केन्याली टिकटक स्टारको अन्तिम संस्कारको त्यो दृश्य जसले उनको परिवार र गाउँलेलाई स्तब्ध तुल्यायो

तस्बिर स्रोत, Courtesy
अन्तिम संस्कार परिवार र आफन्तहरूले गम्भीर भएर वियोग महसुस गर्ने एउटा क्षण हो। तर सामाजिक सञ्जालको अहिलेको यो युगमा मृतकले आफ्नो जीवनका भित्री कुराहरू ठूलो जमातसँग साटेको हुनसक्छ र मृतकलाई चिनेको ठान्ने मानिसहरूले यस्तो दुःखद घडीबारे अलग्गै सोच पनि राख्न सक्छन्।
यदि आम व्यक्ति हुन्थे भने, केन्यामा यी २३ वर्षका टुहुरा व्यक्तिको अन्तिम संस्कारमा उनी निकटका व्यक्तिहरूले मात्रै भाग लिन्थे।
तर दुई हप्ताअघि राजधानी नैरोबी नजिकै सडक दुर्घटनामा ज्यान गुमाएका टिकटकर ब्रायन चिराको हकमा त्यस्तो भएन।
एक वर्षभन्दा केही बढी समयमा नै उनलाई टिकटकमा ४ लाख जनाले पछ्याएका थिए। सामाजिक र प्रेम सम्बन्धबारेका उनका मिजासिला, ठट्टा मिश्रित भिडिओले कैयौँ मानिसहरूलाई मनोरञ्जन दिन्थ्यो भने आश्चर्यमा पनि पार्थ्यो।
‘चिरा क्लान’ भनिने उनका समर्थकहरू अल्पायुमा नै ज्यान गुमाएका आफ्ना स्टारप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्थे। उनीहरूले अन्तिम संस्कारका लागि एउटा कोष खडा गरे जसमा उनका समर्थकहरूले ६० हजार डलर अर्थात् करिब ८० लाख नेपाली रुपैयाँ बराबर रकम उठाए जसले आयोजकहरूलाई अचम्मित तुल्यायो।
तर हजारौँको भिड उनको अन्तिम संस्कार समारोहमा भाग लिन मध्य केन्याको दुर्गम गाउँ गिटेमा पुगेपछि चिराको परिवार र छिमेकीहरू अहिले पनि सामान्य अवस्थामा फर्कन प्रयास गरिरहेका छन्।
मङ्गलवारको उक्त समारोहमा ५०० जना मानिसहरू भाग लिने अपेक्षा गरिएको थियो तर सहभागीहरूको सङ्ख्या बढेर ५ हजार भन्दा बढी पुग्यो।
भीड र उपद्रव

तस्बिर स्रोत, Courtesy
“उनीहरू असङ्गठित टिकटकर थिए र कसैले पनि उनीहरूलाई परिचालित गरेको थिएन। हामीले वास्तवमा उनीहरूले छिमेकमा भइरहेको अरू कसैको अन्तिम संस्कारमा भाग लिइरहेको ठान्यौ,” आयोजकमध्येका एक रहेका चिराका साथी फाउस्टीन लुकालेले बीबीसीसँग भने।
लुकाले सामाजिक सञ्जालमा बाबा तलिसाका नामले चर्चित छन् र ठूलो जमातले उनको फोटोग्राफी पछ्याउने गर्छन्।
उनले शोकमा उभिएको ठूलो भिडका लागि आफूहरूले तुरुन्तै थप टेन्ट र कुर्सीहरूको प्रबन्ध गर्नुपरेको सुनाए।
उक्त अन्तिम संस्कारलाई सम्भव तुल्याएकोमा युवाहरूको प्रशंसा भइरहेको छ तर कतिपयले दुर्व्यवहार गरेको जस्तो पनि देखिएको छ।
गाउँहरूले आफूहरूले त्यत्ति ठूलो युवाहरूको भिड र उपद्रो कहिल्यै पनि नदेखेको बताएका छन्। सहभागीमध्ये कतिपय मदिरा सेवन गरेर मातेका भनिएको छ।
धार्मिक व्यक्तिहरूले उक्त शव गाड्ने प्रक्रियालाई नेतृत्व गर्ने अवसर समेत नपाएको जनाइएको छ। कतिपयले लाइभस्ट्रिम गर्नका लागि शोक प्रकट गर्न आएका अरू व्यक्तिहरूलाई धकेलेको र केहीले चिराको शव गाड्ने स्थानमा सेल्फीसमेत लिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त अन्तिम संस्कार समारोहको भिडिओ र फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
केन्यामा त्यो स्तरको युवा मानिसहरूको समूह राजनीतिक अभियानहरूमा पनि दुर्लभ ठानिन्छ।
अन्तिम संस्कार सम्पन्न भएको केही दिनपछि समेत चिरा केन्यामा टेन्ड्रिङ विषय बनिरहेका थिए र सामाजिक सञ्जाल एक्समा ७ हजार भन्दा बढी उनीसँग सम्बन्धित पोस्ट गरिएका थिए।
सन् २०२२ को डिसेम्बरमा मा एउटा स्थानीय टेलिभिजनले सडक दुर्घटनाको प्रत्यक्षदर्शीका रूपमा अन्तरवार्ता लिएपछि यी टिकटक स्टारको चर्चा चुलिएको थियो। प्रस्ट अङ्ग्रेजी बोल्ने क्षमता र घुलमिल हुने उनको व्यक्तित्वले दर्शकहरूलाई उनीप्रति तानेको थियो।
त्यसबाट फाइदा उठाउँदै उनले आफ्नो अनलाइन उपस्थितिलाई बिस्तार गरे। बाल्यकालमा नै अभिभावक गुमाएका चिराले शुल्क तिर्ने क्षमता नभएर विश्वविद्यालय छाड्नु परेको थियो।
उनकी आमाको मृत्यु भएपछि ८ वर्षको उमेरदेखि चिरा आफूसँगै रहेको हजुरआमा इस्थर नेरीले बताइन्।
पक्राउ र रिहा

तस्बिर स्रोत, Courtesy
चिराले पछि एउटा भिडिओ अन्तर्वार्ताका क्रममा आफू एचआईभी सङ्क्रमित भएको खुलासा गरेका थिए। जसकारण आफू मादक पदार्थको लतमा परेको र डिप्रेशनको सिकार भएको उनले बताएका थिए।
जीवनमा उनले निकै सङ्घर्ष गरेका थिए।
कुनै समय कन्टेन्ट क्रिएटरको रूपमा पनि काम गरेका उनले इमानदारितापूर्वक आफ्नो व्यक्तिगत अनुभव सुनाएका थिए।
महत्त्वाकाङ्क्षी टिकटकर बनेका चिरा बारम्बार विवादमा पनि आइरहे। अनलाइनमा आक्रामक प्रस्तुतिले उनलाई समस्यामा पनि पार्यो। गतवर्षको अगस्टमा टिकटकका समकक्षीहरूलाई साइबर हैरानी दिएको आरोपमा उनी पक्राउ परे।
केही भिडिओहरूमा उनले महिलाको पहिरन समेत लगाएका थिए जसले कतिपयलाई आक्रोशित बनायो।
मार्च १६को रात उनको शव नैरोबी भन्दा १६ किलोमिटर टाढाको एउटा सडकमा भेटियो। उनलाई लरीले ठक्कर दिएको थियो। प्रहरीका अनुसार उक्त लरीका चालकको अझैसम्म खोजी भइरहेको छ।
उनको मृत्युपछिको अन्तिम संस्कारमा टिकटकरहरू कैयौँ बसहरू भाडामा लिएर सहभागी भए। कतिपयले उनको सम्झना दिलाउने पहिरनहरू पनि लगाएका थिए।
आयोजकका अनुसार भीडले चिराको शवलाई सम्मानपूर्वक पुर्न अवरोध गरेको थियो।
“उनीहरूले जुन पहिरन लगाएका थिए, जसरी धूमपान गरे र हाम्रो अगाडी मादक पदार्थ पिए त्यो हामीलाई मन परेन। उनीहरूले पादरीलाई पनि आदर गरेनन्,” एक जना गाउँलेले नेसन न्यूज वेबसाइटसँग भनेका छन्।
अर्का एक जना गाउँलेले चिराको शव पुर्ने बेलामा प्रयोग गरिएका गालीजनक शब्दहरूले आफूलाई दुःखी बनाएको बताए।
चिरालाई उनका जिजुवुबाकै चिहानका छेउमा पुरिएको थियो। तर टिकटक चलाउने अरू मानिसहरू चिहानमाथि हिँडेको स्थानीय परम्पराको विपरीत थियो र गाउँलेहरूलाई त्यो मन परेको थिएन।
भीडलाई नियन्त्रण गर्न निकै कम सङ्ख्यामा मात्रै प्रहरी परिचालन गरिएको थियो। ठूलो भीड देखेपछि ती प्रहरीहरू छेउमै बसे र भीडले चिहानमा सेल्फी खिचेको गतिविधि नियाली रहे।
"मैले उनको शव पुर्ने काम नसकिँदै चिराकी हजुरआमालाई त्यहाँबाट लिएर जानुपर्यो," चिराका साथी लुकालेले सुनाए।
“उनको शव पुरिसकेपछि पनि टिकटकरहरू परिवारलाई भेट्न आएका थिए र निधनप्रति दुःख व्यक्त गरेका थिए तर चिराकी हजुरआमा थप निराश भइन्," उनले थप सुनाए।
उनको चिहानमा कतिपयले मदिरा खन्याएको देखेपछि गाउँले र धार्मिक अगुवाहरू थप स्तब्ध भए।
उनको शव पुर्न मात्रै ६,००० डलर खर्च भएको थियो। टिकटकहरूले चिहान क्षेत्रमा पुर्याएको क्षतिको मर्मतका लागि थप रकम खर्च भयो।
बाँकी रहेको पैसा परिवारलाई दिइने भनिएको थियो र त्यसबाट चिराकी हजुरआमाले घर किन्न सकुन्।
तर आलोचकहरूले टिकटकहरूले चिरालाई उनको जीवनमा सङ्घर्ष हुँदा अलपत्र छोडेको र उनको मृत्युमा मात्रै उत्सव मनाएको टिप्पणी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








