सेनामा समूहगत प्रवेश असंभव : रक्षामन्त्री

तस्बिर स्रोत, British Broadcasting Corporation
माओवादी र मधेशी दुवैको नेपाली सेनामा समूहगत प्रवेशको मागलाई रक्षा मन्त्री विष्णु पौडेलले अस्वीकार गरेका छन्।
माओवादीले आफना लडाकुको समूहगत प्रवेशको आकांक्षा राख्दै आएको छ भने तराइकेन्द्रित दलहरुले नेपाली सेनामा हजारौंको संख्यामा मधेशीहरुको समूहगत प्रवेशको माग राख्दै आएका छन्।
संविधानसभामा समूहगत रुपमा चौथो शक्तिका रुपमा रहेका तराइ केन्द्रित दलका नेताहरुले पन्ध्र दिन अघि संविधान सभाको म्याद थप्ने बेलामा सेनामा समुहगत प्रवेशको शर्त राखेका थिए।
शर्तकै कारण म्याद थप्नु अघि गरिएको पाँचबुँदे सहमतिमा सेनालाई समावेशी बनाउने बुँदा समेत राखिएको थियो।
असंभव
तर रक्षामन्त्री विष्णु पौडेलले समूहगत प्रवेश असंभव भएको बताए।
उनले भने, “नेपाली सेना कुनै समूह विशेषको होइन।
व्यावसायिक राष्ट्रिय सेनाका रुपमा यसले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। उमेर पुगेका इच्छुक सबै नेपालीले निर्वाध सेनामा प्रवेश पाउनुपर्छ तर यसलाई कुनै समूह विशेषको सेनामा रुपान्तरित गर्ने गल्ती गर्नुहुन्न।”
समायोजित हुने माओवादी लडाकुले पनि नेपाली सेनाको मापदण्डका आधारमा व्यक्तिगत योग्यता पुष्टि गरेर मात्र राष्ट्रिय सुरक्षा निकायमा प्रवेश पाउने रक्षामन्त्रीले बताए।
मर्म
लडाकु समायोजन बारे पछिल्लो मोडालीटीमा सेनाले समायोजित हुने सबै माओवादी लडाकुहरु एकै ठाउँमा राख्ने प्रस्ताव गरेको होइन र? भन्ने प्रश्नको जवाफमा रक्षामन्त्री पौडेलले भने,
“सेनाको चेन अफ कमाण्डमा महानिर्देशनालय अन्तर्गत छुट्टै फोर्स बनाउने सहमति भएपनि समायोजित लडाकुहरु छुट्टै बस्न पाउन्नन्। उनीहरुले मिसिएरै बस्नुपर्छ। समूहगत प्रवेश समायोजनको मर्मसँग मिल्दैन।”
लडाकु समायोजन जारी शान्ति प्रक्रियाको महत्वपूर्ण अंग हो।
शान्ति प्रक्रिया टुंगो लाग्न नसकेकैले संविधान लेखनको काम अघि बढ्न सकिरहेको छैन।
काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, रक्षामन्त्रीको पछिल्लो भनाइले शान्ति प्रक्रियामा तत्काल प्रगति हुने देखिन्न।








