सन्दीप लामिछाने बिगब्यासमा आज खेल्दै, प्रदर्शन कस्तो होला

ब्रिजबेन हिटविरुद्ध शुक्रवार हुने खेल जित्न सके सन्दीप लामिछानेको टोली मेल्बर्न स्टार्सले सेमिफाइनमा स्थान सुरक्षित पार्न सक्नेछ।

मेल्बर्न स्टार्स सेमीफाइनलमा पुग्नका लागि युवा स्पिनर लामिछानेको पुनरागमनलाई महत्वपूर्ण मानिएको छ।

क्रिकेट समाचार वेबसाइट क्रिकइन्फोका अनुसार हालसम्म बिगब्यासमा मेलबर्न स्टार्सले १२ खेलमा १२ अंक जोडेको छ। यस्तै एक खेल बढी खेलेको ब्रिजबेनको ११ अंक छ।

आजको खेल जित्न सके मेल्बर्न स्टार्सले एक खेल अगाडिनै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने भएकोले लामिछानेले पुरानो प्रदर्शनलाई निरन्तरता दिन सक्लान् कि नसक्लान भन्नेमा केन्द्रित छ।

उनको टोलीले अब ब्रिजबेन हिट र सिड्नी सिक्सर्ससँग खेल्न बाँकी छ। दुबैसँगको यसअधिको खेल मेल्बर्न स्टार्सले जितेको थियो।

सिड्नी स्टार्सविरुद्धको खेल पाँच विकेटले जितेको मेल्बर्न स्टार्सले ब्रिजबेन हिटलाई पाँच रनले जितेको थियो। सिड्नी सिक्सर्सले भने अन्तिम चारमा स्थान सुरक्षित बनाइसकेको छ।

बिगब्यासमा स्टार खेलाडी

बिगब्यासमा लामिछानेले गरेको प्रदर्शन उत्कृष्ट थियो। उनले खेलेका सबै खेलमा विपक्षी टोलीका कप्तानहरुकै विकेट लिएका कारण पनि चर्चामा आएका हुन्।

मेलबर्न स्टार्सका लागि चार खेल खेलेका उनले आठ विकेट लिएका थिए।

त्यसपछि चाहिँ उनी बांग्लादेश प्रिमियर लिग (बीबीएल) खेल्न र नेपालको यूएई भ्रमणमा सामेल हुन एशिया आए।

उनको स्थानमा ल्याइएका दायाँ हाते तीव्र गतिका बलर लियाम पल्ङ्केटले बिगब्यासमा आठ खेलमा १२ विकेट लिएका छन्।

लामिछानेको अनुपस्थितिमा मेलबर्न स्टार्सले आठ खेल खेल्यो। जसमा उसले चार खेलमा जित्यो।

लामिछानेको चर्चा

सिलेट सिक्सर्समा अनुबन्ध भएका लामिछाने बीबीएलमा अस्ट्रेलियामा झैं अपेक्षाकृत खेल्न सकेनन्।

अस्ट्रेलियाको व्यावसायिक प्रतियोगितामा सन्दीपले लगातार राम्रो प्रदर्शन गरेपछि खेल पत्रकार पिटर डेला पेनाले लेखेका थिए, "दिल्लीले तीन वर्षको लागि सन्दीपलाई न्यूनतम मूल्यमा पाएको छ। यो आईपीएलकै इतिहासमा सबैभन्दा सस्तो र राम्रो निर्णय हुनसक्छ।"

अर्का खेल पत्रकार एन्ड्रयु निक्सनले लामो इतिहास बोकेको काउन्टी क्रिकेटको नियमका कारण लामिछानेले उक्त प्रतियोगितामा खेल्न नपाउनु निराशाजनक भएको भन्दै ट्वीट गरेका थिए।

बांग्लादेशमा मिश्रित प्रदर्शन

बीपीएलमा लामिछानेले ६ खेल खेलेर जम्मा चार विकेट मात्र लिएका थिए। त्यसपछि उनी यूएईविरुद्ध हुने एकदिवसीय र टि-२० शृङ्खलाको तयारीका लागि नेपाल आएका थिए।

यहि साता सकिएको उक्त शृङ्खलापछि उनी सिधै अस्ट्रेलिया गएका हुन्। युएईविरुद्धको तीन एकदिवसीय खेलमा उनले सात विकेट हात पारेका थिए। यस्तै तीन टि-२० खेलमा पाँच विकेट लिए।

लामिछानेको लामो छलाङ

लामिछानेले १८ वर्षको उमेरमै विश्व ११ लगायत विश्वका चर्चित क्रिकेट लीगहरुमा खेलिसकेका छन्। उनले भारत, क्यारेबियन, अफगानिस्तान र बांग्लादेशका लीगहरुमा खेलेका छन्।