वृद्धि भएको छ। सोलर प्यानल राख्ने खेतहरूको सङ्ख्या हरेक वर्ष दुई गुनाले बढिरहेको छ।
पूर्वब्रिटिश सैनिक रिचर्ड ब्रिटानको टोलीले सन् २०१९ सम्ममा हेलमन्ड उपत्यकामा मात्रै ६७,००० हजार सोलर प्यानल रहेको गणना गरेको छ।
"यी किसानहरूका लागि सौर्य ऊर्जाले सबै कुरा बदलिदिएको छ," अध्ययन प्रतिवेदनका लेखक डेविड म्यान्सफिल्ड भन्छन्।
अफगानिस्तानको अफिम उत्पादनबारे २५ वर्षभन्दा बढी समयदेखि उनले अध्ययन गर्दै आएका छन्।
पानी तान्नका लागि जेनेरेटरमा हालिने डिजेल किसानहरूका लागि निकै खर्चिलो हुन्थ्यो।
"यो खर्चको कुरा मात्रै होइन दुर्गम क्षेत्रमा पाइने डिजेल एकदमै मिसावटयुक्त हुँदा जेनेरेटर छिट्टै बिग्रिरहन्थे जुन किसानका लागि ठूलो समस्या थियो," म्यान्सफिल्डले थपे।
अफिम खेती हुने जमिनमा प्रतिवर्ष दशौँ हजार हेक्टरले वृद्धि भइरहेको पाइएको छ।

सन् २०१८ सम्ममा दुई गुनाले बढेर ३,१७,००० हेक्टर पुग्यो। सन् २०१९ मा ३,४४,००० पुग्यो।
"र यो बढ्दो क्रममा छ," पूर्वसैनिक ब्रिटानले भने। साथै उत्पादकत्व पनि बढिरहेको छ।
सौर्य ऊर्जाको मद्दतबाट तानिएको पानीले मरुभूमिलाई उर्बर बनाइरहेको उनी बताउँछन्।
राष्ट्रसङ्घीय निकायमा अनुसार अफिम उत्पादकहरूले सौर्य ऊर्जा प्रयोगमा ल्याउनुअघि अर्थात् सन् २०१२ मा अफगानिस्तानले ३,७०० टन अफिम उत्पादन गरेको थियो।
सन् २०१६ मा त्यो मात्रा ४,८०० टन पुग्यो।
यो कुराले सौर्य ऊर्जाबारे हामीलाई के भन्छ?
कुरा सोझो छ। सौर्य ऊर्जा कसरी रूपान्तरकारी हुन सक्छ भन्ने कुरा अफगानिस्तानमा हेरोइन उत्पादनमा आएको क्रान्तिको कथाले हामीलाई भन्छ।
तर यो कुनै सौम्य खालको हरित प्रविधि हो भन्ने कल्पना नगर्नुहोस्।

यसले के पनि प्रमाणित गर्छ भन्ने परिणाम सधैँ सकारात्मक हुँदैन।
यो कुरा अफगान किसान र हेरोइनका दुर्व्यसनीका लागि पनि सत्य हो।
हेलमन्डमा अहिले यति धेरै पानी तान्न थालिएको छ कि हरेक वर्ष पानीको सतह तीन मिटरले घटिरहेको अनुमान छ।
डर के छ भने छिट्टै त्यहाँ पानी सकिन सक्छ।
"शायद यो वरदान १० वर्षभन्दा बढी नटिक्ला," अफगानिस्तानको सबैभन्दा ठूलो थिङ्क ट्याङ्क रिसर्च एन्ड इभ्यालुएशन युनिटकी ओर्जला नेमत भन्छिन्।
यसले मरुभूमितिर सरेका मानिसहरूलाई मात्रै नभई सिङ्गो क्षेत्रलाई असर पार्न सक्ने उनको ठम्याइ छ।
पन्ध्र लाखभन्दा बढी मानिसहरू बसाइँ सर्न बाध्य हुन सक्छन्।
कतिपय अफगानहरू देशकै अरू भागमा भने कतिपय युरोप र अमेरिका बसाइँसराइ गर्न सक्ने उनी बताउँछिन्।








