नेपाल-चीनबीच १० सम्झौतामा हस्ताक्षर
महेश आचार्य
बीबीसी नेपाली, बेइजिङ

तस्बिर स्रोत, Reuters
नेपाल र चीनबीच पारवहन, व्यापार लगायत विषयसँग सम्बन्धित १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।
चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन्।
नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौतालाई महत्वका साथ हेरिएको छ।
यसैगरी हिल्सामा पुल बनाउने विषयमा पनि सम्झौता भएको छ।
‘ऐतिहासिक महत्व’

तस्बिर स्रोत, Mahesh Acharya BBC
यसअघि नै चर्चा भएजस्तै खुला व्यापारसम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ।
ग्यास तथा पेट्रोलियम अन्वेषण, ट्रेडमार्क दर्ता, पोखरा विमानस्थल निर्माण लगायतका सम्झौता पनि भएका छन्।
यसैगरी दुई देशका ब्यांकहरुबीच सूचना आदानप्रदानका लागि आधार तयार पार्ने सम्झौता पनि भएको छ।

तस्बिर स्रोत, Reuters
बहुप्रतीक्षित इन्धन खरिदबारे भने कुनै सम्झौता भएन।
रेल विस्तार
हस्ताक्षर कार्यक्रमलगत्तै बोल्दै चिनियाँ विदेश मन्त्रालयको एसिया विभागकी सहायक निर्देशक हो यन्सीले ऐतिहासिक महत्वको भ्रमण भएको बताइन्।
उनका अनुसार चिनियाँ प्रधानमन्त्री ली खछ्यांगले नेपालले संविधान निर्माणमा चालेको कदमको प्रशंसा गर्दै चीनले नेपाललाई सधै आर्थिक रुपमा समृद्ध, स्थायित्व र सामाजिक एकतासहितको मुलुकका रुपमा हेर्न चाहेको बताएका थिए।

तस्बिर स्रोत, EPA
प्रधानमन्त्री केपी ओलीले नेपालको एक चीन नीति दोहोर्याउंदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने बताएका थिए।
ओलीले चीनको रेल नेपालसम्म विस्तार गर्न र नेपालभित्रै पनि विभिन्न शहरलाई रेलबाट जोड्ने काममा चीनको सहयोग मागेका थिए जसप्रति चिनियाँ पक्षले सकरात्मक जवाफ दिएको चिनियाँ विदेश मन्त्रालयको एसिया विभागकी सहायक निर्देशक हो यन्सीले बताइन्।








