तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका निर्वाचन २०२० परिणाम: डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन विजयी
जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्।
पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।
बीबीसीले गरेको प्रक्षेपणअनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछि उनीसँग २७३ इलेक्टरल कलेज मत निश्चित भएको छ जुन जितका लागि आवश्यक २७० मतभन्दा बढी हो।
उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।
ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।
विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने: "मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिकले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।"
"अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोप-प्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।"
हार स्वीकार नगर्ने सङ्केत
यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।
आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन्।
"किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ: उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्," लिखित विज्ञप्तिमा भनिएको छ।
"सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन।"
निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन्।
सोमवारदेखि आफ्नो टोलीले अदालतमा निर्वाचन कानुन पालना गरेको र सही विजेतालाई पदमा पुर्याउन कानुनी प्रक्रिया थाल्ने विज्ञप्तिमा उल्लेख छ।
बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ।
इतिहासकै सर्वाधिक मत
सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।
ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।
मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।
उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि 'यो निर्वाचन अन्त्य नभएको' विज्ञप्ति निकालिएको छ।
कोरोनाभाइरसको जोखिमबीच निर्वाचन
अमेरिकाभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला गरिएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन्।
बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन्।
बाराक ओबामाको आठवर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।