तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली यू १६ टोली एशियाली क्रिकेटको फाइनलमा
नेपालको १६ वर्षमुनिको क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एशियाको पूर्वी क्षेत्रको प्रतियोगिताको फाइनलमा पुगेको छ।
थाइल्यान्डमा भइरहेको प्रतियोगितामा साबिकको विजेता नेपालले हङकङलाई चार विकेटले पराजित गरेको हो।
हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएकोमा नेपालले २१.४ ओभरमा छ विकेट गुमाएर सो लक्ष्य प्राप्त गरेको छ।
फाइनल खेल आइतवार हुनेछ।
सहज विजय
थोरै रनको लक्ष्य पाएको नेपालले लगातार विकेट गुमाएपनि जित्न गार्हो परेन।
सबैभन्दा बढी १७ रन आशिष भट्टराईले बनाएका थिए। रोहन दुधराज विश्वकर्माले १४ र क्रिस कार्कीले नट आउट १२ रन बनाए।
हङकङको कमजोर प्रदर्शन
टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले राम्रो प्रदर्शन गर्न सकेन। पहिलो ओभरमै विकेट गुमाएपछि नेपालका बलरहरूले राम्रो बलिङ गरे।
कप्तान आरूष भागवतले नट आउट रहँदै ४३ रन बनाएपनि अरू कुनै खेलाडीले दुई अङ्कको रन सङ्ख्या टेक्न सकेनन्।
नेपालका निखिलकुमार सिंहले चार विकेट लिए भने विशालकुमार पटेल र रमेश कुर्मीले दुई-दुई विकेट लिए।
नेपालको प्रतियोगितामा प्रदर्शन
आठ राष्ट्र सहभागी प्रतियोगिताको समूह ए मा रहेको नेपाल अविजित रहँदै सेमीफाइनलमा प्रवेश गरेको थियो।
पहिलो खेलमा म्यान्मारलाई ५८ रनमा अलआउट गरेपछि नेपालले सात विकेटले जितेको थियो। सो खेलमा कप्तान विशालविक्रम केसीले चार विकेट लिएका थिए।
गत बुधवार भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ३९ रनले हराएको थियो। नेपालले १४१ बनाएकोमा मलेशियाले १०२ रन मात्रै बनाउन सकेको थियो।
बिहिवारको थाइल्यान्डसँगको खेल वर्षाले प्रभावित भएको थियो। नेपालले आशिष भट्टराईको ५८ रनको मद्दतले ३५ ओभरमा सात विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा थाइल्यान्डले कुनै रन नबनाइ एक विकेट गुमाएको अवस्थामा खेल रद्द भएको थियो।