नेपाल निर्वाचन मतगणना: समानुपातिकतर्फ एमाले र कांग्रेसको १० लाख मत कट्यो

समानुपातिक

तस्बिर स्रोत, RSS

पछिल्लो मतगणना परिणामअनुसार समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाखभन्दा बढी मत सङ्ख्या पुर्याएका छन्।

निर्वाचन आयोगले पछिल्लो पटक अद्यावधिक गरेको परिणाम अनुसार दुवै दलले १० लाख मत कटाएका हुन्।

प्रत्यक्षतर्फ अगाडी रहेको नेपाली कांग्रेस समानुपातिक मतमा एमालेभन्दा केही पछि परेको छ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो बढी मत ल्याएको छ। यो पार्टीले पनि पाँच लाख बढी मत पाएको छ।

Proportional voting result Nepal

यसअघिको संसद्‌मा तेस्रो ठूलो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्र समानुपातिक मतगणनाको हालसम्मको विवरणमा स्वतन्त्र पार्टीभन्दा पछि छ। माओवादीले पनि पाँच लाख बढी मत पाएको छ।

तर प्रत्यक्षतर्फ माओवादी केन्द्रले तेस्रो स्थान कायमै राखेको छ।

प्रत्यक्षतर्फको हालसम्मको आधिकारिक रूपमा सार्वजनिक गरिएको नतिजामा पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख नजिक मत पाएको छ।

समानुपातिकतर्फ जनता समाजवादी पार्टीले पनि एक लाख बढी मत कटाएको छ।

तर प्रत्यक्षतर्फ चौथो धेरै सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ हालसम्म एक लाख पनि मत पुर्‍याएको छैन।

Election Result Table[HOR]

*माथिको तथ्याङ्क निर्वाचन आयोगले आधिकारिक रूपमा अद्यावधिक गरेको विवरणमा आधारित छ

समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाउने दलले मात्रै संस‌द्‌मा स्थान पाउँछन्।

निर्वाचन आयोगका अनुसार १ करोड ९ लाख आसपास मतदाताले भाग लिएका छन्। विभिन्न विश्लेषणहरूले समानुपातिकमा तीन प्रतिशतको सीमा कटाउन दलहरूले तीन लाख २० हजार आसपास मत पुर्‍याउनुपर्छ।

काठमाण्डू, चितवनमा स्वतन्त्र पार्टी अगाडी

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डू जिल्लाबाट मात्रै एक लाख बढी समानुपातिक मत पाएको छ।

रवि लामिछाने

तस्बिर स्रोत, RSS

काठमाण्डूको जारी समानुपातिक मत गणनामा यो पार्टी सबैभन्दा धेरै मत पाउने दल हो। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ पनि काठमाण्डू जिल्लाका १० मध्ये चार वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।

काठमाण्डूमा समानुपातिकतर्फ दोस्रो धेरै मत कांग्रेसले ल्याएको छ भने एमाले तेस्रोमा छ। काठमाण्डूमा चौथो धेरै मत राप्रपाले पाएको छ।

Kathmandu map

*माथिको नक्सा निर्वाचन आयोगले आधिकारिक रूपमा अद्यावधिक गरेको विवरणमा आधारित छ

उपत्यकाकै ललितपुरमा स्वतन्त्र पार्टीले समानुपातिकतर्फ तेस्रो धेरै मत पाएको छ भने भक्तपुरमा चौथो धेरै बढी मत पाएको छ।

चितवन जिल्लाको जारी समानुपातिक मत गणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत पाएको छ। यहाँ एमालेले दोस्रो बढी र कांग्रेसले तेस्रो धेरै मत पाएको छ।

चितवनमा प्रत्यक्षतर्फ पनि तीन निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले २ वटामा जित हासिल गरेको छ।

स्वतन्त्र पार्टीले कास्कीमा पनि कांग्रेसभन्दा बढी समानुपातिक मत पाएको छ।

कास्कीमा एमालेले सबैभन्दा बढी मत पाएको छ भने स्वतन्त्र पार्टीले दोस्रो धेरै मत पाएको छ। कांग्रेस तेस्रो स्थानमा छ।

Nepal Election Map

*माथिको नक्सा निर्वाचन आयोगले आधिकारिक रूपमा अद्यावधिक गरेको विवरणमा आधारित छ