तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पेट र दिमागले सँगै कसरी काम गर्छन् र यसले किन धेरै अर्थ राख्छ
- Author, आन्ड्रे बिअरनथ
- Role, बीबीसी विश्व सेवा
हाम्रो पेट १० करोडभन्दा बढी स्नायु कोशिकाको घर हो र यो ९५ प्रतिशत सेरोटोनिन बनाउनका लागि काम लाग्छ। सेरोटोनिन त्यस्तो न्यूरोट्रान्समिटर हो जुन हाम्रो समग्र स्वास्थ्यसँग सम्बन्धित हुन्छ।
हालैका नयाँ प्रमाणले आन्द्राको माइक्रोबायोटा शारीरिक र मानसिक स्वास्थ्यका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरालाई प्रकाश पारेको छ। आन्द्राको माइक्रोबायोटा अर्बौँ अरब ब्याक्टेरिया, भाइरस, ढुसी र अन्य सूक्ष्म जीवहरूको समूह हो।
यसले हाम्रो पेट र दिमाग कसरी सम्बन्धित छ र एक अर्कालाई कसरी प्रभाव पार्छन् भन्ने देखाउँछ। सायद तपाईँले "गट फिलिङ" महसुस गर्नुभएको हुन सक्छ, कुनै महत्त्वपूर्ण बैठक अगाडि बान्ता आउला जस्तो लागेको हुन सक्छ वा कब्जियत भएको समयमा झिँजो लागेको हुन सक्छ।
तर यो सम्बन्ध कसरी स्थापित हुन सक्छ? र, के यो सम्बन्धलाई स्वस्थ र खुसी जीवनका लागि सुधार गर्न सम्भव छ?
पेट र दिमागको सम्बन्ध
यी दुई अङ्गहरू तीन तरिकाले आपसमा जोडिने डाक्टर शलिहा महमूद अहमद बताउँछिन्। उनी बावेल रिसर्च यूकेकी राजदूत तथा ग्यास्ट्रोइन्टेरोलोजिस्ट हुन्।
पहिलो भनेको भेगस नर्भ हो जुन स्नायु प्रणालीका लागि अत्यन्त महत्त्वपूर्ण संरचना हो जसले मस्तिष्कलाई मुटु, आन्द्रालगायतका विभिन्न अङ्गहरूसँग प्रत्यक्ष रूपमा जोड्छ।
दोस्रो, होर्मोनको सहायताले मस्तिष्क र पेटबीच सूचना आदान प्रदान हुनु हो। घ्रेलिन र जीएलपी-१ जस्ता तत्त्वहरू ग्रन्थिहरूले उत्पादन गर्छन् र शरीरभरि त्यसले सन्देश पठाउने काम गर्छ।
तेस्रो भनेको प्रतिरक्षा प्रणाली हो।
"धेरै मानिसहरू प्रतिरक्षा गर्ने कोशिकाहरू केवल रगत वा लिम्फ नोड्सहरूमा मात्रै बाँच्छन् भन्ने सोच्छन् तर खासमा त्यसको धेरै मात्रा हाम्रो पेटमा सञ्चालित हुन्छ र त्यसले दिमाग र पूरै शरीरसँग मध्यस्थताको काम गरिरहेको हुन्छ," डाक्टर अहमदले भनिन्।
अमेरिकाको मायो क्लिनिकमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजीका विज्ञ डाक्टर पङ्कज जे पस्रिचाले दिमाग सञ्चालनका लागि उसलाई थुप्रै ऊर्जा चाहिने र पेट पनि हाम्रो ऊर्जा केन्द्र भएका कारण यो विशेष सम्बन्ध रहेको बताउँछन्।
उनले हाम्रो दिमागले शरीरको वजनको दुई प्रतिशत मात्रै प्रतिनिधित्व गर्ने भए पनि ऊर्जा भने २० प्रतिशत लिने कुरा उल्लेख गरे। पेटको काम भनेको खाना पचाएर साधारण अणुमा बदल्नु हो र तिनलाई सोस्नु हो। त्यसले पूरै शरीरलाई "इन्धन" दिने काम गर्छ।
तर यो सम्बन्ध दुईतर्फी हुन्छ। अर्को शब्दमा दिमागले पेटलाई प्रभाव गर्छ र पेटले दिमागलाई प्रभाव गर्छ।
र, हामी हाम्रो दैनिक जीवनमा यसबारे केही उदाहरणहरू सोच्न सक्छौँ।
जब हामीले कुनै डरलाग्दो वा तनावपूर्ण अवस्थाको सामना गर्नु पर्छ वा काममा कुनै महत्त्वपूर्ण बैठक हुन्छ हाम्रो शरीरले जनाउने पहिलो प्रतिक्रिया भनेको हाम्रो पेटमा नै हुन्छ। हामीलाई बान्ता होला जस्तो, पेट दुख्ने वा पखाला लाग्ने सम्म पनि हुन सक्छ।
त्यस्तै हामी जब प्रेममा पर्छौँ, हामी हाम्रो पेटमा अनौठो रोमाञ्च महसुस गर्छौँ वा कुनै मन पर्ने व्यक्तिसँग पैदा हुने उत्साहसँग हाम्रो भावना जोडिन्छ।
अर्को तर्फ, तपाईँलाई कब्जियत भएको छ र केही दिनदेखि शौचालय गइरहनुभएको छैन भने तपाईँलाई तनाव हुने वा झिँजो लाग्न सक्छ।
पेटभित्रको संसार
हाम्रो पेटमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोआ र अन्य सूक्ष्म जीवहरूबाट बनेका १० देखि १०० ट्रिलियनसम्म माइक्रोबिअल कोशिकाहरू रहेका हुन्छन्।
मानिसमा हुने मानव कोशिकाहरूभन्दा यो सङ्ख्या बढी हुन्छ।
यी सूक्ष्म जीवहरूको समुदायसँग हाम्रो सहजीवि सम्बन्ध रहने विज्ञहरू बताउँछन्। उनीहरू हामीले खाने खानाबाट पोषण प्राप्त गर्छन् र खाना पचाउन मद्दत गर्छन् र त्यस्ता तत्त्वहरू टुक्र्याउन पनि मद्दत गर्छन् जुन हामी आफैँले पचाउन सक्दैनौँ।
विगत दुई दशकमा माइक्रोबायोटा र हाम्रो शरीरमा पर्ने यसको असर उल्लेख्य रूपमा वृद्धि भएको छ।
डाक्टर अहमदका अनुसार वैज्ञानिकहरूले विकास गरेको नयाँ उपकरण र परीक्षणहरूले पेटमा रहने सूक्ष्म जीवहरूको मात्र मापन गर्न होइन ती जीवनहरूले विभिन्न रोगहरूको विकासमा कसरी भूमिका खेल्छन् भन्ने बुझ्न पनि सहयोग पुर्याएको छ।
"हामीले डिस्बायोसिस भन्ने माइक्रोबायोटाको सन्तुलनमा भएको परिवर्तन अहिले प्राय: सबै किसिमका मानव रोगहरूसँग सम्बन्धित रहेको देखिएको छ," डाक्टर पस्रिचाले भने।
सन् २०११ मा डाक्टर पस्रिचाले मुसामा गरिएको एउटा अध्ययनको नेतृत्व गरेका थिए जसले जीवनको प्रारम्भिक दिनहरूमा भएको ग्यास्ट्रिक जलनले दीर्घकालीन रूपमा डिप्रेसन र चिन्ताजस्ता व्यवहारहरू बढाउन सक्ने देखाएको थियो।
अन्य अनुसन्धानहरूले डिस्बायोसिस अर्थात् असन्तुलित माइक्रोबायोटा मोटोपना, मुटुसम्बन्धी रोग र क्यान्सर समेतसँग सम्बन्धित रहेको देखाएको छ।
यद्यपि डाक्टर पस्रिचाले कारण र असर स्थापित गर्न पर्याप्त प्रमाण नभएको वा माइक्रोबायोटा नै कयौँ रोगहरूको कारण हो भन्ने नभएको औँल्याउँछन्।
"जनावर र मानिस दुवैमा भएका अध्ययनमा पेटमा समस्या हुँदा त्यसले चिन्ता वा डिप्रेसनजस्ता मानसिक समस्या निम्त्याउँछ। तर यी रोगहरू वास्तवमै पेटका कारण हुन्छन् त? त्यो कुरा हामीले अझै थाहा पाएका छैनौँ।," उनले भने।
राम्रो माइक्रोबायोटा कसरी बनाउने
माइक्रोबायोटा र आन्द्रा-मस्तिष्क सम्बन्धबारे गरिएका हालैका खोजहरूका आधारमा के पेटभित्र रहेका सूक्ष्म जीवहरूको सन्तुलनलाई पूर्ण रूपमा हासिल गर्न सम्भव छ?
प्रत्येक मानिसमा ब्याक्टेरिया, भाइरस र अन्य सूक्ष्म जीवहरूको संरचना फरक भएका कारण डाक्टर अहमद यो कठिन रहेको बताउँछिन्।
"प्रत्येक मानिसको माइक्रोबायोम एकदमै भिन्न छ। कुनै अन्य मानिससँग एउटै सुरुवाती विन्दुमा हुनुहुन्छ," उनले भनिन्।
तर विज्ञहरू पेटको स्वास्थ्यका लागि राम्रो ठानिने केही सामान्य कुराहरू रहेको बताउँछन्।
उदाहरणका लागि सन्तुलित र विविध आहार खानु राम्रो सुरुवात हो।
दही, केफिर र कम्बुचाजस्ता प्रोबायोटिक खाने कुराहरू पाचन प्रणालीका लागि फाइदाजनक ब्याक्टेरियायुक्त खानेकुरा हुन्।
फलफूल, सागसब्जी जस्ता फाइबरयुक्त तत्त्वहरू रहेको प्रिबायोटिक्सलाई पोषण दिन्छ र तिनीहरूको वृद्धिमा सहयोग पुर्याउँछन्।
"खानामा विविधता एकदमै महत्त्वपूर्ण हुन्छ खास गरी तपाईँले खाने बिरुवाजन्य खाना कति छन् भन्ने कुराले फरक पार्छ," अहमदले भनिन्।
ग्यास्ट्रोइन्टेरोलोजिस्ट हरेक मानिसले आफूले खाने फलफूल, तरकारी, अन्न, गेडागुडी, बदाम, बियाँ र मसलाहरूको मात्राबारे सचेत हुन आवश्यक रहेको सुझाउँछिन्।
"म शाकाहारी होइन, तर हाम्रो खानामा बिरुवाजन्य तत्त्वहरूको मात्रा बढाउनु आवश्यक छ भन्नेमा म विश्वास गर्छु," उनले थपिन्।
सातामा औसत ३० प्रकारका बोटजन्य तत्त्वहरू भएको खाने व्यक्तिहरूमा स्वस्थ माइक्रोबायोममा देखिने एक अध्ययनले औँल्याएको डाक्टर अहमद बताउँछिन्।
तर के खानपानको परिवर्तनले हाम्रो भावना र डिप्रेसनजस्ता रोगहरूमा पनि असर पुग्न सक्छ?
यूकेको युनिभर्सिटी अफ अक्सफोर्डमा गरिएको एउटा परीक्षणले यो प्रश्नको जबाफ खोज्ने प्रयास गरेको थियो।
अध्ययनमा डिप्रेसनसँग जुधिरहेका ७१ जना व्यक्तिहरूलाई दुई भागमा बाँडिएको थियो। पहिलो समूहले चार हप्तासम्म प्रोबायोटिक्स खायो भने दोस्रो टोलीले प्लेसिबो नामक औषधि लियो।
यो परीक्षणमा वैज्ञानिक र भाग लिने दुवैलाई कसले के लिएको भन्ने थाहा थिएन।
परीक्षणको क्रममा विज्ञहरूले मनस्थिति, चिन्ता, निद्रा र तनावसँग सम्बन्धित एउटा पदार्थ सलाइभरि कर्टिसोलहरू मापन गर्न विभिन्न परीक्षण गरेका थिए।
एक क्लिनिकल मनोवैज्ञानिक प्राध्यापक तथा यो अध्ययनकी नेतृत्वकर्ता रिता बाइयएले डिप्रेसन भएका मानिसहरूले तटस्थ वा सकारात्मक कुरालाई भन्दा नकारात्मक भावनालाई ध्यान दिएको र अनुहारको हाउभाउ बढी संवेदनशील हुने गरेको बताइन्।
"प्रोबायोटिकले दिमागमा भावनात्मक सूचना प्रशोधनमा हस्तक्षेप गर्न सक्छ कि भनेर हामी बुझ्न चाहन्थ्यौँ," प्राध्यापक बाइयएले भने। उनी पोर्चुगलको युनिभर्सिटी इन्स्टिट्यूट अफ लिज्बनस्थित स्कुल अफ सोसिअल साइन्सेसका सहप्राध्यापक हुन्।
"प्रोबायोटिक समूहमा हामीले अनुहारको भाव वा अन्य भावनात्मक सङ्केतहरू बुझ्दा नकारात्मक पक्ष देख्ने प्रवृत्ति कम देख्यौँ।"
प्राध्यापक बाइयए प्रोबायोटिक्सले डिप्रेसनका केही लक्षणहरू कम गर्न सहयोग गर्न सक्ने तर थप अनुसन्धान आवश्यक रहेकी ठान्छन्।
"हामीलाई अझ बलियो डेटा चाहिन्छ, तर प्रारम्भिक सङ्केतले के देखाउँछ भने प्रोबायोटिक्सले राम्रो सहनशीलता र कम असरसहित सकारात्मक असर पुर्याउन सक्छ," उनको निष्कर्ष छ।
डा. पस्रिचा माइक्रोबायोमको संरचना परिवर्तन हुन दशकौँ लाग्न सक्ने उनी बताउँछन्।
"धेरैजसो मानिसहरूका लागि केही व्यवहारहरू लामो समयसम्म कायम राख्न कठिन हुने कुरा हामीलाई थाहा छ।"
"नत्र त हामीसँग मोटोपनको महामारी नै हुने थिएन," उनी भन्छन्।
"तर हामी यो उलझन पूरा गर्न आवश्यक कुराहरू बिस्तारै सङ्कलन गर्दैछौँ," डा. पस्रिचाले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।