उद्धार कार्य लगभग सकियो: सरकार

हिमपातका कारण भएको यो मानवीय क्षतिले पर्यटन व्यवसायमा धक्का पुग्ने चिन्ताहरु व्यक्त भइरहेका छन्

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, हिमपातका कारण भएको यो मानवीय क्षतिले पर्यटन व्यवसायमा धक्का पुग्ने चिन्ताहरु व्यक्त भइरहेका छन्

पाचौँ दिनको उद्धार कार्य पुरा हुँदा अन्नपूर्ण र आसपासका क्षेत्रमा आएको भिषण हिमपातमा अब कोही पनि फसिरहेको सुचना आफूसँग नरहेको सरकारले जनाएको छ।

अधिकारीहरुले ज्यान गुमाएका ३९ मध्ये ३३ जनाको शव हिउँबाट बाहिर निकालिएको र झन्डै ४ सय भन्दा बढीलाई जीवितै उद्धार गरिएको बताएका छन्।

गृहमन्त्रालयले अन्नपूर्ण पदयात्रा मार्ग र आसपासका क्षेत्रमा भइरहेका उद्धार कार्य अब लगभग सकिन लागेको पनि जनाएको छ।

डोल्पा र मुस्ताङको सिमानामा झन्डै ६ हजार मिटरको उचाइमा रहेको क्षेत्रबाट उद्धारकर्ताहरुले आइतबार ९ जना नेपालीको शव निकालेका थिए।

प्रतिक्षा

मनाङको नार र फू क्षेत्रमा पाइएका १० वटा शव संकलन गर्न टोलीहरु खटाइए पनि गहिरो गरी हिउँमा पुरिएका कारण तीन जनाको मात्र शव बाहिर निकाल्न सकिएको अधिकारीहरुले बताएका छन्।

आइतवार मनाङबाट नौ जना विदेशी सहित १५ जना र मुस्ताङबाट आठ जना नेपालीको उद्दार गरिएको बताइएको छ।

गृहमन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन महाशाखाका प्रमुख यादव कोइरालाले अब अलपत्र अवस्थामा उक्त क्षेत्रमा कुनै पनि पदयात्री नरहेको बीबीसीलाई बताए।

उनले भने, “अब हामी लगभग उद्धार कार्यको अन्तिममा छौं, जीवितै मानिसहरुलाई उद्धार गरिसक्यौं र मृतहरु १० फिट सम्म पनि पुरिएको बताइएको छ त्यसलाई त प्रतिक्षा नै गर्नुपर्छ।”

उनले हिमपात प्रभावित क्षेत्रमा सोमबार हेलिकप्टर मार्फत अन्तिम चरणको खोजी कार्य अघि बढाइने बताए।

कमजोरी

भारतको हुदहुद समुन्द्री आँधीका कारण आएको ठानिएको उक्त अप्रत्याशित हिमपात र हिमपहिरोका कारण ३९ जनाको ज्यान गएको सरकारले जनाएको छ।

नेपालको सबैभन्दा लोकप्रिय पदयात्रा मार्गमा भएको अहिलेसम्मकै ठूलो उक्त मानविय क्षतिले संसारभर गलत सन्देश जान सक्ने चिन्ताहरु व्यक्त भएका छन्।

पछिल्लो घटनापछि पदयात्रा पर्यटनलाई थप व्यवस्थित पार्न कदमहरु चालिने अधिकारीहरुले बताएका छन्।

गृहमन्त्रालयका सहसचिव कोइरालाले भने, “कति व्यक्तिहरु गएका थिए त्यसलाई सूचीकृत गर्नैपर्छ र मौसमको पूर्वानुमान गर्नैपर्ने देखिएको छ।”

यस्ता प्राकृतिक विपत्तिका घट्ना पछिल्ला बर्षहरुमा बढ्दै गएकाले सिमित श्रोत साधन सहित उच्च हिमाली क्षेत्रमा उद्धार तथा खोजि कार्य अघि बढाउँदै आएका सुरक्षा निकायहरुलाई श्रोत साधन सम्पन्न बनाइनुपर्नेमा पनि बिज्ञहरुले जोड दिएका छन्।