विमान दुर्घटनामा परेर एमजन जङ्गलमा हराएका बालबालिका ४० दिनपछि जीवितै भेटिए

कोलम्बियाको सेनाले उनीहरू जङ्गलमा भेटाएपछिको तस्बिर सार्वजनिक गरेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कोलम्बियाको सेनाले उनीहरू जङ्गलमा भेटाएपछिको तस्बिर सार्वजनिक गरेको छ

कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्।

कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु "पूरा देशका लागि हर्षको विषय" भएको बताए।

उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्।

उक्त जङ्गलमा मे १ मा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो।

उनीहरू दर्जनौँ सैनिक र स्थानीय मानिसहरू संलग्न एउटा ठूलो उद्धार अभियानको केन्द्रमा थिए।

राष्ट्रपति गुस्तभो पेत्रोले ती बालबालिकाहरू फेला पर्नु एउटा "चमत्कारिक दिन" भएको बताएका छन्।

उनले भने, "उनीहरू एक्लै थिए, इतिहासमा लेखिने गरी पूरै बच्नुको एउटा उदाहरण उनीहरू आफैँले बनाएका छन्।"

"यी बालबालिकाहरू शान्तिका प्रतिक र कोलम्बियाका बालबालिका हुन्।"

लाइन
लाइन

दुर्घटना र खोजी

पेत्रोले ४० दिनदेखि हराएका उनीहरूको खोजीमा संलग्न भएका कैयौँ सैनिक र आदिवासी समुदायको तस्बिर सेअर गरेका छन्।

उनले ती बालबालिकाहरूले चिकित्सकीय स्याहार पाइरहेको बताएका छन्।

राष्ट्रपति पेत्रोले बालबालिकाका हजुरबुवासँग कुरा गरेको बताउँदै उनले "जङ्गल माताले उनीहरूलाई फिर्ता पठाएको" भनेको जनाएका छन्।

ती बालबालिकाहरूलाई विमानमार्फत् देशको राजधानी बोगोटा पुर्‍याइएको थियो र त्यहाँ एम्बुलेन्सहरूले थप उपचारका लागि उनीहरूलाई अस्पताल पुर्‍याएका थिए।

दुर्घटनाअघि ती बालबालिका र उनीहरूकी आमा एमजन्स प्रान्तमा पर्ने अराराकुआराबाट सेस्ना २०६ विमानमा सान खोसे डेल गुआभिआरेतर्फ गइरहेका बेला इन्जिनले काम नगरेपछि पाइलटहरूले आपत्कालीन अवस्थाको जनाउ ‘मे डे’ जारी गरेका थिए।

सेनाले त्यस विमानमा रहेका तीन जना वयस्क मानिसहरूका शव दुर्घटनास्थलमा फेला पारेको छ।

तर ती बालबालिकाहरू भग्नावशेषबाट निस्किएर वर्षावनमा सहायता खोज्न हिँडेको देखिन्छ।

यसरी गरिएको थियो जीवितै रहेको विश्वास

भेटिएका बालबालिकासँग तस्बिर खिचाउँदै सैनिकहरू

तस्बिर स्रोत, Reuters

मे महिनामा विस्तृत खोज कार्य सुरु हुँदा उद्धारकर्ताले ती बालबालिकाले छाडेका सामग्रीहरू फेला पारेका थिए।

जसमा एउटा उनीहरूको पानी खाने बोतल, एक जोडी कैँची, एउटा कपाल बाँध्ने रबर, एउटा अस्थायी झुपडी फेला पारिएको थियो।

साना पदचापहरू समेत फेला पारिएका थिए जसले गर्दा ती बालबालिकाहरू वर्षावनमा अझै जीवितै रहेको खोजमा संलग्न टोलीले ठानेको थियो।

उक्त जङ्गल जग्वार, सर्प र अन्य हिंस्रक जनावरहरूको वासस्थान हो।

ती बालबालिकाहरू हुइतोतो आदिवासी समूहका हुन् र उक्त जातीय समूहका सदस्यहरूले आफूहरूमा हुने फलफूलको ज्ञान र जङ्गलमा बचेर काम गर्न सक्ने सीपले गर्दा उनीहरू जीवितै रहन सक्ने सम्भावना रहने विश्वास गर्दै आएका थिए।

आदिवासी समुदायका मानिसहरू खोज कार्यमा सहभागी थिए भने हेलिकप्टरहरूले ती बालबालिकाकी हजुरआमाले हुईतोतो भाषामा रेकर्ड गरेको सन्देश बजाएको थियो।

जसमा उनीहरूकी हजुरआमाले उनीहरूको अवस्थिति थाहा पाउन सजिलो होस् भनेर हिँड्न रोक्न आग्रह गरेकी थिइन्।

गत महिना कोलम्बियाका राष्ट्रपतिले भूलवश ती बालबालिकाहरू फेला परेको भन्ने ट्विट गरेपछि आलोचित बनेका थिए।

त्यसको अर्को दिन उनले उक्त ट्विट हटाउँदै कोलम्बियाको बाल कल्याण निकायले दिएको उक्त सूचना पुष्टि हुन नसकेको बताएका थिए।