प्रधानमन्त्री दाहालले दिए पत्नी सीता दाहाललाई दागबत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधन भएको छ। उनी ६९ वर्षकी थिइन्।

बुधवार काठमाण्डूस्थित नर्भिक अस्पतालमा उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।

सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट पीडित थिइन्। उनलाई बुधवार बिहान हृदयाघात भएको थियो।

बुधवार दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ।

उनलाई प्रधानमन्त्री दाहाल आफैँले मुखाग्नि (दागबत्ती) दिएका थिए। त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए।

राजकीय सम्मान दिने निर्णय

अन्तिम संस्कारअघि सीता दाहालको शरीरमा राष्ट्रिय झण्डा ओढाइएको थियो।

बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाले सलामी दिने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

दाहसंस्कारका लागि आर्यघाट लैजानुअघि सीता दाहालको शवलाई प्यारिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिएको थियो। त्यहाँ आयोजित श्रद्धाञ्जलिसभामा प्रचण्डले पत्नीको शरीरमा पार्टीको झण्डा ओढाएका थिए। 

माओवादी पार्टी कार्यालयमा सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न माओवादी कार्यकर्ता, विभिन्न दलका नेता तथा शुभेच्छुकहरू पुगेका थिए।

देश र विदेशबाट शोकसन्देश

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सीता दाहालको निधनप्रति दु:ख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निधनको खबरले आफू 'मर्माहत' भएको ट्वीटमार्फत् जनाएका छन्।

प्रचण्ड र शोकसन्तप्त परिवारलाई समवेदना दिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अस्पताल पुगेका थिए।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नपशुपति आर्यघाट पुगेका थिए।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि प्यारिसडाँडा पुगेर सीता दाहालप्रति सम्मान प्रकट गरेका थिए।

के भन्छन् चिकित्सक र नर्भिक अस्पताल

सीता दाहाललाई हृदयाघात भएपछि चिकित्सकहरूको टोली बालुवाटार पुगेको थियो। त्यहाँबाट उनलाई नर्भिक अस्पताल लगिएको थियो।

नर्भिक अस्पतालले तथा प्रेस विज्ञप्ति प्रकाशित गरेर तथा पत्रकार सम्मेलन गरेर सीता दाहालको मृत्युबारे जानकारी दियो।

नर्भिक अस्पतालले प्रचण्डका निजी चिकित्सक डा. युवराज शर्माका नाममा जारी गरेको वक्तव्यमा सीता दाहाल 'प्रोग्रेसिभ सुप्रान्यूक्लिअर पल्सी, पार्किन्सनिज, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको उल्लेख छ। प्रोग्रेसिभ सुप्रान्यूक्लिअर पल्सी स्नायुप्रणालीसम्बन्धी दीर्घरोग हो।

उपचार गर्न दाहाललाई भारत, सिङ्गापुर र अमेरिका पनि लगिएको थियो।

डा. शर्माका अनुसार सीता दाहाललाई लामो समयदेखि पेटबाट सीधै खाना खुवाइँदै आएको थियो।

उनी झन्डै दुई वर्षदेखि प्रतिक्रियाविहीन अवस्थामा रहेको जानकारी उनले ‍संवाददाताहरूलाई दिए।

हृदयाघात भएपछि उनलाई बिहान ८ बजे अस्पतालको आकस्मिक उपचार कक्षमा पुर्‍याइएको तर आवश्यक उपचार गर्दा पनि उनलाई जीवित राख्न नसकिएको र ८ः३३ बजे उनलाई मृत घोषित गरिएको डा. शर्मा र अस्पतालले जनाएका छन्।

सीता दाहालको जीवन

विसं २०११ सालमा कास्कीको हेम्जामा जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो।

माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उनी पछिल्लो समय पार्टीको सल्लाहकारको भूमिकामा रहेको जनाइएको छ।

प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा गरी चार सन्तान रहेकामा एक छोरा र एक छोरीको निधन भइसकेको छ।

उक्त विज्ञप्तिमा सीता दाहालले पार्टी कामका सिलसिलामा पञ्चायतकाल र माओवादी द्वन्द्वका बेला "भूमिगत जीवन" बिताउँदै "सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह" गरेको उल्लेख छ।