बाजुरा भूकम्प: सुदूरपश्चिम नेपालमा लगातारको वर्षाले पीडितको जीवन कष्टकर

बाजुरा

तस्बिर स्रोत, Lokendra Kumar Bista

लगातारको वर्षाका कारण मङ्गलवारको भूकम्पबाट प्रभावित सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका करिब चार दर्जन घरपरिवारका मानिसहरूको दैनिक जीवन कष्टकर बनेको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रकुमार विष्टका अनुसार पालमुनि बसिरहेका उनीहरूलाई विशेषगरी खाना र बस्नको समस्या भएको छ।

उनले भने, "लगातारको वर्षाका कारण राहत वितरण र उद्धारमा समेत केही कठिनाइ भइरहेको छ।"

पाल र छिमेकीको घरमा आश्रय लिएर बसेका पीडितहरू लगातार परिरहेको पानी र चिसोले गर्दा थप समस्यामा परेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

त्यसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली कायम रहेको छ भने अझै केही दिन वर्षाको सम्भावना रहन्छ।

प्रभावित क्षेत्र

मङ्गलवारको भूकम्पबाट सबैभन्दा बढी बाजुरा जिल्लाका गौमुल र हिमाली गाउँपालिका, खप्तड क्षेत्र तथा बडिमालिका नगरपालिकामा धनजनको क्षति भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाजुरामा १३ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने ३५ वटा घरमा आंशिक क्षति भएको छ।

थप विवरणहरू प्राप्त हुने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

बाजुरा जिल्लामा केन्द्रबिन्दु बनाएर गएको उक्त शक्तिशाली भूकम्पको धक्का पश्चिम नेपाल र भारतका विभिन्न स्थानमा महसुस गरिएको थियो।

भूकम्पका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प लोकल म्याग्निट्यूडमा ५.९ मापन गरिएको थियो। यसलाई मध्यम श्रेणीको भूकम्प मानिन्छ।

स्थानीय समयानुसार उक्त भूकम्प मङ्गलवार दिउँसो २:४३ बजे गएको केन्द्रले जनाएको छ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्पको स्रोत जमिनभन्दा २५ किलोमिटर तल भएको जनाएको छ।

बाजुरामा एक महिलाको ढुङ्गा लागेर मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिंहले मङ्गलवार साँझ बीबीसीलाई बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उक्त भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको जानकारी दिल्लीस्थित बीबीसी संवाददाताहरूले दिएका थिए।

रेड लाइन

यस्तो छ क्षतिको विवरण

- प्रकाश पन्त, सुर्खेत

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख अशोक सिंहका अनुसार भूकम्पको असर सबैभन्दा बढी बाजुरा र बझाङ जिल्लामा परेको छ।

प्रहरी नायब महानिरीक्षक सिंहका अनुसार भूकम्पको कारण ढुङ्गा खस्दा घाँस काटेर घर फर्किँदै गरेकी एक महिलाको बाजुराको गौमुल गाउँपालिकामा मृत्यु भएको हो।

थप भूकुम्प जाने आशङ्काले कतिपय मानिसहरू घरबाहिर निस्किएका थिए ।

तस्बिर स्रोत, Lokendra Kumar Bista

तस्बिरको क्याप्शन, घर चर्किएपछि मानिसहरू पालमा बसेका छन्

भूकम्पको कारण गएको पहिरोमा परी गौमुल गाउँपालिका १ मा ४० वटाजति भेडा पुरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायले बताएका छन्।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रकुमार बिष्टका अनुसार उक्त ठाउँमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालित भएका छन्।

भूकम्पबाट घर भत्किएका मानिसलाई सुरक्षित ठाउँमा राखिएको बताइएको छ।

भूकम्पको धक्का सुदूरपश्चिमका साथै कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा पनि महसुस गरिएको थियो ।

थप भूकम्प जाने आशङ्काले कतिपय मानिसहरू घरबाहिर निस्किएका थिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय मानिसहरु फेरि पनि भूकम्प जाने हो कि भन्ने त्रासमा देखिन्छन् ।

रेड लाइन

पश्चिम नेपालमा भूकम्पको जोखिम कति ठूलो?

गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६.६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भएको थियो।

"डोटीको भूकम्पपछि परकम्पहरू पनि गए। अहिले बाजुराको भूकम्प परकम्प नभई छुट्टै भूकम्प हो," राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बीबीसीसँग भनिन्।

"यसले उक्त क्षेत्रमा भूकम्पीय गतिविधि बढेको सङ्केत गर्छ," उनले भनिन्।

पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।

नेपाल भूकम्प

कात्तिक ९ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो।

झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो।

सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।

"अहिले भूकम्पीय गतिविधि दोहोरिँदा हामी विशेष रूपमा सजग हुनुपर्छ," झाले भनिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'काठमाण्डू यसरी पूर्वतिर सर्‍यो, पश्चिममा गएर अडियो'

विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन्।

गोरखा भूकम्पबारे विद्यावारिधि गरेका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ।

"म्याग्निट्यूड ६ बाट म्याग्निट्यूड ८ मा भूकम्प पुग्नका लागि १,००० गुना धेरै शक्ति आवश्यक पर्छ," भूकम्पविद् अधिकारीले यसअघि बीबीसीलाई भनेका थिए।

"त्यसैले यसरी जाने साना भूकम्पका कारण शक्ति निष्कासन हुँदै जोखिम कम भएको सोच्नु हुँदैन।"

पश्चिम नेपालको कुन भागमा कहिले ठूलो भूकम्प जान्छ भन्न नसकिने विज्ञहरू बताउँछन्। तर उनीहरू भूकम्प गएको ठाउँसँगै जोडिएका अरू खण्डमा भूकम्प जाने सम्भावनालाई उनीहरू अस्वीकार गर्दैनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्प २०७२: भुइँचालोले काठमाण्डू उपत्यकामा यसरी हल्लाएको थियो

नेपालमा किन गइरहन्छ भूकम्प?

नेपालमा प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहन्छन्। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ। हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ।

भारत र तिब्बतका बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ। भूगर्भशास्त्रीहरूले यसलाई "भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको" पनि भन्ने गरेका छन्।

पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।

तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन्। तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन्।

केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निट्यूडको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।

उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्पः गोरखा भूकम्पले 'ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन'