तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शीर्ष नेता कसले कहाँबाट गरे मतदान?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको मतदानमा उच्चपदस्थ सरकारी अधिकारी र नेताहरूले विभिन्न स्थानबाट मतदान गरेका छन्।
आफैँ उम्मेदवार रहेका कतिपय शीर्ष नेताहरूले आफू चुनाव लडेको क्षेत्रबाट आफैँलाई मत हाल्न पाएनन्।
उनीहरूको मतदाता नामावली भएको क्षेत्र र चुनावमा उठेको क्षेत्र फरक परेकाले त्यस्तो भएको हो।
त्यस्तै चुनाव गराउने निर्वाचन आयोगका पदाधिकारीहरूले पनि विभिन्न स्थानबाट मतदान गरेका छन्।
प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको मतदान
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
सत्ताधारी गठबन्धनको अर्को साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कूल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन्।
सत्ता गठबन्धनको साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर नगरपालिका-२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।
त्यस्तै उक्त दलका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
अर्का पूर्व प्रधानमन्त्री तथा गठबन्धनकै साझेदार बाबुराम भट्टाराईले गोरखाको पालुङ्टार नगरपालिका-१ स्थित अन्नपूर्ण मावि निर्वाचन मतदान केन्द्रबाट मत हालेका छन्।
प्रमुख निर्वाचन आयुक्तले कहाँबाट दिए मत?
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुर थिमि नगरपालिका- १ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट मतदान गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुभिण्डे मतदान केन्द्रबाट मतदान गरेका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित- ७ राम्जास्थित पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन्।
प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं ईश्वर पोखरेलले काठमाण्डूको टोखा नगरपालिका-६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन्।
त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगरस्थित आदर्श माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वुटवल-८ स्थित सडक डिभिजन केन्द्रमा रहेको मतदानस्थलमा मतदान गरेका छन्।