चीन अफ्रिका व्यापार: आश्चर्यजनक आँकडा

तस्बिर स्रोत, Getty Images
अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको चीनले हालै उक्त महादेशको विकासका लागि झन्डै ६० अर्ब डलर ( झन्डै ६० खर्ब रुपियाँ) बराबरको सहयता र ऋण दिने घोषणा गरेको छ।
तर चीन र अफ्रिका बीचको सम्बन्ध अब नयाँ सडकहरु, खानी तथा सैनिक शक्तिमा मात्रै निर्भर छैन।
अफ्रिकी व्यापारीहरु चीनमै बसेर कारोबार गर्छन् भने दशौँ हजार चिनियाँहरु विपरित दिशामा रहेको अफ्रिका तिरै भासिएका छन्।
चीनको प्रभावका कारण अफ्रिकाको जनजीवनमा कैयौँ प्रभाव परेको छ। यहाँ हामी चीन र अफ्रिकाबीच भइरहेका केही आश्चर्यजनक कारोबारहरुको चर्चा गर्दैछौँ।
४१ करोड डलरको नक्कली कपाल

तस्बिर स्रोत, Getty
सन् २०१४ मा बेनीन चीनबाट नक्कली कपाल र नक्कली दाह्री भित्र्याउने अफ्रिका महादेशकै सबैभन्दा ठूलो आयातकर्ता थियो।
उसले चीनबाट ४१ करोड डलर (करिव ४१ अर्ब रुपियाँ) बराबरका कपालका टुक्रा खरिद गरेको थियो।
झन्डै ३ करोड केजी तौल बराबरको कपाल बेनिन लगिएको थियो र त्यहाँबाट अधिकांश नक्कली कपाललाई छिमेकी नाइजेरियातिर पुर्याइएको थियो।
१ करोड ६० लाखवटा भित्री वस्त्र

तस्बिर स्रोत, thinkstock
चीनमा बनेका पुरुषका भित्री कट्टु सबैभन्दा ठूलो खरिदकर्ता दक्षिण अफ्रिका रहेको छ।
सन् २०१४ मा दक्षिण अफ्रिकाले आयात गरेका १ करोड ८७ लाख कट्टुहरु मध्ये १ करोड ६६ लाख कट्टुहरु चीनबाट खरिद गरिएका थियो जुन दक्षिण अफ्रिकाको विदेशबाट खरिद गरिएका कट्टुको ८८ प्रतिशत हुन जान्छ।
५ हजार ७ सय घस्रने जीव

तस्बिर स्रोत, istock
चीनमा बन्ने ‘सोया सस’को अफ्रिकामा अघिल्लो वर्ष सबैभन्दा ठूलो खरिदकर्ता रहेको मोरिससले त्यसका लागि सवा ४ लाख डलर ( सवा चार करोड) भन्दा बढीको खरिद गरेको थियो।
तर यस खालको आश्चर्यजनक खरिद एकतर्फीमात्रै हुँदैन।
मोरिससले ५ हजार ७ सय ३५ वटा घस्रने जीवहरु चीनलाई बेच्यो जसको मुल्य ९० हजार डलर (झन्डै ९० लाख रुपियाँ) रहेको छ।
८० लाख डलर बराबरको बस्नमिल्ने शौचालय

सन् २०१४ मा केन्या चीनमा बनेका प्लास्टिकका ‘कमोड’हरुको सबैभन्दा ठूलो खरिदकर्ता बन्यो।
शौचालयमा राखिने ती सिटहरुका लागि उसले ८१ लाख डलर (८ करोड रुपियाँ) भन्दा बढी खर्च गरेको थियो।
१५ करोड ९० लाख दाँत माझ्ने ब्रश

तस्बिर स्रोत, thinkstock
नाइजेरियाबाट चीनले उसको तेलमात्र खरिद गरिरहेको छैन, नाइजेरीयालीहरुको दाँतलाई चम्काउन पनि उसले मद्दत गरिरहेको छ।
अघिल्लो वर्ष चीनमा उत्पादित दाँत माझ्ने ब्रश सबैभन्दा धेरै किन्नेमा नाइजेरियाली व्यापारीहरु रहेका थिए।
झन्डै झन्डै प्रत्येक नाइजेरियालीका लागि दाँत माझ्ने ब्रश खरिद गर्ने क्रममा उनीहरुले १५ करोड ९० लाख ब्रसका लागि झन्डै ९३ लाख डलर (९ करोड ३० लाख रुपियाँ) भन्दा बढी रकम तिरेका थिए।
१९ करोड ३० लाख डलरको मोटरसाइकल

तस्बिर स्रोत, AFP
अफ्रिकालाई चलायमान बनिरहन पनि चीनले सहयोग गरिरहेको छ।
टोगोका व्यापारीहरुले चीनमा निर्मित मोटरसाइकल खरिद गर्न सन् २०१४ मा झन्डै १९ करोड ३८ लाख डलर (१९ अर्ब ३८ करोड रुपियाँ) खर्च गरे।
त्यहाँ भन्दा बढी मोटरसाइकल आयात गरेको नाइजेरियाले ४५ करोड डलर (४५ अर्ब रुपियाँ) भन्दा बढी रकम चीनलाई तिरेको थियो।
३ सय ४० बाँदर

तस्बिर स्रोत, istock
सन् २०१४ मा सबैभन्दा बढी बाँदर चीनलाई निर्यात गर्ने देश गीनी रह्यो। उसले ३ सय ४० वटा जीवित बाँदर अघिल्लो वर्ष चीन पठाएको थियो।








