गृहमन्त्री बालकृष्ण खाँड राप्रपाका दीपक बोहरासँग पराजित

तस्बिर स्रोत, RSS
गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।
गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्।
बोहराले ३६,७१७ मत पाएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
सुरुवाती मतगणनाबाटै झिनो मतअन्तरले प्रतिस्पर्धा गरिरहेका खाँड २६८१ मतले पछि परे। उनले ३४,०३६ मत पाए।
पूर्वमन्त्री समेत रहेका बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन एमालेका उपमहासचिव घनश्याम भुसालसँग पराजित भएका थिए।
अघिल्लो निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका खाँड यो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए।
Proportional voting result Nepal
विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका खाँड २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रको रूपमा चिनिएका खाँड यसअघि रक्षा र सिंचाइमन्त्री तथा शिक्षा तथा खेलकुद राज्यमन्त्री भइसकेका छन्।
बोहरा पनि पञ्चायतकाल देखि प्रजातन्त्रकालसम्म पटक पटक मन्त्री र सांसद भइसकेका छन्।
Nepal Election Map
रुपन्देही ३ मा १,३२,७९६ मतदाता छन्।
पाँच मन्त्री एक राज्यमन्त्री पराजित
निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार यसअघि अरू चारजना मन्त्रीहरू पराजित भइसकेका छन्।
यो निर्वाचनमा ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसाल, युवातथा खेलकुदमन्त्री महेश्वररात गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन्।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना जारी छ।
देउवाको मन्त्रिपरिषद्का १६ मन्त्रीमध्ये छ जना निर्वाचित भइसकेका छन्।
यो निर्वाचनमा कांग्रेसबाट पूर्व महामन्त्री एवं गृहमन्त्री कृष्ण सिटौला र पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला पनि पराजित भएका छन्।नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजित भएका छन्।माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि चुनावमा पराजित भएका थिए।








