इक्वेडरको कारागारमा भड्किएको हिंसामा कम्तीमा ६८ को मृत्यु

तस्बिर स्रोत, Getty Images
इक्वेडरको एक कारागारभित्र भएको झगडामा कम्तीमा ६८ जना कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
लिटोरल पेनीटेन्टीयरीभित्र गएको सेप्टेम्बरमा पनि झगडा हुँदा १०० भन्दा बढी कैदीको मृत्यु भएको थियो।
नयाँ झगडा भने शुक्रवार साँझ सुरु भएको र कारागारभित्र प्रवेश गरेको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको विवरणहरू सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।
यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ।
सेप्टेम्बरमा भएको दुई समूहबीचको घटना भने त्यहाँको इतिहासमै सबैभन्दा हिंसक हो।
त्यस बेला कारागारको एउटा क्षेत्रमा रहेका कैदीहरू सुरुङबाट अर्को क्षेत्रमा प्रवेश गरी विरोधी समूहका कैदीमाथि आक्रमण गरेका थिए। त्यहाँको स्थिति नियन्त्रण गर्न सयौँ सुरक्षा अधिकारीहरू र सैनिकहरू तैनाथ गरिएका थिए।
अहिलेको झगडामा २५ जना घाइते भएका छन्। हालैका दिनहरूमा सो कारागारभित्र ससाना झैझगडा भएको र तीन कैदीको गोली हानी हत्या गरिएको थियो।
शनिवार पनि त्यहाँ झगडा कायम रहेपछि कारागार बाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट सुरक्षित गरिएको बताइएको छ।

तस्बिर स्रोत, Getty Images
कारागारबाहिर टाँसिएको मृतकहरूको सूची हेर्न कैदीका परिवार र साथीसम्बन्धी जम्मा भएका थिए।
अधिकारीहरूका अनुसार एक समूहका नाइके रिहा भए पछि उत्पन्न क्षेत्रसम्बन्धी विवादका कारण झगडा सुरु भएको थियो।
"कारागारको एउटा क्षेत्र नाइकेविहीन बनेपछि अन्य समूहहरूले प्रवेश गरेर आमहत्या गरे," कारागार रहेका प्रान्तका गभर्नर पाब्लो अरोसेमेनाले भने।
हिंसा भड्किएको कारागार क्षेत्रमा ७०० कैदी रहेको उनले बताए।
ट्विटरमा प्रेषित छोटो सन्देशमा राष्ट्रपति गुलेर्मो लास्सोले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै अराजकताबाट फाइदा लिने समूहलाई नियन्त्रण गर्न नयाँ व्यवस्था चाहिएको बताएका छन्।

तस्बिर स्रोत, Reuters
बीबीसीलाई यो महिनाको सुरुमा दिएको एक अन्तर्वार्तामा लास्सोले आफ्नो सरकारले कारागारभित्र मात्रै नभई लागु औषध कारोबारको केन्द्र रहेका इक्वेडरका क्षेत्रहरूमा नियन्त्रण कायम राख्दै गएको दाबी गरेका थिए।
उनले अघिल्ला सरकारहरू लागु औषध कारोबारमा चुप रहेको आरोप लगाउँदै त्यहाँको लागु औषध नियन्त्रणका लागि एक दशकभन्दा बढी समय लाग्न सक्ने बताएका थिए।
उनले छिमेकी कोलम्बियाका साथै अमेरिका र युरोपबाट आफ्नो सशस्त्र बललाई सहयोग चाहिने पनि बताएका थिए।
इक्वेडरका कारागारहरूका क्षमताभन्दा ९,००० बढी कैदीहरू रहेका अधिकारीहरू बताउँछन्। हिंसा भएको कारागारको क्षमता ५,३०० भए पनि त्यहाँ ८,५०० कैदी रहेको बताइएको छ।








