तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भोट हाल्न जाँदै हुनुहुन्छ? कसरी मतदान गर्ने थाहा पाउनुहोस्
आइतवार बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिन योग्य मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० छ।
तपाईँ पनि भोट हाल्न जाँदै हुनुहुन्छ भने तपाईँले थाहा पाइराख्नुपर्ने कुराहरू हामीले यहाँ समेटेका छौँ।
सबैभन्दा पहिले पहिलो कुरा: साँच्चि तपाईँ कति वर्ष पुग्नुभयो?
याद राख्नुहोला मतदानका लागि तपाईँ कम्तीमा १८ वर्ष पुगेको हुनुपर्छ र मतदाता नामावलीमा तपाईँको नाम समावेश भएको हुनुपर्छ।
यस्तो नामावली चुनावको मिति घोषणा अघिनै घुम्ती टोली वा जिल्ला निर्वाचन कार्यालय मार्फत सङ्कलन गरिन्छ।
हालैका निर्वाचनहरूमा तपाईँले मतदान गर्नुभएको छ भने तपाईँको नाम मतदाता नामावलीमा कायमै रहन्छ।
आफ्नो नाम मतदाता नामावलीमा भए नभएको हेर्न निर्वाचन आयोगको वेबसाइट election.gov.np मा जानुहोस्।
त्यहाँ तपाईँले मतदानका लागि जानुपर्ने केन्द्र पनि थाहा पाउन सक्नुहुनेछ।
मतदाता परिचय पत्र भेटिएन भने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जा लिएर जान नबिर्सनुहोला।
मतदान स्थलबारे जानकारी
मतदान केन्द्र साधरणतया बिहान ७ बजेबाट साँझ ५ बजेसम्म खुला रहन्छन्।
लाइन बसिसकेपछि स-सानो समूहमा मतदाताहरूलाई मतदाता गर्ने ठाउँमा पठाइन्छ।
मतदान स्थलमा सबैभन्दा पहिले दलका प्रतिनिधिहरूको उपस्थितिमा कर्मचारीहरूले तपाईँको परिचयपत्र जाँच गर्छन्।
मतदाता परिचयपत्र साथमा नभएको अवस्थामा मतदाता नम्बर खोज्न समेत उनीहरूले सहयोग गर्छन्।
कर्मचारीहरूले आफूसँग रहेको फोटो सहितको मतदाताहरूको विवरण पुस्तिकासँग तपाईँको परिचयपत्रको विवरण भिडाएपछि मात्र तपाईँ मतदानका लागि योग्य हुनुहुन्छ। त्यहाँ तपाईँले हस्ताक्षर पनि गर्नुपर्छ।
अब तपाईँको विवरणमा चिन्ह लगाएर कर्मचारीहरूले तपाईँलाई अघि बढ्न सङ्केत गर्छन्। सँगै रहेका कर्मचारीले तपाईँको नङमा नउड्ने मसीको चिन्ह लगाएर मतपत्र दिन्छन्। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भए नभएको सुनिश्चित गर्न नबिर्सनुहोला।
तपाईँको सामुन्ने रहेका गोप्य मतदान केन्द्र मध्ये कुनै एक ठाउँ खाली भएपछि कर्मचारी वा प्रहरीले तपाईँलाई अघि बढ्न सङ्केत गर्छन्।
मत बदर हुन नदिन के गर्ने?
अब तपाईँ गोप्य मतदान केन्द्रमा प्रवेश गर्नुभयो। मतपत्रमा छाप लगाउने उपकरण त्यहीँ राखिएको टेबलमा देख्नुहुनेछ। अहिले तपाईँ आफ्नो अमूल्य मत रोजेको उम्मेदवार वा पार्टीलाई दिने चरणमा हुनुहुन्छ।
तपाईँले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूलाई मतदानका लागि छुट्टाछुट्टै चार वटा मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ।
चार वटा मध्ये पहिलो सेतो कागजमा रातो मसीले छापिएको मतपत्रको चुनाव चिन्हमा तपाईँले लगाएको स्वस्तिक छाप प्रतिनिधिसभा प्रत्यक्षतर्फमा उम्मेदवारलाई जान्छ। दोस्रो कालो मसीले छापिएको मतपत्रमा प्रतिनिधिसभाकै समानुपातिक तर्फ राजनीतिक दललाई मत दिने हो।
तेस्रो रातो रङ्गले छापिएको मतपत्र चाहिँ प्रदेशसभातर्फ प्रत्यक्ष र चौथो कालो रङ्गले छापिएको प्रदेशसभातर्फ समानुपातिक मतका लागि हो।
मत बदर हुन नदिन कुनै एक निर्वाचन चिन्ह रहेको कोठाभित्र मात्र पर्ने गरी स्वस्तिक छाप लगाउनुपर्छ।
आफूले छाप लगाएको मतपत्र मसी नलतपतिने गरी पट्याउनुहोस् र अगाडी रहेको मतपेटिकामा खसाल्नुहोस्।
बधाई छ। आफ्नो देश र तपाईँ रहेको प्रदेशमा आगामी पाँच वर्षका लागि नीति र सरकार निर्माताहरू चयन प्रक्रियामा तपाईँ सहभागी हुनुभयो।
तपाईँले मत खसाल्नु भएका मतपेटिकाहरू भरिएपछि कर्मचारीहरूले दलका प्रतिनिधिको उपस्थितिमा तीनलाई सिलबन्दी गर्छन्।
मतदान सकिएपछि मतपेटिकाहरू सुरक्षा घेरा सहित मतगणना स्थलमा ओसारिन्छन् र दलका प्रतिनिधिहरूको रोहबरमा तीनलाई खोलेर मतगणना गरिन्छ।
प्रतिनिधिहरू कसरी छनोट हुन्छन्?
तपाईँले दिएको मतबाट कसरी प्रतिनिधिहरू छनौट हुन्छन् त्यो पनि जान्न चाहनुहुन्छ?
प्रत्यक्षतर्फ तपाईँले प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा एक जनालाई छुट्टाछुट्टै मतपत्रमा मत दिन पाउनुहुन्छ।
यो प्रणाली अन्तर्गत भाग लिएका राजनीतिक दल आबद्ध वा स्वतन्त्र उम्मेदवारहरूमध्ये हरेक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारहरू निर्वाचित हुन्छन्।
समानुपातिक तर्फ भने तपाईँले प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टा छुट्टै मतपत्रमा एक-एक वटा राजनीतिक दललाई मत दिनुपर्नेछ र दलले पाएको मतका आधारमा उम्मेदवारहरू छनौट हुनेछन्।
दलले उठाएका समानुपातिक उम्मेदवारहरूको प्राथमिकता क्रम सहितको सूची मतदान अघि नै निर्वाचन आयोगमा बुझाइएको हुन्छ र त्यसमा दलहरूले हेरफेर गर्न पाउँदैनन्।
नेपालको संविधान अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० जना उम्मेदवारहरू निर्वाचित हुने व्यवस्था छ।
समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा ११० जना र प्रदेशसभामा २२० जना निर्वाचित हुन्छन्।
प्रधानमन्त्री र मुख्यमन्त्री कसरी छानिन्छन्?
दुवै प्रणालीबाट निर्वाचित भएर आउने २७५ सांसद रहने प्रतिनिधिसभाले देशको प्रधानमन्त्री चयन गर्ने, बजेट पारित गर्ने, आवश्यक परे संविधान संशोधन गर्ने, कानुन बनाउने, सार्वजनिक सरोकारमा बहस गर्ने. सरकारका काम कारबाहीमा खबरदारी गर्ने तथा विकाश निर्माणको नीति बनाउने काम गर्छ।
प्रतिनिधिसभा सदस्यहरूको बहुमत प्राप्त गर्ने दलको नेता वा उम्मेदवार देशको प्रधानमन्त्री बन्छन् र उनले मन्त्रीहरू चयन गर्छन्।
प्रदेशसभामा निर्वाचित भएका ५५० सदस्यहरूले पनि आ-आफ्नो प्रदेशमा सरकार बनाउने र कानुन बनाउने कामहरू गर्छन्।
नेपालमा सात वटा प्रदेशहरू छन् र प्रदेशको भूगोल र जनसङ्ख्या अनुसार सदस्यहरूको सङ्ख्या पनि फरक फरक छ।