ग्रीनल्यान्ड ट्यारिफको धम्कीबाट पछि हटे ट्रम्प, भने 'भविष्यको सम्झौताको ढाँचा' तयार

नेटोको महासचिव मार्क रुटसँगको बैठकमा सहभागीहुँदै अमेरिकी राष्ट्रपति ट्रम्प। निलो कोट, सेतो सर्ट र कलेजी टाइ लगाएका उनको पृष्ठभूमीमा अमेरिकी झन्डा देख्नसकिन्छ।

तस्बिर स्रोत, Reuters

राष्ट्रपति डोनल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाले ग्रीनल्यान्डबारे सम्भावित सहमति खोज्ने प्रयास गरिरहेको भन्दै उक्त टापुमाथि नियन्त्रण कायम गर्ने अमेरिकी योजनाको विरोध गरिरहेका युरोपेली साझेदार देशहरूलाई 'ट्यारिफ लगाउने' आफ्नो योजनाबाट पछि हटेका छन्।

सामाजिक सञ्जालमा ट्रम्पले आफूले नेटोका नेतासँग 'अत्यन्तै उपलब्धिपूर्ण बैठक' गरेको र त्यसमा ग्रीनल्यान्ड र आर्कटिकबारे सहमतिको 'प्रारूप' तयार भएको बताए। तर उनले त्यसबारे थप जानकारी दिएका छैनन्।

नेटोले पनि उक्त बैठकलाई 'अत्यन्तै उपलब्धिपूर्ण भनेको छ र राष्ट्रपति ट्रम्पले उल्लेख गरेका 'फ्रेमवर्क' ले आर्कटिक सुरक्षा सुनिश्चित गर्नेमा जोड दिने बताएको छ।

त्यसअघि स्वीट्जरल्याण्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै ट्रम्पले आफूले 'बल प्रयोग नगर्ने तर उक्त भूभागको स्वामित्व सुनिश्चित गर्न वार्ता गर्न चाहेको' बताएका थिए।

बुधवार आफ्नै सामाजिक सञ्जालको वेबसाइट 'ट्रुथ सोसिअल'मा एउटा पोस्ट राख्दै ट्रम्पले भनेका छन्, "हामीले ग्रीनल्यान्ड र वास्तवमै सम्पूर्ण आर्कटिक क्षेत्रलाई लिएर भविष्यमा गर्न सकिने सम्झौताको एउटा फ्रेमवर्क निर्धारण गरेका छौँ।"

"यो समाधान, यदि कार्यान्वयनमा लैजान सकियो भने, संयुक्त राज्य अमेरिका र सबै नेटो राज्यहरूका लागि एउटा महान् समाधान हुनेछ।"

प्रस्तावित सहमतिमा के के छ?

हाल डेनमार्कको नियन्त्रणमा रहेको उक्त स्वायत्त क्षेत्रमा अमेरिकी नियन्त्रण रहने भन्ने विषय उक्त प्रस्तावले समेटेको या नसमेटेको खुलाएका छैनन् तर उनले एउटा अमेरिकी केबल नेटवर्कसँग कुरा गर्दै खनिजसँग सम्बन्धित अधिकार सो योजनाले समेट्नसक्ने बताएका छन्।

ट्रुथ सोसिअलमा ट्रम्पले 'छलफलहरू अघि बढेपछि' अन्य जानकारीहरू उपलब्ध गराइने बताएका छन्।

थप वार्ताहरू चल्दा अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र विशेष दूत स्टीभ विटकफले 'सोझै विवरणहरू' उनलाई उपलब्ध गराउने भनिएको छ।

नेटोका महासचिव मार्क रुट र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प डाभोस सम्मेलनमा कुराकानी गर्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नेटोका महासचिव मार्क रुट र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच डाभोस सम्मेलनमा 'साइडलाइन भेट' भएको हो

डेनमार्कका विदेशमन्त्री लार्स लुग राशमुशेनले एउटा विज्ञप्तिमा भनेका छन्, "आजको दिन सुरुवातको भन्दा राम्रो ढङ्गले अन्त्य हुँदैछ।"

उनले वार्ताबाट डेनमार्कका 'सीमा रेखा'लाई सम्मान गर्दै आर्कटिकमा अमेरिकाको सुरक्षा चिन्ताहरू सम्बोधन गर्ने विषयमा वार्तामा बसेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए।

त्यसपछिका घण्टाहरूमा केही प्रारम्भिक विवरणहरू बाहिर आएका छन्।

ट्रम्पले सीएनबीसीसँग कुरा गर्दै सम्भावित सम्झौता 'सधैँको लागि' हुनसक्ने भन्दै त्यसले खनिज अधिकार र हाल योजना गरिएको 'गोल्डेन डोम' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई समेट्नसक्ने बताएका छन्।

'गोल्डेन डोम मिसाईल डिफेन्स सिस्टम'लाई ट्रम्पले लामो दुरीका क्षेप्यास्त्र आक्रमणबाट अमरेकालाई जोगाउन जमिन, जल र अन्तरिक्षमा कवचका रूपमा स्थापना गरिने 'अवरोधक र पहिचान प्रणाली' भन्दै आएका छन्।

ग्रीनल्यान्डको भूराजनीतिक अवस्थितिबाहेक ट्रम्प प्रशासनले त्यहाँ रहेका व्यापक र हालसम्म प्रयोग नगरिएका 'रेअर अर्थ' खनिज तत्वहरूबारे पनि बताउने गरेको पाइन्छ। यस्ता खनिजहरू मोबाइल फोन र विद्युतीय सवारी साधन निर्माणका लागि महत्त्वपूर्ण मानिन्छन्।

डाभोसमा सीएनएनसँग बोल्दै ट्रम्पले सम्झौताको प्रारूपले अमेरिकालाई 'आवश्यक रहेको सबै कुरा' विशेष गरी 'वास्तविक राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षा' उपलब्ध गराउने बताएका थिए।

नेटोले के भनिरहेको छ?

नेटोका महासचिव मार्क रुटले डेनमार्कको सार्वभौमसत्तासँग जोडिएका मूलभूत मुद्दाहरू आफूले ट्रम्पसँगको बैठकमा छलफल नगरेको बताएका छन्।

उनले फक्स समाचार संस्थासँग भने, "आज राति राष्ट्रपति ट्रम्पसँग भएको छलफलमा यी कुराहरू भएनन्।"

विगतमा ट्रम्पले ग्रीनल्यान्डलाई भाडामा लिने अवधारणालाई खारेज गर्ने गरेका थिए। उनको भनाइ थियो, "तपाईँले आफ्नो स्वामित्वको प्रतिरक्षा गर्ने हो। भाडा सम्झौताको प्रतिरक्षा गरिँदैन।"

ग्रीनल्यान्डको सेताम्मे हिउँले ढाकिएका नीलो रातो रङ्गका घरहरू भएको बस्तीको फाइल फोटो।

तस्बिर स्रोत, Reuters

नेटोकी एक जना प्रवक्ताले विज्ञप्तिमार्फत अमेरिका र सो गठबन्धनका लागि आर्कटिक क्षेत्रको सुरक्षाको महत्त्वबारे ट्रम्प र रुटले छलफल गरेको बताएकी छन्। उनले विशेष गरी सात आकर्टिक साझेदार देशहरूसँगको सामूहिक प्रयासबाट उक्त क्षेत्रको सुरक्षा गर्नेबारे छलफल भएको जनाइन्।

"डेनमार्क, ग्रीनल्यान्ड र संयुक्त राज्य अमेरिकाबीच रुस र चीनले आर्थिक र सैन्य रूपमा ग्रीनल्यान्डमा कहिल्यै पनि तिनको आधार स्थापित गर्न नपाउन भन्ने उद्देश्यसहित वार्ताहरू अघि बढ्नेछन्।"

न्यूयोर्क टाइम्सका अनुसार सम्भावित योजना अनुसार अमेरिकाले उक्त टापुका निश्चित क्षेत्रहरूको स्वामित्व प्राप्त गर्नसक्छ जहाँ अमेरिकी सैन्य शिविरहरू स्थापित गरिनेछन्।

बुधवारको नेटो बैठकमा सहभागी अधिकारीहरूले उक्त अखबारलाई जानकारी दिए अनुसार ब्रिटिश ओभरसिज टेरिटोरिजको हिस्सा रहेको साइप्रसस्थित यूकेका शिविर जस्तै ढाँचा त्यहाँ पनि व्यवस्थापन गर्न सकिने सङ्केत गरेका छन्।

अहिलेको सम्झौता अनुसार संयुक्त राज्य अमेरिकाले चाहिए जतिको परिमाणमा ग्रीनल्यान्डमा फौज ल्याउनसक्छ। उक्त भूभागको उत्तर पश्चिम कुनामा अवस्थित पिटुफिक शिविरमा हाल १०० भन्दा बढी अमेरिकी सैनिक स्थायी रूपमा खटिएका छन्।

यसअघि ट्रम्पले वासिङ्टनले डेनमार्कबाट ग्रीनल्यान्ड खरिद गर्ने विषयमा सहमति नजुटेको खण्डमा यूकेबाट अमेरिकामा पठाइने सम्पूर्ण सामानहरूमा थप १० प्रतिशत ट्यारिफ फेब्रुएरी १ बाट लागु गर्ने चेतावनी दिएका थिए। त्यसलाई २५ प्रतिशतले जुलाई १ बाट वृद्धि गर्ने उनको भनाई थियो।

सन् १९४९ मा स्थापित नेटोका अन्य मुलुकहरू डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, द नेदरल्याण्डस् र फिनल्यान्डमा पनि त्यस्तो ट्यारिफ लाग्ने उनको चेतावनी थियो।

नेटो महासचिवसँगको वार्तापछि उनले नयाँ ट्यारिफको निर्णय रद्द गरेको पोस्ट ट्रुथ सोसिअलमा राखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।