नोरो भाइरस: दक्षिण भारतमा देखा परेको यो कस्तो विषाणु हो? कसरी जोगिने?

नोरोभाइरस

तस्बिर स्रोत, Science Photo Library

दक्षिण भारतको केरला राज्यमा नोरोभाइरस फेला परेको पुष्टि भएको छ।

केरलाकी स्वास्थ्यमन्त्री वीना जोर्जले शुक्रवार सर्वसाधारण नागरिकलाई नोरोभाइरसबारे सतर्क रहन आग्रह गर्दै त्यसबाट जोगिने उपायहरू सार्वजनिक गरेकी छन्।

यो भाइरसलाई अङ्ग्रेजीमा 'विन्टर भमिटिङ बग' पनि भनिन्छ। यसको सङ्क्रमण हुँदा मानिसलाई उल्टी र पखाला लाग्छ।

नोरोभाइरस जनावरबाट मानव शरीरमा सर्छ। यो अतिसङ्क्रामक हुन्छ। विज्ञहरूले यसलाई "भाइरसको संसारको फरारी" को सङ्ज्ञा दिने गरेका छन्।

दुई हप्ताअघि वायनाड जिल्लाको विथिरनजिकै रहेको पुकोडेस्थित एक पशुचिकित्सा क्याम्पसका १३ जना विद्यार्थी नोरोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो।

स्वास्थ्य अधिकारीहरूले भाइरस नियन्त्रणमा आइसकेको र उक्त भाइरस थप फैलिएको कुनै सूचना नआएको बताएका छन्।

अहिले सर्वसाधारणलाई यो भाइरसबारे जानकारी दिन थालिएको छ। पशुचिकित्सा विज्ञान क्याम्पसका विद्यार्थीहरूको विवरण पनि राखिएको छ।

उक्त क्याम्पसका अधिकारीहरूका अनुसार सङ्क्रमण सबैभन्दा पहिले क्याम्पस परिसर भन्दा बाहिर बस्ने विद्यार्थीहरूमा देखा परेको थियो।

त्यसपछि स्वास्थ्य अधिकारीहरूले त्यसको नमुना लिएर परीक्षणका लागि अलाप्पुझास्थित भाइरस विज्ञान संस्थान (एनआईवी) मा पठाएका थिए।

राज्यकी स्वास्थ्यमन्त्री वीना जोर्जले स्वास्थ्य अधिकारीहरूको एउटा बैठकको अध्यक्षता गरिन् र वायनाडको स्थितिबारे जानकारी लिइन्।

स्वास्थ्य विभागले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मन्त्री र सरकारी अधिकारीहरूले भाइरस फैलिन नदिनका लागि आवश्यक कार्य तीव्र गतिमा गर्न निर्देशन दिएका छन्।

नोर्वाक अर्थात् नोरोभाइरसले पेटमा सङ्क्रमण गर्छ

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, नोर्वाक अर्थात् नोरोभाइरसले पेटमा सङ्क्रमण गर्छ

अहिले चिन्ता गर्नुपर्ने परिस्थिति नरहेको तर सबैले सतर्कता भने अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यो भाइरस दूषित खाद्य पदार्थ र पानी अनि सङ्क्रमित व्यक्तिबाट फैलिन्छ।

पानी स्वच्छ राख्न 'सुपर क्लोरिनाइजेशन' गरिएको अधिकारीहरूले जनाएका छन्।

केरलाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा नोरोभाइरसबाट सङ्क्रमित मानिसहरूले घरमै आराम गर्नुपर्ने उल्लेख छ।

त्यस्ता व्यक्तिहरूले जीवनजल र उमालेको पानी पिउनुपर्ने हुन्छ।

खाना खानुअघि र शौचालय गइसकेपछि साबुनपानीले राम्ररी हात धुन भनिएको छ। सरकारी सूचनामा पशुपक्षीसँग सम्पर्कमा रहने मानिसले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

स्वस्थ मानिसमा नोरोभाइरसको प्रभाव त्यति धेरै नपर्ने भए पनि बालबालिका, वृद्ध र स्वास्थ्यसम्बन्धी अन्य समस्या झेलिरहेका मानिसहरूलाई भने यसले गम्भीर प्रभाव पार्न सक्छ।

लक्षण के हुन्?

इङ्ग्ल्यान्डमा यो वर्षको जुलाई महिनामा १५४ जनामा नोरोभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

अचानक पखाला लाग्नु र उल्टी हुनु यो सङ्क्रमणको लक्षण हो। त्यसबाहेक उच्च ज्वरो र शरीरमा दुखाइ पनि यसको लक्षण हो।

सङ्क्रमित भएको एकदेखि दुई दिनपछि लक्षणहरू देखा पर्छन्।

यो भाइरस निकै तीव्र गतिमा फैलिन्छ। सङ्क्रमित व्यक्तिबाट भाइरसका करोडौँ कण निस्किन सक्ने र अरूलाई सर्न केही कण मात्रै पर्याप्त हुने बताइएको छ।

सङ्क्रमित व्यक्तिसँग संसर्ग भए वा थुकबाट यो भाइरस फैलिन सक्ने सम्भावना रहन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

कसरी जोगिने?

अनुसन्धानकर्ताहरूले ४० वर्षदेखि नोरोभाइरस सङ्क्रमणको उपचार खोजिरहेका छन्। तर यसका विरुद्ध कुनै उपाय पनि प्रभावकारी देखिएको छैन।

चिकित्सकहरूका अनुसार यो भाइरसबाट जोगिन पटकपटक साबुन र तातो पानीले हात धुनुपर्छ।

कपडा र शौचालय सफा राख्नुपर्छ र पानीमा 'ब्लीच' हालेर घरको सफाइ गर्नुपर्छ।

एल्कोहलले कोरोनाभाइरसलाई मारे पनि नोरोभाइरसलाई मार्न सक्दैन।

तर ६० डिग्री तापमानमा कपडा धुँदा भने यो भाइरस मर्न सक्छ।