‘विद्रोही नियन्त्रित क्षेत्रबाट क्षेप्यास्त्र प्रहार’

तस्बिर स्रोत, AFP
डच सुरक्षा बोर्डका प्रमुखले पूर्वी युक्रेनमा गत वर्षको जुलाइ महिनामा मलेसियन एयरलाइन्सको यात्रु विमानलाई रुस समर्थित विद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरी खसालिएको आफूलाई विश्वास रहेको बताएका छन्।
विमान खसालिएको घटनाबारे गरिएको अनुसन्धानको पूर्ण प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै सुरक्षा बोर्डका प्रमुखले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
बोर्डका अध्यक्ष चिब यास्त्राले एमएच १७ उडान उक्त घटनामा परेको बेला सीमा क्षेत्रमा अनियन्त्रित गतिविधि भईरहेको पत्रकारहरुलाई बताए।
उनले भने, “युद्ध भएकै अग्र क्षेत्र त्यो थिएन बरु त्यो यस्तो क्षेत्र थियो जसको नियन्त्रक रुस समर्थक विद्रोहीहरु थिए।”
नियन्त्रण
तर त्यति बेला रुस समर्थक विद्रोहीको नियन्त्रणमा उक्त क्षेत्र रहेको उनले उल्लेख गरे।
उनले बुझाएको अनुसन्धान प्रतिवेदनले मलेसियन यात्रुवाहक विमानको ककपीटको एकदमै नजिक रुसमा निर्मित बियुके सिक्स नामक जमीनबाट हावामा प्रहार गरिने क्षेप्यास्त्र विष्फोट भएको निष्कर्ष निकालेको छ।
डच अभियोजनकर्ताले अनुसन्धानबाट “स्वार्थ भएका व्यक्तिहरुको पहिचान” भएको बताए।
यद्यपि उनले कसैको नाम लिएनन्।

तस्बिर स्रोत, AFP Getty Images
साथै प्रतिवेदनले भनेको छ, युक्रेनले उक्त क्षेत्रको आकासमा गैरसैनिक विमानहरुमाथि प्रतिबन्ध लगाउनुपर्दथ्यो।
कोसेढुंगा
यसैबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले घटनाका दोषीलाई न्यायको कठघरामा उभ्याउने प्रयासका निम्ति अनुसन्धान प्रतिवेदन कोसेढुंगा भएको बताएको छ।
मलेसियाका यातायातमन्त्रीले विमान खसाल्ने “हिंस्रक अपराधीहरु”विरुद्ध मुद्दा चलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुसले चाहिँ अनुसन्धानका नतिजाहरु पूर्वाग्रही भएको बताएको छ।
उसले राजनीतिक निर्देशन पूरा गर्ने स्पष्ट प्रयास गरिएको टिप्पणी समेत गरेको छ।
डच प्रधानमन्त्रीले विमान खसाल्ने घटनाका दोषीबारे गरिने अनुसन्धानमा पूर्ण सहयोग गर्न रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनलाई आग्रह गरेका छन्।








