गणतन्त्र दिवसका प्रमुख अतिथिमा देखिन्छ भारतको विदेशनीति

दिल्लीमा भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयी नेपालका राजा वीरेन्द्रलाई नमस्कार गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९९ मा नेपालका राजा वीरेन्द्र दिल्लीमा आयोजित भारतको गणतन्त्र दिवसको समारोहमा प्रमुख अतिथि थिए
    • Author, निकिता यादव

भारतले २६ ज्यानुअरीमा आफ्नो ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ। ब्रिटिश उपनिवेशबाट मुक्त भएर आफ्नै संविधान लागु गरेको र औपचारिक रूपमा गणतन्त्र बनेको दिन प्रत्येक वर्ष भारतले मनाउँदै आएको गणतन्त्र दिवस यो वर्ष केही भिन्न हुने देखिएको छ।

हजारौँ मानिसहरू उपस्थित हुने दिल्लीको प्रसिद्ध चौडा सडकमा हरेक वर्षजस्तै यसपालि पनि सेनाका ट्याङ्कहरू गुडे र त्यहाँको आकाशमा लडाकु विमानहरू पनि उडे।

परेड आफैँमा देखाउने कुरा मात्रै हो तर त्यो समारोहमा सबैभन्दा विशिष्ट सीटमा को हुन्छन् भन्ने विषयमा धेरैको ध्यान हुन्छ। यो वर्ष युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लायन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनिओ लुइस सान्तोस डी कोस्टा उक्त समारोहका विशिष्ट पाहुना थिए।

भारतले देशको सबैभन्दा प्रतिष्ठित समारोहमा युरोपेली सङ्घलाई केन्द्रमा राख्दै उनीहरूलाई मुख्य अतिथिको रूपमा बोलाएको छ।

यस दिन भारतले आफ्नो राजधानीको मुटुलाई मञ्चमा परिणत गर्छ। हजारौँ सैनिकहरूले भिडको हौसलामाझ परेड गर्छन्, बख्तरबन्द गाडीहरू यसअघि राजपथ वा किङ्स एभिन्यू भनिने कर्तव्य पथमा गुड्छन् र दिल्लीमा रङ्गीविरङ्गी झाँकीहरू दर्शक अगाडि हुँदै अघि बढ्छन्। अनि दशौँ लाख भारतीयहरूले देशभरिबाट यो गतिविधि टेलिभिजनमा हेर्छन्।

खास अतिथि र भारतले दिने महत्त्व

गणतन्त्र दिवसको परेड

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, गणतन्त्र दिवसको परेड भारतको संस्कृति, उपलब्धि र सैन्य शक्तिको प्रदर्शन पनि मानिन्छ

परेडको अध्यक्षता भारतीय राष्ट्रपतिले गर्छन्, उनको कुर्सीको सबैभन्दा नजिक सबैभन्दा वरिष्ठ सरकारी अधिकारीहरू भन्दा पनि छेवैमा प्रमुख अतिथि राखिन्छन्।

भारतीय राष्ट्रपतिको छेउमा को बस्छ भन्ने कुरा मर्यादाक्रम भन्दा पनि महत्त्वपूर्ण चासोको रूपमा लामो समयदेखि हेर्ने गरिएको छ। विज्ञहरूका अनुसार दशकौँदेखि प्रमुख अतिथिको छनौटलाई भारतको विदेशनीतिका प्राथमिकताहरू र दिल्लीले कुनै विशेष क्षणमा उजागर गर्न चाहेको सम्बन्धको सूचकका रूपमा पनि नजिकबाट हेर्ने गरिएको छ।

सन् १९५० मा भारतको पहिलो गणतन्त्र दिवसको परेडमा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोले भाग लिएसँगै यो अभ्यास सुरु भएको थियो।

दोस्रो अतिथि नेपालका राजा त्रिभुवन वीर विक्रम शाह थिए। सन् १९५१ मा उनलाई भारतले गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा निम्त्याएको थियो।

नेपालका राजा त्रिभूवन

तस्बिर स्रोत, President Mukherjee/X

तस्बिरको क्याप्शन, नेपालका राजा त्रिभूवन पनि भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि बनेका थिए

नेपालका दुई राजाले यो अवसर पाए। त्रिभुवनपछिका राजा महेन्द्रलाई भारतले गणतन्त्र दिवसको अतिथि बनाएन।

तर ४८ वर्षपछि सन् १९९९ मा राजा वीरेन्द्र दिल्लीमा आयोजित भारतको गणतन्त्र दिवसको समारोहमा प्रमुख अतिथि बने।

गणतन्त्र बनेका प्रारम्भिक वर्षहरूमा भारतले हालै स्वतन्त्रता हासिल गरेका देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिएको थियो। त्यो कुरा प्रमुख अतिथिहरूको छनोटमा प्रतिबिम्बित भएको थियो।

त्यसयता गणतन्त्र दिवसको परेडले विश्वभरका नेताहरूलाई मुख्य अतिथिको रूपमा आमन्त्रण गरिसकेको छ। सँगसँगै यसले भारतको विश्वव्यापी सम्बन्ध र रणनीतिक प्राथमिकताहरूमा आएको परिवर्तनलाई पनि प्रतिबिम्बित गर्दै आएको छ। यसको प्रमुख अतिथि बनेर नेपाल, भुटान र श्रीलङ्काजस्ता छिमेकी देशका नेतादेखि अमेरिका र यूकेजस्ता प्रमुख शक्तिराष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू पनि सहभागी भएका छन्।

यूकेले पाँच पटक प्रमुख अतिथि हुने मौका पाएको छ। महारानी एलिजावेथ द्वितीया र राजकुमार फिलिपसहित प्रमुख अतिथि बन्नुले दुई देशबीचको लामो र जटिल इतिहासलाई दर्साउँछ। रुस (पहिलेको सोभियत सङ्घ) र फ्रान्सका नेताहरूलाई पनि सन् १९५० यता झन्डै पाँच पटक आमन्त्रित गरिएको छ। यसले पनि यी दुई देशसँग भारतको लामो समयदेखिको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।

कसरी तय हुन्छन् प्रमुख अतिथि

महारानी एलिजावेथ द्वितिय सवार घोडाहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९६१ मा भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथि महारानी एलिजावेथ द्वितीय थिइन्

विगतमा यति फरकफरक पृष्ठभूमिका नेताहरूलाई बोलाएको भारतले कुनै निश्चित वर्ष कसलाई प्रमुख अतिथि बनाउने भनेर कसरी निर्णय लिन्छ त?

प्रमुख अतिथिको छनौट प्रक्रिया सार्वजनिक दृष्टिकोण भन्दा निकै भिन्न छ।

पूर्व कूटनीतिज्ञहरू र सञ्चार माध्यमहरूमा आएका विवरण अनुसार यो सामान्यतया विदेश मन्त्रालयबाट सुरु हुन्छ। जहाँ सम्भावित आमन्त्रितहरूको सूची तयार गरिन्छ। अन्तिम निर्णय प्रधानमन्त्रीको कार्यालयले लिन्छ, त्यसपछि छानिएका देशहरूसँग आधिकारिक सञ्चार गरिन्छ र यो प्रक्रिया धेरै महिनाको पनि हुन सक्छ।

नाम उल्लेख नगर्ने सर्तमा विदेश मन्त्रालयका एक पूर्व अधिकारीले भने : "रणनीतिक उद्देश्य, क्षेत्रीय सन्तुलन र कुनै पनि देशलाई यसअघि आमन्त्रण गरिएको छ कि छैन भन्ने विषयलाई ध्यान दिइन्छ।"

संयुक्त राज्य अमेरिकाका लागि भारतका पूर्वराजदूत नवतेज सर्ना निर्णय प्रक्रियामा धेरै नै सोचविचार गर्नुपर्ने बताउँछन्।

"यो महत्त्वपूर्ण साझेदारहरू, छिमेकीहरू र प्रमुख शक्तिहरूबीचको सन्तुलन हो," उनले भने। उनका अनुसार त्यही समयमा कुनै पनि देशका नेताको उपलब्धताले पनि चयनमा महत्त्वपूर्ण भूमिका खेल्छ।

विदेशनीति विश्लेषक हर्ष भी पन्त प्रमुख अतिथिहरूको विकास हुँदै गरेको सूचीले विश्वसँग भारतको बदलिँदो सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताउँछन्। "यदि तपाईँ यो वर्ष ईयू प्रतिनिधिमण्डलको बारेमा सोचिन्छ र यसको नेतृत्व आउँदै छ भने यो बुझिन्छ कि ईयूसँग हाम्रो संलग्नतालाई हामी दोबर गर्दै छौँ," उनी भन्छन्।

बराक ओबामा र नरेन्द्र मोदी

तस्बिर स्रोत, Hindustan Times via Getty Images

तस्बिरको क्याप्शन, सन् २०१५ मा बराक ओबामा भारतको परेडमा सहभागि हुने पहिलो अमेरिकी राष्ट्रपति बने

अतिथिले देखाउने विदेशनीति

उनका अनुसार यो भ्रमणका क्रममा ईयूसँग एक व्यापार सम्झौताको घोषणा हुने सम्भावना छ। जसले भारत र युरोपेली ब्लक अहिलेको भूराजनीतिक परिस्थितिमा एउटै कित्तामा रहेको सङ्केत गर्ने उनी बताउँछन्।

भारतले व्यापार सम्झौताका लागि अमेरिकासँग वार्ता जारी राखेका बेला यो घटनाक्रम अघि बढेको हो। अमेरिकाले करिब एक वर्षदेखि भारतीय सामानमा एशियामै सबैभन्दा बढी ५० प्रतिशत कर लगाएपछि जारी वार्ताबीच उनीहरूको सम्बन्धमा तनाव बढिरहेको छ। भारतले रुसी तेल खरिद गरेकोमा समेत अमेरिकाले जरिवाना सहित कर लगाएको बताएको छ।

"यसले (परेडको मुख्य अतिथिको छनौट) त्यस विशेष बिन्दुमा भारतको प्राथमिकताहरूको सङ्केत दिन्छ। उसले कुन भूगोलमा ध्यान केन्द्रित गर्न चाहन्छ वा त्यहाँ कुनै कोसेढुङ्गा स्थापित गर्न चाहन्छ कि भन्ने औँल्याउँछ," पन्त भन्छन्।

उनका अनुसार भारतले ग्लोबल साउथसँग आफ्नो संलग्नता पनि जारी राखेको छ।

सन् २०१८ मा दक्षिण पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसीयान)का नेताहरूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिनु यसको एउटा उदाहरण थियो। क्षेत्रका नेताहरूलाई सामूहिक रूपमा आमन्त्रित गरिएको त्यो पहिलो घटना रहेको पन्त बताउँछन्। त्यो कित्तासँग भारतको कूटनीतिक संलग्नताको २५ वर्ष पूरा भएको अवसर पनि थियो।

सँगसँगै अतिथिको सूचीमा रहेका मानिसहरूको अनुपस्थितिले सम्बन्धको चिसोपना प्रतिबिम्बित गर्छ।

दुई छिमेकी राष्ट्रहरू सन् १९६५ मा युद्धमा जानुअघि पाकिस्तानी नेताहरू दुई पटक प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। त्यसपछि इस्लामवादलाई आमन्त्रण गरिएको छैन र यो दुई छिमेकीबीचको सम्बन्धमा जारी तनावको सङ्केत पनि हो।

भारतको परेडमा चीन एक पटक मात्रै आएको छ। सन् १९५८ मा दुई देशबीच विवादित सीमालाई लिएर युद्ध सुरु हुनुभन्दा चार वर्षअघि मार्शल ये जियेनिङ आएका थिए। पछिल्लो समय भारतको गणतन्त्र दिवसको महत्त्व कूटनीति र पाहुनाको सूचीभन्दा व्यापक छ।

मनमोहन सिंह, भ्लादिमिर पुटिन र ए पी जे अब्दुल कलाम

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, सन् २००७ को गणतन्त्र दिवसको परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागि भएका थिए

गणतन्त्र दिवसको भिन्न परेड

भारतको परेड धेरै कारणहरूले विश्वका अन्य स्थानमा हुने यस्तै सैन्य प्रदर्शनहरू भन्दा फरक रहेको विश्लेषकहरू बताउँछन्। भारतको परेडमा हरेक वर्ष एक जना अतिथि आउनु पनि त्यसमध्येको एक विशेषता हो।

अधिकांश देशहरूमा यस्ता परेडहरूले सैन्य विजयको सम्झनामा आयोजना गरिन्छन्। रुसको भिक्ट्री डे दोस्रो विश्वयुद्धमा जर्मनीको पराजयको प्रतीक हो। फ्रान्सको बास्टिल डे फ्रान्सेली क्रान्तिको सुरुआत र राजतन्त्रको पतनको उत्सव हो र चीनको सैन्य परेड दोस्रो विश्वयुद्धमा जापानमाथि उनीहरूको विजयको प्रतीक हो।

पन्तका अनुसार भारतको उत्सव चाहिँ अरूभन्दा फरक संविधानमा केन्द्रित छ।

"अरू धेरै देशहरूका लागि यस्ता उत्सवहरू युद्धमा विजयसँग जोडिएका छन्। हामी त्यो मनाउँदैनौँ। हामी संवैधानिक लोकतन्त्र बनेकोमा उत्सव मनाउँछौँ र संविधान लागु भएकोमा मनाउँछौँ," उनी भन्छन्।

धेरै पश्चिमा देशका राजधानीहरूमा हुने सैन्य परेड भन्दा भिन्न भारतको गणतन्त्र दिवसमा सांस्कृतिक प्रस्तुति र क्षेत्रीय झाँकीहरू सँगै सैन्य क्षमताको प्रदर्शन गरेर शक्ति र विविधता दुवैको मिश्रण प्रस्तुत गरिन्छ।

रणनीति र प्रतीकात्मकता भन्दा पर परेडले भ्रमण गर्ने नेताहरूमा थप व्यक्तिगत छाप पनि छोड्छ।

नाम नखुलाउने क्रममा कुरा गरेका विदेश मन्त्रालयका पूर्व अधिकारीले अमेरिकी तत्कालीन राष्ट्रपति बराक ओबामा लगायतका अतिथि कसरी विशेष गरी उँटमा चढेका टुकडीहरूबाट प्रभावित भएका थिए भन्ने कुरा सम्झन्छन्। यो खास क्षण औपचारिक समारोह समाप्त भएको लामो समयसम्म पनि उनीहरूको स्मृतिमा रहन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।