ताइवानमा पहिलो महिला राष्ट्रपति निर्वाचित

श्रीमति साईको जीतसँगै केएमटीको लामो सत्ता यात्रा तोडिएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, श्रीमति साईको जीतसँगै केएमटीको लामो सत्ता यात्रा तोडिएको छ

ताइवानमा लामो समयसम्म सत्तामा रहेको सत्तारुढ पार्टीका उम्मेदवारलाई परास्त गर्दै पहिलो महिला राष्ट्रपतिमा साई यीगं वन निर्वाचित भएकी छन्।

उनले नेतृत्व गरेको ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ताइवान चीनबाट स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छ।

विजयी भएपछि नवनिर्वाचित राष्ट्रपति साईले आफूले चीनसँगको सम्बन्ध यथास्थितिमै राख्न चाहेको बताएकी छन्।

प्रान्त

तर उनले भनेकी छन्, "बेइजिङ्ले ताइवानको प्रजातन्त्रको सम्मान गर्नुपर्छ र दुवै पक्षले उक्साहट नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ।"

चीनले ताइवानलाई अलग्गिएको आफ्नो प्रान्तको रुपमा हेर्छ र, आवश्यक परे बल प्रयोग गरेर फिर्ता लिने चेतावनी दिने गर्छ।

ताइवानमा नयाँ युगको सुरुवात भएको बताउँदै साईले त्यस क्षेत्रको शान्ति र स्थायित्वको निम्ति ताइवानले योगदान दिने पनि प्रतिवद्धता जनाएकी छन्।

साईद्वारा परास्त भएपछि सत्तारुढ क्वमिनताङ् (केएमटी) पार्टीका उम्मेदवार एरिक चूले साईलाई बधाई दिएका छन्।

चुनावमा पराजित भएपछि उनले पार्टी प्रमुखको पद त्यागको घोषणा पनि गरे।

प्रमुख मुद्दाहरुमा अन्य दलहरुसँग पनि सहकार्य गर्ने नवनिर्वाचित राष्ट्रपतिको वाचा छ।

नयाँ मोड

नयाँ राष्ट्रपतिले अमेरिका र जापानलाई समर्थनको निम्ति धन्यवाद दिइन्।

ताइवान र चीनका नेताहरुबीच ऐतिहासिक भेटवार्ता भएको केही महिनापछि ताइवानको चुनाव हो।

निर्वाचनको परिणामले ताइवानको प्रजातन्त्र र चीनसँगको सम्बन्धमा पनि एउटा नयाँ मोड आएको जस्तो देखिएको छ।

ताइपेइस्थित बीबीसीकी संवाददाता सिण्डी सुइ भन्छिन्, "डीपीपीले जित्नु भनेको उक्त टापु देशका मतदाताले शासन सत्ता एउटा पार्टीबाट अर्कोमा सरोस् भन्ने चाहन्छन्, जसका कारण वर्षौंदेखि सत्तामा रहेको केएमटी पार्टीको शासन अन्त्य भएको छ।"