नेपाल निर्वाचन: गठबन्धनभित्र राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन दलमा भाग लगाउनुपर्ने माग

तस्बिर स्रोत, RSS
सीके राउत नेतृत्वको जनमत पार्टीको समर्थन पाउँदा नयाँ सरकार गठनका लागि सत्ताधारी गठबन्धनलाई बहुमत पुग्ने देखिएको भन्दै सत्ताधारी दलका नेताहरूले अब प्रमुख पदहरूको बाँडफाँटमा छलफल हुने बताएका छन्।
नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित गर्न गठबन्धनका नेताहरूले संसद्मा उदाएका केही नयाँ पार्टीका नेताहरूसँग छलफल गरेका छन्।
गठबन्धन गरेर चुनावमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मात्रै बहुमत नपुग्ने देखिएपछि केही नयाँ दलहरूलाई गठबन्धनमा सहभागी गराउने कसरत सुरु भएको छ।
तर अहिलेकै सत्ता गठबन्धनले आगामी सरकार बनाउने अवस्थामा आगामी केही महिनाभित्र टुङ्ग्याइ सक्नुपर्ने प्रमुख पदहरू गठबन्धनका प्रमुख तीन घटकमा बाँडफाँट गर्नुपर्ने माग नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले राखेका छन्।
बीबीसी नेपाली सेवामा आज प्रकाशित अन्य समाचार
Nepal Election Map
संसद्मा सामान्य बहुमत पुर्याउने शक्तिले सरकारको नेतृत्व सहित र सभामुख तथा उपसभामुखमा पनि आफ्ना उम्मेदवार निर्वाचित गर्न सक्छ। गठबन्धनले प्रदेशसभामा पनि बलियो उपस्थिति बनाएका कारण राष्ट्रपति पद पनि पाउन सहज देखिएको छ।
यद्यपि निर्वाचनपछि गठबन्धनको बैठक नराखिएका कारण यो विषयले छलफलमा औपचारिक प्रवेश नपाएको ती नेताहरूले बताए।
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको भागबन्डा
निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम बुझाए लगत्तै राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउने ठानिएको छ।
निर्वाचन परिणाम आएको ३० दिनभित्रै संसद्को बैठक पनि बोलाउनुपर्ने व्यवस्था छ। पहिलो संसद् बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने नियम छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल पनि आगामी फागुनभित्र सकिँदै छ।
गठबन्धनमा नेपाली कांग्रेससँग सहकार्य गरिरहेका प्रमुख दुई शक्ति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले नयाँ सरकार बन्नुअघि तीन वटै पदबारे एकसाथ सहमति हुनुपर्ने माग राखेका छन्।

तस्बिर स्रोत, RSS
गठबन्धनको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रमुख तीन पदहरू तीन वटा मुख्य दलहरूमा बाँडफाँट हुनुपर्ने बताए।
"प्रमुख तीन वटा पद जो छन् ती मुख्य तीन पार्टीमा हुने गरि टुङ्ग्याउनुपर्छ भन्ने नै हाम्रो हो," पौडेलले भने।
"अहिलेसम्म यस विषयमा गठबन्धनमा छलफल भइसकेको छैन। सबै सहमतिमै टुङ्गो लाग्छ। उपराष्ट्रपति, उपसभामुख अरू पनि ठाउँ छन्।"
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा आफ्नो दलले पनि प्रमुख तीन दलबीच एक-एक वटा प्रमुख पद भाग लाग्ने अपेक्षा गरेको बताए।
"अहिलेसम्म कुन दलले के राख्ने भन्ने भइसकेको छैन। आन्तरिक संवाद तीव्र भएका छन् तर निष्कर्ष निकाल्ने गरी भएका छैनन्। चुनावको परिणाम पनि सबै आउन बाँकी नै छ," खतिवडाले भने।
उनका अनुसार निर्वाचन परिणामपछि गठबन्धनका शीर्ष नेताहरूबीच व्यक्तिगत तहका अनौपचारिक छलफलमा मात्रै भएका छन्।
एकीकृत समाजवादीले राष्ट्रपति पद लिनका लागि पहल गर्ने उनको दाबी छ।
"प्रधानमन्त्री हामीले हेरेका छैनौँ। राष्ट्रपति की सभामुख हाम्रोमा रहन्छ भन्ने हो। पाएसम्म राष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो दलको कुरा रहन्छ," खतिवडाले भने।
'सहमति गर्छौँ': कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकार बन्ने निश्चित देखिएको भन्दै प्रमुख पदहरू सहमतिबाट टुङ्गो लगाइने बताए।
"गठबन्धनको नेतृत्व गरेका हिसाबले पनि सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको नेतृत्व गर्छ। बाँकी पदहरूमा कसको दाबी भन्दा पनि छलफलबाट टुङ्गो लगाइन्छ," महतले भने।
Proportional voting result Nepal
"अहिले कतिपय नेताहरू जिल्लाबाटै फर्किनुभएको छैन। उहाँहरू आएपछि औपचारिक बैठक पनि बस्ला। शीर्ष तहमा बैठक बसेरै सरकार, राष्ट्रपति, सभामुख कसरी टुङ्ग्याउने छलफल होला।"
सरकारको गठनका लागि बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्षमा एक सिट र समानुपातिक तर्फ चार सिट जितेको जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेट गरेका छन्।
बहुमत पुर्याउने कसरत
तीन सिट रहेको नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन जुटाउन माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका माधवकुमार नेपालले उक्त दलका नेता रेशम चौधरीलाई जेलमै पुगेर भेट गरे।
चौधरीका बुबा पनि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका कारण यो दल समर्थित चार जना सांसद छन्।
Election Result Table[HOR]
निर्वाचन परिणाम अन्तिमतिर पुग्दै गर्दा गठबन्धनका पाँच दलको मात्रै बहुमत पुग्न कठिन हुने देखिएपछि थप दलको समर्थन जुटाउन केही नेताहरूले गृहकार्य सुरु गरिसकेका छन्।
गठबन्धनका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका प्रभु साह, उनी निकट अर्का स्वतन्त्र सांसद किरणकुमार साह र बागी उम्मेदवारी दिएर निर्वाचित भएका कांग्रेसका नेता अमरेशकुमार सिंहले समेत सरकार बनाउन समर्थन गर्ने दाबी गरेका छन्।
तर कांग्रेस प्रवक्ता महतले कुन कुन दलसँग छलफल चलिरहेको छ भन्नेबारे खुलाएनन्।
"कुराकानी सबैसँग भएको छ। गठबन्धन भन्दा थप दलहरूको समर्थनलाई स्वागत नै गर्छौँ," उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि गठबन्धनका पक्षमा खुला रहेको बताए पनि उक्त दलसँग हालसम्म छलफल नभएको महतले जानकारी दिए।








