नेपाल निर्वाचन २०७९: कम्युनिस्टहरूको मत ४५ प्रतिशत, तर कांग्रेस सबैभन्दा ठूलो दल

तस्बिर स्रोत, KAMAL PARIYAR/BBC
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको अन्तिम सिट सङ्ख्या प्रकाशन गरेको छ।
आयोगले प्रकाशन गरेको निर्वाचन परिणामअनुसार सबैभन्दा धेरै मत कम्युनिस्ट पार्टीहरूले पाएका छन्, तर सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ।
पाँचवटा कम्युनिस्ट पार्टी र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूले ४५ प्रतिशतभन्दा बढी मत पाएका छन्। कांग्रेसले ३२ प्रतिशत बढी मत पाएको छ।
कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पाएको छ।
कम्युनिस्ट शक्तिहरूमध्ये सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ।
नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएर प्रतिनिधिसभामा तेस्रो ठूलो शक्ति बनेको छ।
Nepal election result slider
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ तीन प्रतिशत मत नकटाउँदा समानुपातिकतर्फ सिट पाएन।
समानुपातिकतर्फ तीन प्रतिशतभन्दा कम मत सिट विभाजनमा गणना नहुने व्यवस्था छ। एकीकृत समाजवादीले पाएको २,९८,३९१ मत करिब तीन सिटका लागि पर्याप्त हुनसक्थ्यो।
यसबाहेक राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि प्रत्यक्षमा एक/एक सिट पाएका छन्। पाँचजना स्वतन्त्रमध्ये तीनजना कम्युनिस्ट पृष्ठभूमिका छन्।
यी सबै कम्युनिस्ट दलहरू र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूको मत जोड्दा १२५ हुन्छ। यो सङ्ख्या २७५ सदस्यीय प्रतिनिधिसभाको झन्डै आधा हो।
एमाले खुम्चियो, राप्रपा फस्टायो
अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा सबैभन्दा धेरै क्षति एमालेले बेहोरेको देखिन्छ। विसं २०७४ को निर्वाचनमा १२१ सिट पाएको एमालेले यो पटक ७८ मतमा चित्त बुझाउनुपर्यो।
अघिल्लो पटक एमाले र माओवादीले गठबन्धन गरेर चुनावमा भाग लिँदा अधिकांश स्थानमा जित हासिल गरेका थिए। यसबीचमा एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी समेत बनेको छ।
यसअघि ६३ सिट जितेको कांग्रेसले यो निर्वाचनमा ८९ सिट हासिल गरेको छ।
Nepal Parliament
यो निर्वाचनबाट सातवटा पार्टी प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर राष्ट्रिय दल बनेका छन्।
प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा धेरै र समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै सिट जितेका छन्। दुवैतर्फ तेस्रो माओवादी बने पनि अघिल्लो निर्वाचनको तुलनामा माओवादीले पाएको सिट सङ्ख्या घटेको छ।
अघिल्लो निर्वाचनमा ५३ सिट पाएको माओवादी यो निर्वाचनमा ३२ सिटमा खुम्चिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो शक्ति
नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी यो निर्वाचनमा चौथो ठूलो शक्ति भएको छ। पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले २० सिट पाएको छ।
अघिल्लो संसद्मा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनबाट १४ सिटसहित पाँचौँ ठूलो दल बनेको छ।
Election Result Table[HOR]
प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।
उपेन्द्र यादव नेतृत्वको यो दल अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता र पुन: विभाजनपछि बनेको दल हो।
यी दुईवटा दलहरू अघिल्लो निर्वाचनमा चौथो र पाँचौँ ठूलो शक्ति थिए। जसपा विभाजनबाट बनेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट पाए पनि समानुपातिकतर्फ राष्ट्रिय दल बन्न सकेन।








