नेपाल निर्वाचन: माधवकुमार नेपाल गठबन्धनमा दृढ, सरकारमा राप्रपा र स्वतन्त्र पार्टीको सहभागिताबारे के भन्छन्?

तस्बिर स्रोत, Getty Images
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धनकै सरकार बन्ने सम्भावना बलियो रहेको बताएका छन्।
बीबीसी न्यूज नेपालीका शरद केसीसँग कुराकानी गर्दै उनले "गठबन्धनभित्र सरकार गठनबारे कुराकानी सुरु भएको" बताए।
यद्यपि उनले अहिलेको अवस्थामा सरकार गठन "नेपाली कांग्रेससहितको वा नेकपा एमालेसहितको" दुई वटा विकल्पमा मात्र सम्भव रहेको बताए।
नेपालका भनाइमा चुनावमा समेत तालमेल गरेको कांग्रेस, नेकपा (माओवादी केन्द्र) र उनको दलसहितको सत्ताधारी गठबन्धनले नै सरकार बनाउने अवस्था रहेको छ।
नेकपा एमालेका पक्षबाट सरकार गठनका लागि प्रस्ताव समेत नआएको नेता नेपालले बताए।
सरकारको नेतृत्व कसले गर्छ?
गठबन्धन दलका नेताहरूले सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार गठनबारे छलफल गरेको विवरण आएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको उक्त बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल समेत सहभागी थिए।
जहाँ सरकार गठनबारे प्रधानमन्त्री देउवाको धारणा के रह्यो भनेर बीबीसीले सोधेको प्रश्नमा उनले "सँगै जानुपर्छ" भनेको नेता नेपालले बताए।

तस्बिर स्रोत, Composite Photo / RSS
देउवा, प्रचण्ड वा तपाईँ प्रधानमन्त्री को बन्ने हो? भन्ने प्रश्नमा नेपालले भने, "अब हेरौँ न। पात्रका रूपमा तपाईँ भनेका यिनै हुन्।"
यद्यपि उनले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा आफूहरूबीच छलफल नै नभएको बताए।
Election Result Table[HOR]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा "प्रधानमन्त्रीको हकदार तपाईँ नै हो भन्नुभएछ त" भन्ने प्रश्नमा पनि उनले त्यसलाई अस्वीकार गरेनन्।
नेपालले भने, "जसलाई चाहना हुन्छ ती चाहना भएकालाई तपाईँलाई हक छैन है, तपाईँ लाग्न पाउनुहुन्न भनेर पठाउने हो? स्वाभाविक हो प्रत्येकका कमी/कमजोरी छन्/छैनन् त्यो पार्टी विशेषले आफ्नो मान्छेलाई अगाडि सार्नुपर्यो।"
उनले सरकार चलाउन पार्टीहरूले आलोपालो गर्नेबारे छलफल नभएको दाबी गरे।
नेपालका भनाइमा "अप्ठ्यारो अवस्थामा पनि साथ रहेकाले गठबन्धन दलहरू सरकारमा पनि साथै" रहनेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग गठबन्धन होला?
गठबन्धनमा सहभागी दलहरूको बहुमत नपुगेमा राप्रपा र स्वतन्त्र पार्टीसँग गठबन्धनको सम्भावनाबारे सोधिएको प्रश्नमा नेपालले स्पष्ट बताउन चाहेनन्।
"अहिलेसम्म छलफल भएको छैन। कुराकानीहरू भएको छैन। अब हेर्दै जाऊँ। किनभने अहिले मैले कसैको बारेमा नकारात्मक बोल्न मिल्दैन।"
अहिले नबोल्ने आवश्यकता पर्यो भने बोलाइहाल्ने नत्र भने गाली गर्ने त भनेर सोधिँदा उनले भने, "गर्नुपर्छ नि! आवश्यकताको सिद्धान्तले के-के गर्छ के-के?"
"… आदर्शले मात्र पनि चल्दैन, आदर्शलाई त्यागेर मात्र पनि चल्दैन।"
Nepal Election Map
चुनावमा केपी ओलीसँग तालमेल गरेकाले 'पश्चगामी' भनेर आरोपित गरेको राप्रपासँग पनि गठबन्धन हुनसक्छ? भन्ने प्रश्नमा उनको जवाफ थियो, "अहिलेसम्म त्यहाँ प्रवेश गरिहाल्नु परेको छैन। भर्खर भर्खर नयाँ समीकरणको ढोका खुल्दै छ। अब हेरौँ नयाँ समीकरणले कहाँ पुर्याउँछ।"
चुनावमा नेकपा समाजवादीको अवस्था
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नेपालको दल चौथो स्थानमा रहेको छ।
उसले प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरेको छ।
Proportional voting result Nepal
समानुपातिकतर्फ भने उक्त दल अहिलेसम्म आठौँ स्थानमा रहेको छ र राष्ट्रिय दल बन्न कटाउनुपर्ने तीन प्रतिशत मत प्राप्त गरिसकेको देखिँदैन।
यद्यपि समानुपातिकको मतगणनाको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने आयोगले जनाएको छ।








