'शान्ति कूटनीतिका लागि ओली कोस्टारिकामा'

कूटनीतिज्ञहरूले प्रधानन्त्री केपी शर्मा ओलीको कोस्टारिका भ्रमणलाई ल्याटिन अमेरिकी मुलुकसँगको सम्बन्ध विस्तारका रूपमा नभइ सद्‌भावना भ्रमण मान्नुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न अमेरिका गएका ओली शनिवार कोस्टारिका लागेका छन्।

त्यहाँ उनले कोस्टारिकाका राष्ट्रपतिलाई भेट्ने र सोमवार संयुक्त राष्ट्रसंघको एउटा सङ्कल्प प्रस्ताव अनुसार स्थापना भएको 'शान्ति विश्वविद्यालय'को कार्यक्रममा सहभागी हुने बताइएको छ।

कोस्टारिकास्थित 'शान्ति विश्वविद्यालय'ले दुई दिनअघि आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा ओलीले त्यहाँका राष्ट्रपतिलाई भेट्ने गरी औपचारिक भ्रमणमा जान लागेको उल्लेख छ।

कार्यक्रम

भ्रमणका क्रममा सोमबार उनी कोस्टारिकाको 'सेन्ट्रल भ्याली'बाट दक्षिण-पश्चिमस्थित एउटा क्याम्पसको कार्यक्रमा सहभागी हुने जनाइएको छ।

विश्वविद्यालयका अनुसार उनलाई नेपालमा शान्ति र लोकतन्त्र स्थापनामा पुर्‍याएको योगदान स्वरूप सम्मान गर्दै त्यहाँ मानार्थ विद्यावारिधि दिइनेछ।

विज्ञप्तिमा उक्त विश्वविद्यालयको वडापत्रमा नेपालले हस्ताक्षर गर्ने कार्यक्रम राखिएको उल्लेख छ।

संयुक्त राष्ट्रसंघ महासभाबाट पारित भएको एउटा सङ्कल्प प्रस्ताव अनुसार स्थापना भएको उक्त विश्वविद्यालयको आफ्नै बडापत्र रहेको र त्यसमा हालसम्म ४० देशले हस्ताक्षर गरिसकको बताइएको छ।

पहिलो

नेपाल यसरी हस्ताक्षर गर्ने ४१ औँ मुलुक हुने पनि विज्ञप्तिमा उल्लेख छ।

नेपाली सरकारप्रमुखको पहिलो कोस्टारिका भ्रमण भएकाले धेरैले अनेक अड्कल काटिरहेका छन्।

पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य नेपालभन्दा धेरै टाढा रहेको तथा आर्थिक हिसाबले ठूलो फाइदा लिन सकिने खालको मुलुक नभएकाले ओली कोस्टारिका जानुलाई सद्‌भावना भ्रमणकै रुपमा लिनुपर्ने बताउँछन्।

उनले द्वन्द्वबाट कसरी अगाडि बढ्ने भन्ने सन्देश दिन कोस्टारिका आफै एउटा उदाहरण भएको उनले बताए।

"कोस्टारिकाको शान्ति प्रक्रियामा आफ्नै पनि अनुभव छन्," उनले भने, "त्यसैले शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति प्रक्रियाको अनुभव साटासाट गर्ने हिसबाले यो भ्रमण भएको हुनसक्छ।"

अड्कल

कतिपयले मानव तस्करहरूले ल्याटिन अमेरिकी मुलुकहरूको बाटो प्रयोग गर्दै नेपालीलाई अमेरिका पठाउने गरेकाले त्यस विषयमा समेत कोस्टारिका र नेपालबीच कुराकानी हुनसक्ने अड्कल काटेका छन्।

तर, पूर्वसचिव आचार्य भने त्यस विषयमा काम गर्न अन्तर्राष्ट्रिय संघसंस्था वा धेरै मुलुकले पहल गर्नुपर्ने भएकाले नेपाल र कोस्टारिकाबीच त्यसबारे कुरा हुने सम्भावना नरहेको बताउँछन्।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले शान्ति कूटनीतिलाई अघि बढाउने पहलस्वरूप ओली कोस्टारिका गएको बताए।

"शान्ति कूटनीतिलाई हामीले नै कति नेतृत्व गर्न सक्छौ बेग्लै हो," उनले भने, "तर नेपाल शान्तिको पक्षमा छ, नेपाल त्यसलाई प्रोत्साहित गर्दछ भन्ने दृष्टिकोण र दृष्टान्त दिनलाई हो।"

आलोचकहरूले भने नेपाललाई खासै फाइदा नहुने खालको भ्रमणमा प्रधानमन्त्रीले बजेट र समय खर्चिनु उपयुक्त नभएको बताउने गरेका छन्।