तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
यसै महिनाको सुरुमा महाभियोग लगाइएका र त्यसपछि निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
किन पक्राउ गर्न खोजियो?
अनुसन्धानकर्ताहरूले आइतवार राति यउललाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न पुर्जी जारी गर्नुपर्ने माग गरेका थिए। उनका वकिलले भने उक्त कार्यलाई "अवैधानिक" कार्य भनेका छन्।
यउन र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसदद्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।
यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नेछन्।
डिसेम्बर पहिलो साता छोटो अवधिका लागि 'मार्शल ल' लागु गर्न खोजेपछि उनीविरुद्ध प्रदर्शन भएको थियो भने पछि उनीमाथि महाभियोग लगाइएको थियो।
पक्राउ गर्न कति सहज?
पक्राउ पुर्जीको कार्यान्वयनका लागि अनुसन्धानकर्ताहरूले ज्यानुअरी ६ सम्मको समय पाएका छन् र उनीहरूले त्यो समय थप गर्नका लागि पनि अनुरोध गर्न सक्छन्।
अनुसन्धानकर्ताहरूले उनीविरुद्धको पक्राउ पुर्जीलाई कार्यान्वयन गर्न सक्छन् वा सक्दैनन् वा उनका सुरक्षा गार्डहरू तथा समर्थकको प्रदर्शनका कारण त्यो कार्यान्वयन गर्न अक्षम हुन्छन् भन्ने अनिश्चित छ।
राष्ट्रपतिको सुरक्षा सेवाले यसअघि अनुसन्धानकर्ताहरूलाई राष्ट्रपतिको कार्यालयभित्रको चौरमा र यउनको निजी निवासमा अदालतको अनुमति लिएर पनि प्रवेश गरेर खोजी गर्न रोकिदिएको थियो।
विगतमा दक्षिण कोरियाली अधिकारीहरूले प्रमुख नेताविरुद्ध उनीहरूको सहयोगी तथा समर्थकले अवरोध गरेपछि पक्राउका प्रयासलाई त्यागेका उदाहरणहरू छन्।
सोमवार यउनको कानुनी टोलीले अनुसन्धानकर्ताहरूलाई उनलाई पक्राउ गर्ने अधिकार नभएको बताए। उनीहरूले 'मार्शल ल' घोषणा गर्नु राष्ट्रपतिको संवैधानिक अधिकारभित्र पर्ने बताएका छन्।
यउनले यसअघि 'मार्शल ल' लगाउने आफ्नो निर्णयको बचाउ गर्दै "अन्तिम अवस्थासम्म लड्ने" बताएका थिए।
कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग
उनीमाथि महाभियोग लागेपछि कार्यवाहक राष्ट्रपति बनेका हान डक-सोमाथि पनि महाभियोग लागेको छ।
यउललाई महाभियोग लगाइएको दुई साता भित्रै कार्यवाहक राष्ट्रपतिमाथि पनि उस्तै कारबाही भएको हो।
हानले देशमा उत्पन्न भएको राजनीतिक सङ्क्रमणका बेला नेतृत्व गर्ने ठानिएको थियो।
तर विपक्षी सांसदहरूले उनले यउलमाथिको महाभियोग प्रक्रियालाई अन्त्य गर्न अस्वीकार गरिरहेको आरोप लगाउँदै महाभियोग लगाउनुपरेको बताएका थिए।
गत शुक्रवार संसद्मा महाभियोगबारे मतदान हुँदै गर्दा त्यहाँ अराजक खालको दृश्य देखिएको थियो।
यउल र हानको सत्ताधारी सत्ताधारी पीपल्स पावर पार्टीका सांसदहरूले सभामुखले महाभियोग प्रस्तावविरुद्ध विरोध गरेका थिए।
सत्ताधारी दलका सांसदहरूले महाभियोगको पक्षमा भएको मतदातको बीचमै 'अवैध' भन्दै नारा लगाएका थिए। उनीहरूले उक्त कार्यलाई 'शक्तिको दुरुपयोग' पनि भने।
सत्ताधारी दलका सांसदहरूले सभामुखको राजीनामा माग गरेका थिए। उनीहरूमध्ये अधिकांशले महाभियोग प्रस्तावमा मतदान बहिष्कार गरेका थिए।
राजनीतिक अन्योल
विपक्षीहरू गत बिहीवार हानमाथि महाभियोग प्रस्ताव दर्ता गर्न विफल भएका थिए। हानले यउलको मुद्दा हेर्नका लागि संसद्ले नियुक्त गरेका तीन न्यायाधीशहरूको नियुक्ति रोकेपछि उनीहरू असफल भएका थिए।
कोरियाको संवैधानिक अदालतमा कम्तीमा नौ जना सदस्य हुन्छन्। त्यसमध्ये कम्तीमा छजना न्यायाधीशहरूले यउलको महाअभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ।
हाल उक्त इजलासका लागि जम्मा छ न्यायाधीश मात्र रहेका छन्। त्यो भनेको एकजनाले मात्र उक्त निर्णयलाई अस्वीकार गरे भने महाभियोग कार्यान्वयन हुन सक्दैन।
विपक्षीहरूले नियुक्त हुने तीन नयाँ न्यायाधीश इजलासमा भएपछि महाअभियोगले पूर्णता पाउने आशा राखेका छन्।
राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि अर्थमन्त्री चोई साङ-मोकलाई अहिले कार्यवाहक राष्ट्रपति बनाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।