तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप २०२२: कतार विश्वकपबारे फुटबल समर्थकहरू के भन्छन्
विश्वकप इतिहासको सबैभन्दा अभूतपूर्व नकआउट चरणपछि फुटबल समर्थकहरूले कतारको खेल मैदान र यातायातको प्रशंसा गरेका छन्। तर समर्थकहरूलाई राखिएको ठाउँबारे उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
"वातावरण साँच्चिकै असाधारण थियो," वेल्सबाट आएका लइनले भने।
उनी सन् २००६ को विश्वकप हेर्न जर्मनीसमेत गएका थिए।
"अर्जेन्टिना र मेक्सिकोबीचको खेल मैले हालसम्म हेरेका खेलहरूमध्ये सबैभन्दा उत्कृष्ट थियो," उनले सुनाए।
रङ्गशालाहरू नजिकै भएको फाइदा उठाएर सकेसम्म बढी खेलहरू हेर्ने धेरै समर्थकहरूमध्ये उनी पनि एक हुन्। उनले १० दिनमा आठ वटा खेलहरू हेरिसकेका छन्।
"यति ठूलो खेल प्रतियोगिता र करिब ८,८०,००० फ्यानहरू आउँदा पनि यहाँ मेट्रोले राम्रो काम गरिरहेको छ," लइनले थपे।
"धेरै हिँडडुल गरे पनि यहाँ भिडमा राम्रो वातावरण पाएँ।"
ब्रजिलका समर्थक फिलिपी पनि कतारको यातायात सुविधा राम्रो भएकोमा सहमत छन्।
तर परम्परावादी मुस्लिम देश भएका कारण छोटो कपडा लगाएर हिँड्दा उनकी श्रीमतीले "तनाव" महसुस गरेको उनले बताए।
मदिरा सहजै उपलब्ध हुने भनिए पनि उनको बुझाइमा यसको उपलब्धता यसअघि ब्रजिल र रुसमा भएका विश्वकपहरू भन्दा फरक थिएन।
समर्थकहरूलाई अनेक झन्झट
रङ्गशाला र यातायात गज्जब लागे पनि कतिपय समर्थकहरूलाई खेल नहुँदाको समयमा मनोरञ्जन गर्ने सुविधाको अभाव महसुस भएको छ।
"यो शानदार आयोजना हो," कतारमा बस्ने अर्जेन्टिनी समर्थक भन्छन्
"तर समर्थकहरू बस्ने ठाउँहरूको व्यवस्थापन एकदमै खराब छ र मलाई खास के भए रहेको छ भन्नेसम्म महसुस हुँदैन।"
उनीजस्तै सयौँ समर्थकहरूले टिकट किन्नका लागि फिफाको वेबसाइटका कारण हरेक रातजस्तो झन्झट झेलिरहेका छन्।
"यो कहालीलाग्दो नै छ," एक जना जर्मनीका समर्थकले भने।
समर्थकहरूलाई बसोबासका लागि तोकिएको दोहाको हाया फ्यान जोनमा रोकिएका कारण उनले त्यस साँझको खेल हेर्न पाएनन्।
समर्थकहरूलाई राखिएका आधिकारिक स्थानहरूबारे प्रतियोगिताका दौरान धेरै समाचारहरू आइरहेका छन्।
यसमध्ये कतिपय विश्वकपका लागि मात्रै तोकिएका क्षेत्रहरू छन् र त्यहाँ बियरहरू पनि उपलब्ध हुन्छ। रङ्गशालामा भने विशिष्ट व्यक्तिहरूका लागि तोकिएको क्षेत्र बाहेकमा मदिरा निषेध गरिएको छ।
आफ्नो नाम नबताउने एक जना समर्थकले लुसैल रङ्गशालामा खेल हेरिसकेपछि ७ किलोमिटरसम्म हिँडिसक्दा पनि आफूलाई मदिरा पाइने क्षेत्रमा प्रवेश नदिइएको बताए।
क्यानडाबाट आएका अर्का एक समर्थक अमरले दोहाबाट दक्षिणमा पर्ने वाक्रा सहरबाट ३० किलोमिटरको यात्रा गरिसक्दा समेत टिकट नपाएको बताए।
"मलाई बिक्री भइसकेको थाहा भएन। यदि थाहा भएको भए म यति टाढासम्म आउने नै थिइनँ," उनले भने।
निराश समर्थकहरू
समर्थकहरू रहने ठाउँका लागि "प्रवेश शुल्क र टिकट" चाहिने विवरण आधिकारिक वेबसाइटमा उल्लेख भए पनि यसमा उक्त ठाउँको लागि टिकट बिक्री गर्ने वास्तविक वेबसाइट हुन हो भन्नेबारे खुलाइएको छैन।
उक्त वेबसाइटमा फ्यान जोनमा "मौलिक खाना र पेय पदार्थहरूको विकल्प" उपलब्ध हुने भनिएको छ। कतिपय समर्थकहरूले यस्तो पेय पदार्थमा मदिरा पनि पर्ने ठानेका छन्।
तर कतार विश्वकपको आधिकारिक वेबसाइटले समर्थकहरू रहने कुन क्षेत्रमा मदिरा बिक्री हुन्छ र कुन क्षेत्रमा हुँदैन भन्ने खुलाएको छैन।
समर्थकहरूले वेबसाइटमार्फत वास्तविक सूचना पाउन समस्या बेहोरिरहेको बताएपछि बीबीसीले आयोजक कतार २०२२ लाई टिकटको व्यवस्था थप स्पष्ट हुन्छ? भनेर सोधेको थियो।
बीबीसीले फ्यान जोनहरूको टिकट बिक्री भइसकेको बारे समर्थकहरूलाई पूर्व जानकारी दिइने योजना र मदिरा पाइने ठाउँहरूको जानकारी उपलब्ध हुनेबारे पनि जिज्ञासा राखेको थियो।
जवाफमा प्रतियोगिताको सञ्चार माध्यम हेर्ने समितिले आन्तरिक प्रस्तुतिका लागि तयार गरिएको एउटा विवरण पठायो तर त्यसमा पनि टिकटको लागि आवश्यक मापदण्ड र बियर पाइने ठाउँबारे जानकारी उल्लेख छैन।
यसबारे प्रतिक्रियाका लागि गरिएको आग्रहमा फिफाले कुनै प्रतिक्रिया दिएन।