तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फेसबुकमा 'अपमानजनक टिप्पणी' गर्ने ब्रिटिश महिलालाई दुबईमा दुई वर्ष जेल हुन सक्छ
पूर्वपतिले विवाह गरेकी अर्की महिलालाई सामाजिक सञ्जाल फेसबुकमा 'घोडा' भनेर टिप्पणी गरेको आरोपमा एक ब्रिटिश महिलालाई दुबईमा पक्राउ गरिएको अभियानकर्ताहरूले बताएका छन्।
दोषी ठहरिए उनलाई दुई वर्ष जेल सजाय हुन सक्छ। लन्डन निवासी ५५ वर्षीया लालेह शाहराभेस आफ्ना पूर्वपतिको अन्तिम संस्कारमा सहभागी हुन दुबई गएका बेला विमानस्थलमा पक्राउ परेकी थिइन्।
उनका पूर्वपतिले सन् २०१६ मा अर्को विवाह गर्न लागेको थाहा पाएपछि फेसबुकमा प्रेषित दुई तस्बिरमा लालेहले अपमानजनक टिप्पणी गरेको अभियोग छ।
ब्रिटेन सरकारको फरेन एन्ड कमनवेल्थ अफिस (एफसीओ) ले एक छोरी भएकी ती महिलालाई आफूले सहयोग गरिरहेको बताएको छ।
सम्बन्धविच्छेद
अभियानकर्ताहरूका अनुसार लालेह र उनका पूर्वपति १८ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए।
त्यो बेला उनी आठ महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा बसेकी थिइन्। केही समयपछि छोरीलाई लिएर उनी ब्रिटेन फर्किन्।
तर उनका पति भने यूएईमै बसे र उनीहरूको सम्बन्धविच्छेद भयो।
पूर्वपतिले अर्को विवाह गर्दैछन् भन्ने कुरा उनले फेसबुकमा हालिएको तस्बिर देखेपछि थाहा पाएकी थिइन्।
फारसी भाषामा उनले दुईवटा प्रतिक्रिया लेखिन्।
पूर्वपतिलाई इङ्गित गर्दै लेखिएको एउटा प्रतिक्रिया यस्तो थियो, "तिमी मूर्ख जमिनमुनि गाडिऊ भन्ने म कामना गर्छु। धिक्कार छ। यो घोडीका लागि मलाई छौड्यौ।"
यूएईको कानुन
यूएईको साइबर कानुनअनुसार सामाजिक सञ्जालमा हुने गालीगलौज र अपमानजनक टिप्पणी गरे जेल सजाय र जरिवाना हुन सक्छ।
'डिटेन्ड इन दुबई' नाम गरेको संस्थाका अनुसार ती महिलाले ब्रिटेनमा हुँदा फेसबुकमा त्यस्तो प्रतिक्रिया जनाएको भए पनि उनलाई दुई वर्षसम्म जेल र ५० हजार पाउन्ड जरिवाना हुन सक्छ।
घोडा भनिएकी महिलाले लालेहविरुद्ध उजुरी गरेकी थिइन्। उनी दुबईमा बस्छिन्।
हृदयाघातका कारण मृत्यु भएका पूर्वपतिको अन्तिम संस्कारमा सहभागी हुन छोरी लिएर लालेह मार्च १० मा यूएई पुगेकी थिइन्।
पक्राउ पर्दा उनी छोरी पनि सँगै थिइन्।
आमा पक्राउ परेपछि उनकी १४ वर्षीया छोरी एक्लै ब्रिटेन फर्केकी थिइन्।
'प्रतिशोधको भावना"
डिटेन्ड इन दुबईकी प्रमुख कार्यकारी अधिकृत राधा स्टर्लिङका अनुसार उनको संस्था र एफसीओले लालेहविरुद्ध लगाइएको आरोप फिर्ता लिन अनुरोध गरेका थिए र उजुरीकर्ताले त्यसो गर्न मानिनन्।
"उनको निर्णयमा प्रतिशोध देखिन्छ," स्टर्लिङले बीबीसीलाई भनिन्।
लालेहले जमानत पाए पनि उनको राहदानी जफत गरिएको छ र उनी हाल एउटा होटेलमा बसिरहेकी छन्।
यो पनि पढ्नुहोस्
यूएईमा प्रचलनमा रहेको त्यस्तो किसिमको कानुनबारे "कसैलाई पनि थाहा नहुने" र एफसीओले पनि त्यसबारे पर्यटकलाई आवश्यक चेतावनी दिन नसकेको स्टर्लिङले बताइन्।
घटनापछि एउटा विज्ञप्ति जारी गर्दै एफसीओले आफ्ना कर्मचारीहरूले ती ब्रिटिश महिला र उनको परिवारलाई सहयोग गरिरहेको बताएको थियो।
"हामी यूएईका अधिकारीहरूसँग सम्पर्कमा छौँ," उक्त विज्ञप्तिमा लेखिएको छ।