कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

तस्बिर स्रोत, HULTON ARCHIVE/GETTY IMAGES
सन् १८४० को जुन महिनामा ब्रिटिश युद्धपोतहरुको एउटा लश्कर चीनको पर्ल रिभर डेल्टामा पुगेर आक्रमण शुरु गर्यो। उतिबेला कमजोर तटीय सुरक्षा व्यवस्था रहेको पृष्ठभूमिका बीच लडाइँमा ब्रिटेनको सामना गर्न नसकेको चीन घुडाँ टेक्न बाध्य भयो।
त्यो पहिलो अफिम युद्ध थियो जसमा हजारौं मानिस मारिए, त्यो पनि खुला व्यापारको नाममा।
गैरकानूनी भए पनि त्यतिबेला चीनमा अफिम कारोबारप्रति निकै आकर्षण थियो।
स्कटल्याण्डका दुईजना व्यक्ति अफिम कारोबारमा संलग्न थिए र अफिम युद्धको थालनीमा उनीहरुले ठूलो भूमिका निर्वाह गरेका थिए।
अफिम कारोबार
डमफ्रेशरका विलियम जार्डाइन पेशाले एक पूर्व चिकित्सक थिए र सदरल्याण्डका जेम्स म्याथिसन एक व्यापारी थिए।
चीनको एउटा वेश्यालयमा पहिलो पटक भेटेका उनीहरु व्यापारमा साझेदार बन्न पुगे।
सन् १९३२ मा दक्षिणी चीनको क्याण्टन शहरमा उनीहरुले जार्डाइन, म्याथिसन एण्ड कम्पनी खोले।

तस्बिर स्रोत, NATIONAL PORTRAIT GALLERY
१३ वटा उद्योग भएको सो जिल्लाको एउटा क्षेत्रमा मात्रै विदेशीहरुलाई व्यापार गर्न दिइएको थियो।
उनीहरुले चियाको सट्टा अफिमको कारोबार गर्दथे।
ब्रिटेनमा चाहिँ चिया निकै लोकप्रिय थियो।
ब्रिटेनको संघर्ष
१८ औं शताब्दीको अन्त्यसम्म ब्रिटेनले क्याण्टनबाट प्रतिवर्ष ६० लाख पाउण्ड बराबरको चिया आयात गर्दथ्यो।
त्यतिबेला चीनले कारोबारमा चाँदी मात्रै स्वीकार्ने गरेकोले व्यापार गर्न ब्रिटेनले निकै संघर्ष गर्नुपरेको थियो।
ब्रिटेनले चिया खरिद गरेवापत भाँडाकुँडा, वैज्ञानिक उपकरण र ऊनी कपडा जस्ता सामान दिने प्रस्ताव गर्यो।

तस्बिर स्रोत, HULTON ARCHIVE/GETTY IMAGES
तर चीनले ब्रिटिश प्रस्ताव अस्वीकर गर्यो।
चीनका तत्कालीन सम्राट कियान लङ्गले राजा जर्ज तृतीयलाई पत्र लेखे, "हामीसँग सबथोक छ र ती सबै उच्च गुणस्तरका छन्। तपाईँहरुले दिने सामानको मैले कुनै महत्त्व दिन्न र तपाईँको देशमा निर्मित सामानको मेरो देशमा कुनै उपयोग छैन।"
५० वर्षसम्म ब्रिटेनले चीनलाई २ करोड ७० लाख पाउण्ड बराबरको चाँदी भुक्तान गर्यो तर त्यसको सट्टा उसले चीनलाई मात्र ९० लाख पाउण्ड बराबरको सामान बेच्न सक्यो।
ब्रिटेनले चीनबाट आयात गर्ने चियाको मूल्य बिस्तारै बढ्न थाल्यो तर पैसा बनाउने कुनै विकल्प देखिएको थिएन।
चीनमा कुलत
कम्तीमा कानूनी रुपमा त्यस्तो अवस्था देखियो।
भारतमा रहेका ब्रिटिश व्यापारीहरुले त्यस्तो अवस्थालाई अवसरका रुपमा हेरे।
त्यतिबेला बंगालमा ठूलो मात्रामा अफिम खेती हुने गर्दथ्यो।
चीनमा अफिम प्रतिबन्धित भएपनि चिनियाँ चिकित्सा पद्धतिमा हजारौं वर्षदेखि अफिमको प्रयोग हुँदै आएको थियो।
तर १५ औं शताब्दीमा सूर्तीमा मिसाएर आनन्दका निम्ति त्यहाँ अफिमको प्रयोग हुन थाल्यो।

तस्बिर स्रोत, HULTON ARCHIVE/GETTY IMAGES
छिट्टै चिनियाँ समाजको एउटा ठूलो हिस्सा अफिमको कुलतमा फस्यो।
र, समाज त्यसको गलत असर देखिन थाल्यो।
अफिमको कुलतमा फसेका मानिसहरुले अफिम किन्नका लागि आफ्ना सामान समेत बेच्न थाले।
चिनियाँ सम्राट युङ जङले सन् १७२९ मा अफिमको खरिद-विक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाए।
आम्दानीको बाटो
तर त्यसको सय वर्ष बितिसक्दा पनि चीनका मानिसहरुका अफिमप्रतिको आशक्तिमा कुनै कमी देखिएन।
र, ब्रिटिशहरुले उक्त कुलतलाई लिएर शोषण गर्न थाले।
सन् १८३६ सम्ममा भारतबाट प्रत्येक वर्ष ३०,००० डिब्बा अफिम चीन पुग्न थाल्यो।
कुल कारोबारको एक चौथाई हिस्सामा जार्डाइन, म्याथिसन एण्ड कम्पनीको कब्जा थियो।
अफिममाथि चिनियाँ प्रतिबन्धका माझ ब्रिटेनले चीनबाट आम्दानी बढाउने बाटो निकाल्यो।
हंगकंग विश्व विद्यालयका प्राध्यापक जोन क्यारोल भन्छन्, "ब्रिटिशहरुलाई यो महशुस भयो कि भारतको पूर्वी क्षेत्रमा ठूलो मात्रामा अफिम खेती हुन्छ र चीनमा त्यसको तस्करी गरेर धेरै पैसा आर्जन गर्न सकिन्छ।"

तस्बिर स्रोत, HULTON ARCHIVE/GETTY IMAGES
र, क्याण्टनको तटीय स्थितिका कारण चीनमा अफिम तस्करी गर्न ब्रिटेनलाई सहज भयो।
प्राध्यापक क्यारोल भन्छन्, "उनीहरुले सजिलैसँग तटीय क्षेत्रमा पुग्ने गरी साना डुङ्गामा अफिम ओसार्थे। त्यो लिनलाई तटमा मानिसहरु हुन्थे। आर्थिक दृष्टिकोणले ब्रिटेनका लागि त्यो महत्त्वपूर्ण साबित भयो।"
तर चिनियाँ कानून विपरीतको ब्रिटेनको गतिविधि धेरै समयसम्म गोप्य रहन सकेन।
युद्धको घोषणा
सन् १८३९ मा चिनियाँ सम्राट डाओग्वाङले नशालु पदार्थविरुद्ध युद्धको घोषणा गरे।
चिनियाँ सेनाले क्याण्टनको औद्योगिक क्षेत्रस्थित पश्चिमा व्यापारीहरुको गोदाममा छापा मारे र सीलबन्दी गरिदिए।
चीनले विदेशी व्यापारीहरुलाई आत्मसमर्पण गर्नका निम्ति बाध्य बनायो।
चीनले उक्त कारबाहीका क्रममा २० लाख पाउण्ड मूल्यको सामान जफत गर्यो।
त्यसमा २०,००० अफिमका डिब्बा र ४२,००० अफिम सेवन गर्ने पाइप पनि थिए।

तस्बिर स्रोत, HULTONARCHIVE/ILLUSTRATED LONDON NEWS/GETTY IMAGES
चिनियाँ कारबाहीबाट झट्का बेहोरेपछि विलियम जार्डाइन क्याण्टनबाट लण्डन फर्किए र त्यहाँ उनले ब्रिटिश विदेशमन्त्री लर्ड पाल्मर्स्टनलाई चीनमाथि जवाफी कारबाही गर्न आग्रह गरे।
ब्रिटिश साम्राज्यले भारतमा संकलन गर्ने राजश्वमा अफिमको ठूलो योगदान थियो।
अतः चीनमा नौसेना पठाउने निर्णयमा पुग्न ब्रिटिश सरकारलाई धेरै समय लागेन।
सन् १८४० को जुनमा ब्रिटेनका १६ वटा युद्धपोत र १७ वटा पानीजहाज चीनको पर्ल रिभर डेल्टातर्फ लागे।
चिनियाँ हैसियत
जहाजबाट ४,००० मानिसहरु तटीय क्षेत्र नजिक पुगे।
ब्रिटिश लश्करमा फलामबाट निर्मित नेमेसिस युद्धपोत पनि थियो जसमा दुई माइलसम्म हान्न सकिने 'रकेट लञ्चर' थियो।
युद्धका निम्ति चीन तयार रहे पनि ब्रिटेनको सामना गर्न सक्ने हैसियत उसमा थिएन।
ब्रिटेनले चिनियाँ अस्त्रहरु साढे पाच घण्टाभित्रै ध्वस्त पारिदियो।
त्यसपछि ब्रिटिश नौसेनिकहरु चिनियाँ तटीय क्षेत्र हुँदै सांघाईतर्फ बढे।
अधिकांश चिनियाँ सैनिकहरु अफिमको कुलतमा फसिसकेका थिए र हरेक युद्धमा हार्न थालेका थिए।

तस्बिर स्रोत, HULTON ARCHIVE/GETTY IMAGES
ब्रिटेनसँगको अफिम युद्धमा २०,००० देखि २५,००० चिनियाँ मारिए जबकि मात्र ६९ जना ब्रिटिशहरुले ज्यान गुमाए।
उक्त युद्धपछि चिनियाँ साम्राज्य तहसनहस हुन पुग्यो।
सन् १८४२ को अगस्टमा नान्किङ शहर नजिकै पर्ने एचएमएस कर्नवालिसमा चीनले ब्रिटेनसँग सम्झौता गर्यो जसलाई 'असमान सन्धि' को रुपमा हेरिन्छ।
सम्झौतासँगै चीनले विदेशी व्यापारका लागि पाँचवटा बन्दगाह खोल्नुपर्यो अनि अफिम कारोबार नहुँदा र युद्धका कारण ब्रिटेनले क्षति बेहोरेको भन्दै चीनले क्षतिस्वरुप २ करोड १० लाख चाँदीका सिक्का दिनुपर्यो।








