नेपाल निर्वाचनः काठमाण्डु र ललितपुरबाट सङ्घीय संसद्‌मा पुगेका दुई नयाँ युवा अनुहार

भिडिओ क्याप्शन सुरु हुँदैछ, “अहिले म नेता होइन। यदि पाँच वर्षमा मैले राम्रो काम गरेँ भने बल्ल म नेता हुने हो।”

काठमाण्डू उपत्यकाका दुई महिला यसपटकको प्रतिनिधि सभा चुनावबाट धेरैको ठम्याइभन्दा फरक रूपमा उदाएका छन्।

काठमाण्डूको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी बनेकी २७ वर्षीया सोबिता गौतम सम्भवतः निर्वाचितमध्ये कम उमेरकी सांसद निर्वाचित हुन्।

केही अघिसम्म पत्रकारिता र वकालत गर्दै गरेकी अधिवक्ता गौतम स्थापित दलहरूलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी बनेकी छन्।

माओवादीको सशस्त्र द्वन्द्वमा लागेरपछि मूलधारको राजनीतिमा आएकी ओनसरी घर्ती पछि सभामुखसम्म बनिन्। उनै ओनसरीलाई गौतमले हराइन्।

त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ की तोसिमा कार्की अर्की युवा नेता हुन् जो चिकित्सा पेशा छोडेर राजनीतिमा आइन्।

लाभको पदमा रहेको कुरा उठाउँदै उम्मेदवारी नै निर्वाचन आयोगले खारेज गरिदिएपछि उनी आफू लाभको पदमा नरहेको भन्दै न्यायको मागसहित सर्वोच्च अदालत गइन्।

आयोगको निर्णयको विपक्षमा विश्लेषकहरूले समेत मत राखे। केही समयअघिसम्म गुमनाम जस्तो रहेको अनुहार बिस्तारै परिचित बन्दै गयो।

सोबिता गौतम/तोसिमा कार्की

तस्बिर स्रोत, Facebook

अदालतले पनि तोसिमाको उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई आदेश दियो। त्यसले आम मतदातामाझ आफ्नो अनुहार उम्मेदवारका रूपमा चिनाउन उनलाई थप बल पुग्यो।

“म यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु, मलाई मतदातामाझ चिनाइदिन उहाँहरूको भूमिका रह्यो,” तोसिमाले विभिन्न अन्तर्वार्तामा भनेकी छन्।

यसरी विवाद र अन्योलमाझ चुनावी प्रचारप्रसारमा हिँडेकी तोसिमाले अन्तत: स्थापित दलहरूका वर्षौँदेखि राजनीतिमा सक्रिय रहेका अनुहारलाई फराकिलो मतान्तरले पछाडि पारिन् र विजयी बनिन्।

उनीसँग प्रतिस्पर्धामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल समेत थिइन् जो पटकपटक मन्त्री बनेकी थिइन्।

राजनीतिको पृष्ठभूमि नभएका, तुलनात्मक रूपमा कम उमेरका यी दुई महिलाले स्थापित दलका परिचित र एउटा ओहोदामा पुगिसकेका नेतालाई पराजित गरेर सङ्घीय संसद्सम्मको बाटो पहिलो प्रयासमै सुरक्षित बनाउँछन् भन्ने सायदै कसैले अनुमान गरेका थिए।

करिब पाँच महिनामात्रै अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसपटकको चुनावमा उनीहरू उठे। राजनीतिमा नयाँ त्यसमाथि महिलालाई आउन त्यति सहज मानिदैन। पुराना पार्टीमा पनि प्रत्यक्षतर्फ चुनाव लड्न महिलाले टिकट पाउन मुस्किल हुने गरेको निर्वाचन आयोगकै विवरणले देखाउँछ।

सोबिताको भनाइमा उनको पार्टीले महिलालाई उम्मेदवार बनाउन चाहेर पनि महिलाहरू आफ्नो पेशाको सहजता त्यागेर आउन आँट गरेनन्।

“हामीले उम्मेदवार बनाउन खोजेको पनि हो तर विभिन्न कारणले राजनीतिमा आउन उहाँहरूलाई गाह्रो हुँदोरहेछ,” उनले भनिन्।

सोबिता र तोसिमालाई पनि पहिला परिवारलाई आश्वस्त पार्न केही कठिनाइ भयो। तर उनीहरूले त्यही कठिन बाटो तय गरे।

“मत माग्न हिँड्दा सानी नानी रहेछौ भन्नुहुन्थ्यो। तर आफ्ना मुद्दाबारे सुनाएपछि ए मान्छेमात्रै सानो कुरा त बुझेको रहेछ भन्नुहुन्थ्यो,” गौतमले बीबीसीसँगको कुराकानीमा भनिन्।

उनी अहिले चुनावमा उत्रिएको काठमाण्डूको त्यही क्षेत्रबाट अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जित्दा धेरैले मदन भण्डारीको श्रीमती भएर पाएको ‘सेन्टिमेन्टल भोट’ अर्थात् भावनात्मक भोट भनेका थिए। कतिपय भन्छन् अहिले पनि महिला उम्मेदवारलाई पहिला पार्टीले नै पत्याइहाल्दैन।

तर सोबिता र तोसिमाले चुनाव जितेर त्यो मान्यतालाई गलत साबित गरिदिएका छन्।

एउटै पार्टीले पक्कड क्षेत्र भनेर दाबी गर्न नसक्ने क्षेत्र नम्बर दुईबाट उठ्दा सोबिता गौतमलाई काँठ क्षेत्र अनौठो लागेको थियो।

आफ्नो क्षेत्रमा पर्ने सहरी भेगबारे जानकार भए पनि नाङ्ग्लेभारेसम्म पुग्दा उनलाई आफ्नो क्षेत्रमा त्यति विकट ठाउँ पनि छ भन्ने थाहा थिएन।

तर निर्वाचन आयोगले दिएको १३ दिनको घरदैलो गरिन् र विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताबाट उनी मतदातामाझ युवा उम्मेदवारका रूपमा प्रस्तुत भइन्।

घरदैलोमा सक्रिय देखिए पनि सबै मतदातासम्म पुग्न सक्ने कुरा भएन। केही टेलिभिजन अन्तर्वार्ता वा सामाजिक सञ्जालमा घरदैलो कार्यक्रम गरेका तस्बिर हेरेका भरमा उनलाई आफ्नो क्षेत्रका मतदाताले चिनेका थिए।

घरदैलो कार्यक्रममा प्रायः तोसिमा र सोबिताको उस्तै अनुभव छ।

तोसिमा कार्की

तस्बिर स्रोत, Toshima Karki

राजनीतिक पृष्ठभूमि नभएको देखिए पनि गौतम र कार्की दुवै समाजका मुद्दामा केही अगाडि देखिनै आफूहरू भिजेको बताउँछन्।

पेशाले डाक्टर रहेकी तोसिमा पहिलो पटक सञ्चारमाध्यममा बीबीसी मिडिया एक्शनको साझासवाल नामक कार्यक्रममा देखिएकी थिइन्।

उनले त्यतिबेला अहिले पनि प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रमा उठाउँदै आएका मुद्दाबारे प्रश्न गरेकी थिइन्।

त्यसयता गोविन्द केसी अनशन बस्दा उनका मुद्दाबारे उनी सक्रिय रूपमा धारणा राख्दै आएकी छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हमलाबारे उनीहरूको सुरक्षालाई लिएर ‘मेडिकल भातृत्व बचाउ कार्यक्रम’मा पनि जोडिएकी छिन्।

डाक्टर गोविन्द केसीसँग डाक्टर तोसिमा कार्की

तस्बिर स्रोत, Toshima Karki

उम्मेदवारी दिनुअघि उनी पाटन अस्पतालमा शल्यचिकित्सकका रूपमा कार्यरत थिइन्। ललितपुरको आदिनाथ गाउँमा जन्मिएकी उनी विभिन्न सामाजिक काममा पनि सक्रिय रहँदै आएकी छिन्। हिउँदमा तराईमा अभावमा रहेकालाई कपडा बाँड्न होस् वा कोभिडका बेला निरन्तर खटिएर होस् उनी सामाजिक कार्यमा जोडिँदै आएकी छन्।

कार्की र गौतम दुवै सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हुन्। वकिल र डाक्टर जस्तो समाजले सम्मानित मान्ने पेसा भए पनि उनीहरू त्यसलाई त्यागेर राजनीतिमा छिरे।

देश बनाउनुपर्ने ठानेर आएका उनीहरू अन्तर्वार्तामा सभ्य भाषामा तर्क राख्छन्। आलोचना गर्नेलाई धन्यवाद दिएको देखिन्छ।

सबै कुरा आफूले जानेको दाबी पनि गर्दैनन्। अहिलेको जोश र आफ्नो इमानदारी देखाउँदै आवश्यकता अनुसार विज्ञहरूसँगको सल्लाह लिएर सदनमा आवश्यक नीतिगत कुरा उठाउने दाबी गर्छन्।

उनीहरू जुन पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उठे त्यो स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टी हो। उक्त पार्टीको उदयलाई अहिले कतिपयले यो चुनावको रोचक पक्ष मानेका छन्।

गत असार पहिलो सातामात्रै गठन भएको पार्टीले अहिलेसम्म काठमाण्डूका चार र चितवनका दुई अनि ललितपुरको एकसहित सात स्थानमा प्रत्यक्षतर्फ जित हासिल गरिसकेको छ। समानुपातिकतर्फ करिब साढे तीन लाख मतसहित तेस्रो स्थानमा रहेको छ।

उक्त पार्टी अब राष्ट्रिय दल बनेपछि सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ भन्ने धेरैको चासो छ। त्यसबारे प्रश्न गर्दा गौतम भन्छिन्, “त्यो एकजना सोबिताले भनेर हुँदैन। हाम्रो पार्टीले निर्णय गर्ने कुरा हो।”

तोसिमा र गौतम दुवैलाई आफ्नो हुँदाखाँदाको वकालत र डाक्टरको पेशा त्यागेर अनिश्चित भविष्यतर्फ वा राजनीतिको ‘दुर्गन्धित खेल’मा लाग्न हुँदैन भन्नेहरू धेरै थिए।

अहिले उनीहरूको जितले धेरै युवा र महिलालाई आशावादी बनाएको भन्ने उनीहरूलाई लाग्छ।

“हामीभन्दा अघिका युवालाई जस्तो अब हामीलाई गल्ती गर्ने छुट छैन। हामीले त राम्रो गर्नैपर्छ,” गौतमले भनिन्।

“मलाई अहिले नेता नभन्नूस्। म सांसदका रूपमा जाँच दिन लाग्दैछु। पाँच वर्षपछि मेरो काम हेरेर नेता भन्नूस्। मबाट तपाईँहरूले निराश हुने अपेक्षा नगर्नूस्।”