तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बांग्लादेशद्वारा रोहिंज्या शरणार्थीको आवत जावतमा कडाइ
बांग्लादेशको प्रहरीले पछिल्लो तीन सातामा त्यहाँ पुगेका ४ लाखभन्दा बढी रोहिंज्या मुसलमान शरणार्थीहरुको आवतजावतमाथि कडाइ गरेको छ।
सरकारले छुट्टाएका निश्चित स्थानहरुमा शरणार्थीहरु बस्नुपर्ने र आफ्ना साथी तथा नातेदारसँग अरु ठाउँमा जान उनीहरुलाई अनुमति नरहेको प्रहरीको वक्तव्यमा जनाइएको छ।
सरकारले कोक्स बजार छेउमा शरणार्थीहरुका लागि आश्रयस्थल बनाइरहेको छ।
उक्त शिविरमा ८० हजारभन्दा बढीले आश्रय पाउने बताइएको छ।
बीबीसीकी दक्षिण एसिया सम्पादक जिल म्याकगिभिरिङ् भन्छिन्, "प्रहरीले यातायात व्यवसायी र चालकहरुलाई शरणार्थीलाई नबोक्न भनेको छ। शरणार्थीलाई कोठा भाडामा नदिन पनि घरधनीहरुलाई भनिएको छ"।
विश्लेषकहरु भन्छन्, "रोहिंज्या शरणार्थी बांग्लादेशी जनसंख्यामै नमिसिउन ताकि उनीहरुलाई म्यानमार वा तेस्रो मुलुक पठाउन सकियोस् भन्ने सरकार चाहन्छ"।
शरणार्थीको ताँतीले बांग्लादेशका कतिपय भाग भरिभराउ भएका छन्।
बांग्लादेशमा यसअघि नै लाखौं रोहिंज्या मुसलमान आप्रवासी छन्।
राष्ट्रसंघले म्यानमार सैनिकले रखाइन राज्यमा गरेको पछिल्लो कारबाही जातीय सफाया सरह हुनसक्ने बताएको छ।
अधिकारवादी समूहहरुले रोहिंज्या गाउँहरुमा म्यानमारको सैनिकले आगो लगाएको आरोप समेत लगाएका छन्।
तर सेनाले अतिवादीहरुको आक्रमणको जवाफमात्रै दिइएको र गैरसैनिकहरुलाई निशाना नबनाइएको बताएको छ।