तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: स्वाब परीक्षणमा ढिलाइ हुँदा कोभिड-१९ 'झन् फैलियो'
- Author, नारायण कार्की
- Role, पोखरा
स्वाब परीक्षणको सङ्ख्या देशव्यापी रूपमा बढाएर कोभिड-१९ सङ्क्रमण विरुद्धको लडाइँलाई प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड दिइरहेको अवस्थामा गण्डकी प्रदेशमा स्वाब परीक्षणमा ढिलाइ भएको गुनासो आइरहेको छ।
लमजुङ जिल्लाबाट पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट वैशाख ३० यताको नआउँदा कतिपयको प्रारम्भिक लक्षणहरू हराएका त भने कतिपयले अवस्था जटिल हुने अवस्थाको सामना गर्नु परेको लमजुङ स्वास्थ्य कार्यालयका फोकल पर्सन दीपक बमजनको तीतो अनुभव छ।
उनका अनुसार लमजुङबाट दैनिक औसत १०० जनाको स्वाब परीक्षणका लागि पठाइन्छ तर एक हप्तादेखि रिपोर्ट आएको छैन।
स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख विष्णुप्रसाद सुबेदी पीसीआर परीक्षणको मात्र भर पर्दा प्रयोगशालाले भार थेग्न नसकेर यो अवस्था आएको हुँदा यो भार कम गर्न एन्टिजन परीक्षण बढाउनु पर्ने सुझाव दिन्छन्।
स्वाब परीक्षणको रिपोर्ट एक हप्तापछि आउँदा आफूले शारीरिक र मानसिक समस्या भोग्नु परेको पोखरा महानगरपालिकाकी माया बरालले दुखेसो पोखिन्।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख सपना सुवेदीले स्वाब परीक्षणमा ढिलाइ भएको स्विकार्दै जनशक्तिको अभाव प्रमुख समस्या भएको बताइन्।
प्रयोगशालाले प्रतिदिन बढीमा एक हजारको स्वाब परीक्षण गर्न सक्ने तर दैनिक १,८०० सम्म स्वाबको नमुना आउने गरेको जानकारी उनले दिइन्।
स्वाब परीक्षण गर्ने पीसीआर मेशिनको क्षमता दैनिक १५०० भएको हुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न जनशक्ति एक हप्ता भित्र थप्ने प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ।
गण्डकी प्रदेशमा पूर्वी नवलपरासीको मध्य बिन्दु अस्पताल धवलागिरि अञ्चल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मलिक्यूलर ल्यावमा पनि पीसीआर परीक्षण हुन्छ।
यो बाहेक पोखराको एउटा निजी ल्याबले पनि स्वाब परीक्षण गर्दै आएको छ।
यी सबैको क्षमता दुई हजार जति मात्र भएको हुँदा स्वाब परीक्षण क्षमता बढाउनु पर्ने भनी स्वास्थ्यकर्मीहरूले औँल्याएका छन्।
एन्टिजन कीटबाट परीक्षण गर्ने दायरा बढाउनु पर्ने पनि उनीहरूको सुझाव छ ।
स्वाब परीक्षणको रिपोर्ट समयमा नआउँदा कोरोनाभाइरस सङ्क्रमणलाई झनै बढाउने मात्र होइन रिपोर्टको प्रतीक्षामा बसेकाहरूले पनि थप मानसिक र शारीरिक कठिनाइको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने विज्ञहरू बताउँछन्।
स्वाब परीक्षणका लागि दिएपछि होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने स्वास्थ्य मापदण्ड भए पनि यसको पालना भए नभएको हेर्ने निकाय छैन भने स्वाब परीक्षणका लागि दिएकाहरूले पनि मापदण्ड पालना नगर्दा कोरोनाभाइरस सङ्क्रमणको फैलावट भइरहेको बताइएको छ ।
- के भन्छन् विज्ञ? तपाईँका प्रश्नको उत्तर
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कति चिन्ताजनक? नेपालमा भेटिएको नयाँ भेरिअन्ट के हो
- कसरी फैलिँदैछ? महामारीको दोस्रो लहरमा नेपालमा यसरी बढिरहेको छ कोभिड
- को हुन् मृतक? मृत्यु हुने पाँच हजार मानिस को हुन?