ब्रजिल निर्वाचन: लुलाले जिते पनि पराजित राष्ट्रपति बोल्सोनारुले अझै हार स्विकारेनन्

तस्बिर स्रोत, Reuters
ब्रजिलका निर्वाचन प्रमुखले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले अझै हार स्विकारेका छैनन्।
वामपन्थी धारका चर्का प्रतिस्पर्धीसँग झिनो अन्तरले चुनाव हारेपछि उग्र दक्षिणपन्थी राष्ट्रपति राजधानी ब्रसिलियास्थित आफ्नो सरकारी निवासमा 'सुत्न गएको' बताइएको छ।
बोल्सोनारुको मौनताले उनले चुनावी नतिजा नस्विकार्न सक्ने चिन्ता बढाएको छ।
विगतमा उनले मतदान प्रणालीबारे अपुष्ट सन्देहहरू व्यक्त गरेका थिए।
प्रतीक्षा
विगतमा बोल्सोनारुले सार्वजनिक गरेका चर्का वक्तव्यमा उनले "ईश्वरले मात्र" आफूलाई पदबाट हटाउन सक्ने जस्ता कुरा गरेका थिए।
जसले गर्दा उनको सार्वजनिक उपस्थितिलाई व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ।
ब्रजिलको सर्वोच्च निर्वाचन सम्बन्धी अदालतले स्थानीय समय अनुसार आइतवार साँझ ८ बजे लुलाले राष्ट्रपतीय निर्वाचन जितेको घोषणा गरेको थियो।
सबै मतगणना सकिँदा लुलाले ५०.९ प्रतिशत र बोल्सोनारुले ४९.१ प्रतिशत मत पाएका थिए।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
लुलालाई ब्रिटेन, चीन, फ्रान्स, भारत र रुससहित संसारभरबाट बधाई आउने क्रम सुरु भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उनको जित "स्वतन्त्र, निष्पक्ष र भरपर्दो चुनावपछि" आएको बताएका छन्।

तस्बिर स्रोत, Reuters
पराजित उम्मेदवारले हार स्विकारेको वक्तव्य दिने र विजेतालाई फोन गरेर बधाई दिने परम्परा रहे तापनि बोल्सोनारु अझै मौन छन्।
जितयता लुलाले आफ्ना पराजित प्रतिद्वन्द्वीबारे केही बोलेका छैनन्।
बरु उनले सोमवार ब्रजिल आएका अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डिजसँग भेटे।
बोल्सोनारु के गरिरहेका छन्?
सोमवार बिहान राष्ट्रपतिका सल्लाहकार र उनका उपराष्ट्रपतीय उम्मेदवार बोल्सोनारुको निवासमा पुगेको देखिएको थियो।
तर बोल्सोनारुसँग उनीहरूको भेट भए-नभएको र उनले के भने भन्ने स्पष्ट छैन।

तस्बिर स्रोत, Reuters
त्यसपछि बोल्सोनारु निवासबाट उनको सरकारी कार्यालय रहेको भवनमा गएको देखिएको थियो।
ब्रजिलका सञ्चारमाध्यमहरूले राष्ट्रपतिको पत्रकार सम्मेलनका लागि सबै तयारी भइसकेको जनाएका छन्।
तर त्यो आउँदो केही घण्टाभित्र हुने-नहुने कसैलाई थाहा छैन।
कठिन सङ्क्रमणकालको अनुमान
यसबीचमा बोल्सोनारुका निकट साझेदारहरूले लुलाको जित स्वीकार गरेका छन् जसमा तल्लो सदनका प्रभावशाली नेता र साओ पाउलो राज्यका नयाँ गभर्नर समेत छन्।
विश्लेषकहरूका अनुसार लुलाले छिट्टै पाएको देशभित्र र बाहिरको साथले गर्दा बोल्सोनारुलाई चुनावी नतिजाको प्रतिवाद गर्नु कठिन हुनेछ।
यद्यपि बाहिरिन लागेका राष्ट्रपतिको असहयोगी व्यवहारले लुलाले पद संहाल्नुअघिको दुई महिने सङ्क्रमणकाल निकै असहज बनाउन सक्छ।

तस्बिर स्रोत, Reuters
लुलाले १ ज्यानुअरी २०२३ मा शपथ लिनेछन्।
तर ब्रजिलका कम्तीमा १३ वटा राज्यमा बोल्सोनारुसमर्थक लरी ड्राइभरहरूले सडक अवरोध गरेका छन्।
भिडिओहरूमा देखिए अनुसार उनीहरूले ज्यानुअरीमा हुने लुलाको पदभार रोक्न सैन्य हस्तक्षेपको माग गरिरहेका छन्।








