गर्भपतनसम्बन्धी धारणाले ट्रम्प विवादमा

trump

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्रम्प आफ्ना अभिव्यक्तिका कारण पटकपटक विवादमा तानिने गरेका छन्

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन आकांक्षी डोनल्ड ट्रम्पले गर्भपतनलाई अपराधको रुपमा पुन: कानुनी दायरामा ल्याउने हो भने त्यस्तो काम गर्ने महिलालाई कारबाही गर्नुपर्छ भनी दिएको अभिव्यक्ति केही घण्टापछि बदलेका छन्।

प्रष्टीकरण भनी जारी गरिएको आफ्नो वक्त्व्यमा ट्रम्पले महिलालाई नभइ गर्भपतन गराउने चिकित्सकलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

बदलाव

यो मामिलामा महिला, उनको पेटमा हुर्किरहेको भ्रूणजस्तै पीडित रहेको ट्रम्पको वक्त्व्यमा उल्लेख छ।

वक्त्व्यअघिको टिप्पणी ट्रम्पले एमएसएनबीसी समाचार च्यानलसंगको अन्तर्वार्ताका क्रममा गरेका थिए।

उक्त टिप्पणीलाई राष्ट्रपति पदकी डेमोक्र्याटिक आकांक्षी हिलरी क्लिन्टनले डरलाग्दो भनी व्याख्या गरेकी छन्।

hillary

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डेमोक्रयाटिक आकांक्षी हिलरी क्लिन्टनले ट्रम्पको टिप्पणीलाई डरलाग्दो भनी व्याख्या गरेकी छन्

विश्लेषकहरुलाई गर्भपतनबारेको ट्रम्पको विचारलाई अस्थिर भनेका छन्।

अडान

कुनै बेला गर्भपतनको अधिकारको पक्षपाती रहेका ट्रम्प अहिले बलात्कार, अन्य आपराधिक घटना र महिलाको ज्यान खतरामा रहँदा बाहेकका अवस्थामा गर्भपतनलाई प्रतिबन्धित गरिनुपर्ने धारणा राख्छन्।

उक्त विचारले उनलाई रिपब्लिकन पार्टीको मूलधारको दृष्टिकोणबाट अलग बनाउँदैन तर गैरकानुनी गर्भपतन गराउने महिलालाई के गर्ने भन्नेबारेको उनको धारणाले मानिसहरुलाई झुक्याइरहेको छ।

देशकै सबैभन्दा उच्च पदमा पुग्ने आकांक्षासहित चुनावी मैदानमा रहेका व्यक्तिलाई यस्ता अस्थिर अडानहरुले साधारणतया हानी पुर्याउँछ।

तर ट्रम्पले के देखाएका छन् भने उनका समर्थकहरु झिना मसिना कुरा भन्दा उनले दिने गरेको राजनीतिज्ञ विरोधी सन्देशबाट बढी प्रभावित छन्।